banner
banner

मारियाले भनिन्— कसलाई खोजेको राम ? इशावेल आउँदिनन्

डा. रामभक्त ठाकुर |

माघ १७, २०७७ १४:५५ बजे

163Shares
sharethis sharing buttonराजदूत भएर मिश्र (इजिप्ट) आएको धेरै भएको थिएन । राजधानी कायरोमा नै पुरातात्विवक भग्‍नावशेष, नील नदीको सुन्दरता र आदिवासीका गाउँतिरका विशिष्ट जीवन अवलोकन गर्दागर्दै आनन्दित भइरहेको थिएँ । पुराना अरबका जनजीवन, गीत, संस्कृतिले मलाई धेरै नै प्रभावित गर्न सुरु गरिसकेका थिए । 

असीमित रेगिस्तान, ऊँटका काफिला र खजुरका वृक्षले मेरो हृदय आकर्षित गर्न सुरु गरेको चालै पाइनँ । अझ फाराहो (हजारौँ वर्षदेखि मिश्रका बादशाह)का सभ्यता, पिरामिड, कलाकृति, विकासमा योगदानबारे अलिअलि पढेर गएकै थिएँ, त्यहाँ साकार हेर्न पाउँदा हर्षविभोर हुँदै गइरहेको थिएँ । साथसाथै मैले आफ्नो धर्मग्रन्थमा रामका छोरा लव-कुश आर्यावर्तबाट पश्‍चिम गएका थिए, सो कडीको क्रम पश्‍चिममा खोज्दै थिएँ ।
 
एक दिन राजदूतावासमा काम गरिरहेका बेला मिश्री महिला सक्रेटरीले आएर एउटा पत्र देखाइन् र भनिन्, ‘महामहिम ! मिश्र सरकारले सिवाको चार दिनको भ्रमण कूटनीतिक नियोग प्रमुखहरूका लागि बनाएको छ । यसमा हाम्रो सहभागिताको अपेक्षा गरेको छ ।’ सिवा एउटा पुरानो ऐतिहासिक ठाउँ हो भन्‍ने कुरा मलाई थाहा थियो । अफिसमा साथीहरूसँग रायविचार गरेँ । सबैले जानुपर्छ र यहाँको संस्कृति बुझ्‍न यसले मद्दत गर्छ भन्‍ने सल्लाह भएपछि मैले त्यहाँ जान आफ्नो स्वीकृति दिएँ । 

 


ADVERTISEMENT


 

सेक्रेटरी आसिया प्रसन्‍न भई फर्केर खबर गर्न गइन् । सिवा पर्यटन स्थलबारे ज्यादा जानकारी थिएन । तैपनि कौतूहल बढेर गयो । आगामी हप्ता बिहीबारका दिन बिहान ८ बजे निर्धारित ठाउँमा पुगेँ । ठूलो वातानुकूलित बसमा यात्रा सुरु भयो ।
 
मिश्र गएको तीन/चार महिना मात्र भएको हुनाले मलाई भाषा आउँदैनथ्यो । इस्लामिक देश भएको हुनाले सबै थोक नयाँ । महिलासँग झन् भित्रभित्रै डर लाग्थ्यो । हाम्रो देशमा जस्तै खुला समाज, महिला पुरुषमा कुनै भेदभाव नभएको ठाउँबाट गएको मानिस तर त्यहाँ नारीहरू कतै एकदम खुला वातावरणमा देखिन्थे भने कतै पूरा हिजाब र नकाबमा बुर्का (कालो लुगा) लगाएको । व्यवहारमा अलि पनि अपमान भयो भने ठूलो दण्ड हुन्छ भनी सुनेको हुनाले मैले मुसलमान नारीबाट परै रहने मन बनाएको थिएँ ।
 
९ बजे यात्रा सुरु भयो । यात्राको गाइड एक महिला बसमा सामुन्‍ने आइन् र भनिन्, ‘गुडमर्निङ ! मेरो नाउँ फतिमा हो । म यस यात्रामा हजुरहरूको गाइड हुँ । यो यात्रा यहाँबाट सिवाका लागि सुरु भएको छ । चार घण्टामा हामी ‘मार्सा माथरु’ पुग्‍नेछौँ तर यो अलेक्जेन्ड्रियाको बाटोबाट नगई अर्को राजपथबाट जानेछ । त्यहाँ हाम्रो दिउँसोको खाना र रात्रि पनि त्यहीँ हुनेछ, त्यहीँ बस्‍नेछौं । भोलिपल्ट त्यहाँबाट हामी सिवाका लागि प्रस्थान गर्नेछौँ । केही जानकारी चाहेमा अथवा समस्या भएमा मलाई कृपया सम्पर्क गर्नुहोला ।’

सलक्क परेकी इटालिएन केटीजस्तो पातली, गोरी, अंग्रेजी भाषामा राम्रो दखल भएकी महिला कमिज र पाइन्ट लगाएकी थिइन् तर टाउकोमा कालो  स्कार्फ बाँधेकी थिइन् । एउटा आकर्षक व्यक्तित्वजस्तो । सायद राजदूतहरूसँग जाने राम्रो मान्छे खोजेर राखेको होला ।

 

सलक्क परेकी इटालियन केटीजस्ती पातली, गोरी, अंग्रेजी भाषामा राम्रो दखल भएकी महिला कमिज र पाइन्ट लगाएकी थिइन् तर टाउकोमा कालो  स्कार्फ बाँधेकी थिइन् । 

बसमा हलुका कर्णप्रिय स्वरमा कुनै अरबी गीत बजिरहेको थियो । सारा कूटनीतिक समूह महिला-पुरुष प्रसन्‍न मुद्रामा गफिँदै पनि थिए । बीच बाटोमा एउटा रमणीय स्थानमा ग्रिसको समुद्री तटमा पाइने रेस्टुराँ जस्तैमा बस रोकियो ।
 
थकाइ मार्न र चिया खान हामीलाई फतिमाले भनिन् । हामी तल औल्र्यौं । रेगिस्तान, अरबजस्तो त्यहाँ केही पनि लागेन । मेडिटेरियन सीको छेउमा लहरै थुप्रै रेस्टुराँ थिए । एक महिला आएर हामीलाई स्वागत गरी त्यहाँ सबैथोक खजुरबाट नै बनेको परिकार बताइन् । केक, जुस, मिठाई आदि । हामी धेरै आनन्दित भयौँ । उनले एलेक्जेन्डर त्यस ठाउँमा आएको कुरा बताइन् ।
 
एलेक्जेन्डर (सिकन्दर) र कैलोपेट्रा र दुई चरित्रले मलाई किन हो किन धेरै प्रभावित पारेको थियो । यिनबारे जहाँ जे पाए पनि हेरिहाल्ने र पढिहाल्ने मेरो बानी थियो । कफी खाँदाखाँदै एक दम्पती मेरो टेबुलमा बसे । महिलाले आफूलाई मोरोक्कोको राजदूत भनी चिनाइन् ।
 
मैले पनि आफ्नो परिचय दिएँ । उनका पति इतिहास र पुरातत्ववको राम्रो जानकारी राख्‍ने देखेर मैले सिकन्दर र कैलोपेट्राबारे सोधेँ । उनी धेरै भावुक भएर भने, ‘यी दुई व्यक्तित्वले सधैँ प्रेरणा दिन्छन्, म उनीहरूको ठूलो प्रशंसक हुँ ।’
 
महिला राजदूतले आफ्नो नाम मारिया बताएकी थिइन् । उनी पनि अत्यन्त युवावस्थामा चीनमा आफ्नो राजदूतावासमा काम गरेकी थिइन् र त्यहाँ एउटा नेपाली कूटनीतिज्ञ नवयुवकलाई चिनेकी थिइन् । 
‘के नाउँ थियो ?’ मैले सोधेँ ।
‘राम ।’
‘के ?’ 
‘राम ! पूरा नाउँ आउँदैन तर सबैले उनलाई रामको नाउँले नै बोलाउँथे ।’ मारिया कफी खाँदै मानौँ अतीतमा डुबिन् । म साह्रै अच्चभित भएँ । 
‘के गरी यसरी याद आयो रामको ?’ मैले हाँस्दै सोधेँ ।
 
अचम्मको थियो । एकचोटि राजा सिहानुक निर्वासित भई बसेका बेला आयोजना गरेको रात्रिभोजमा ऊ पनि थियो । धेरै कूटनीतिज्ञलाई आमन्त्रण थियो । म पनि थिएँ । पार्टीको आकर्षण नै राजा सिहानुक स्वयं गाना गाउने आर्केस्ट्रा सबै, साह्रै रोमाञ्‍चकारी हुन्थ्यो । 

त्यहाँ रामले एउटा फ्रेन्च गाना गाएको थियो । सिंहानुक धेरै प्रसन्‍न हुनुभएको थियो । धेरै रातिसम्म चलेको उक्त पार्टीमा खानापछि भएको नृत्यमा रामसँग राजकुमारी नाचेको याद भयो । सब अचम्मित थिए । मलाई पनि नाच्‍न मन लागेको थियो तर धेरै संकोच भयो, नाचिनँ ।’ मारियाले जसो इतिहासको सुखद पन्‍ना पल्टाएको मलाई अनुभव भयो । 

‘त्यो राम म नै हुँ ।’
मारिया धेरै खुसी भइन्, उनका पति पनि यी कुरा ध्यानपूर्वक सुनिरहेका थिए । खुब रमाइलो माने । 
‘तपाईंहरू पुरानो साथी हुनुहुँदो रहेछ । खुसी लाग्यो ।’
मारिया खुसीले कराइन्, ‘राम ! तिमी नै हो ?’
मेरो हात जोडले समातिन् र खुसी व्यक्त गरिन् । 
‘एक्लै आएको ? उषा मेडम खोइ ?’ 
‘सन्चो नभएर नआएको’ मैले बताएँ । 

हामी त्यहाँबाट चिया÷कफी खाएर फेरि बसमा चढी गन्तव्यतिर लाग्यौँ । करिब १ बजे ‘मार्सा माथ्रु’ भन्‍ने स्थानमा बसले पुर्‍यायो । सबै ओर्लेर होटलमा आफ्नो सामान राखी रेस्टुराँमा खाना खान पसे । खाना खाइसकेपछि सबैको घुम्‍ने कार्यक्रम थियो । फतिमा पुनः हामीसँग आएर घुम्‍न जान आग्रह गरिन् । 

ग्रुप-ग्रुपमा सबै बाहिर निस्के । बाहिर सुन्दर उपवनजस्तो सौन्दर्यले भरिएको दृश्य सडकका पेटीहरूमा फुलेका फूल र होटलको अर्कोपट्टि विशाल मेडिटेरियनको नीलो पानी र उठेका छालले मनलाई साह्रै आनन्दित तुल्यायो । तटकै छेउमा ठूलो भग्नावशेष थियो । फतिमाले बताइन्, त्यो कैलोपेट्रा महारानीको दरबार थियो । करिब २१ सय वर्षअघि र त्यसैको सामुन्‍ने ठूलो चट्टान थियो । 

बीचमा नहरजस्तै फुटेको सागरको पानी त्यहीँबाट अर्कोतिर बग्छ । त्यो ‘कैलोपेट्रा बाथ टब’ हो । रानी सहेलीसँग नेचुरल टबमा भित्र पसेर नुहाउने गर्थिन् । हामी पनि हेर्न गयौँ । त्यसबेला घुँडासम्म भित्र पानी थियो । यही स्थानमा जर्मनले दोस्रो विश्‍वयुद्धमा आक्रमण गरी अड्डा जमाएको थियो । जर्मनी मिलिटरी म्युजियम पनि अवलोकन गर्‍यौँ । फतिमाले धेरै आकर्षक तरिकाले कैलोपेट्रा, सिकन्दर र दोस्रो विश्‍वयुद्धको कथा सुनाउँदै साँझ हुनुअघि नै हामीलाई होटलमा पुर्‍याइन् । थाकेको हुनाले सबै फ्रेस हुन कोठामा गए । राति ८ बजे फेरि बैंक्वेट हलमा डिनरका लागि सूचना गर्दै फतिमा बिदा भइन् ।

 

मैले पनि त्यो क्षण बिर्सेको छैन, जब हाम्रो भाषा सिकाउने ‘काभिलाम’मा राति भोज र नाच्ने कार्यक्रम हुँदा मलाई नाच्न आउँदैनथ्यो र तपाईंले मेरो हात समाती सँगसँगै फ्लोरमा नाच्‍न सिकाउनुभयो ।’ म अतीतमा डुबेँ ।

रातिको खानामा सबै फेरि भेला भए । साह्रै रमाइलो वातावरणमा हाँस्दै, खाँदै, पिउँदै सब गफिँदै थिए । म पनि एउटा सिटमा आइबसेँ । संगीतको मधुर धुन बज्दै थियो । कति जोडी उठेर नाच्न पनि थाले । म एक्लै यसै बसी खाना खाएँ । मारिया र उनका पति अब्दुल्ला पनि सँगै टेबुलमा बसे । सिकन्दर, कैलोपेट्राकै कुरामा समय बित्यो । 
अब्दुल्ला पुरातत्ववसम्बन्धी जानकार व्यक्ति थिए । हिन्दु धर्ममा पनि रुचि राख्‍ने भएकाले मसँग धेरै घनिष्टता भयो । 

मारियाले भने पहिले चीनमै काम गरेको हुनाले सामीप्य देखाएकी थिइन् । खाना खाएर जाँदाजाँदै मारिया र अब्दुल्ला नृत्यमा सामेल भए । खुब रमाइलो लाग्यो । अब्दुल्ला थाकेपछि मारिया म नजिक आइन् र भनिन्, ‘राम ! आज त मसँग नाच । चीनमा त नाच्‍न पाएको थिइनँ ।’ मैले शिष्टतापूर्वक धन्यवाद भनेँ र फेरि कुनै बेला, अहिले थाकेको छु भनी आफ्नो असमर्थता जनाए । वास्तवमा म मनमनै डराएको थिएँ । ‘ल ! वाचा रह्यो । अर्को चोटि ।’ भनी मारिया आफ्ना पतिसाथ गइन् ।
 
भोलिपल्ट बिहान ८ बजे सिवाका लागि प्रस्थान भएको हुनाले सबै समयमै उठेर खाजा खाई आफ्ना-आफ्ना ब्यागसहित बसमा बसे । म पनि समयमा पुगेको थिएँ । जम्मा हामी ३४ जना थियौँ । ‘मार्सा माथ्रु’ सिवाबाट करिब तीन सय किलोमिटर पश्‍चिम लिबियाको बोर्डरनिर पर्थ्यो । सबै जना धेरै उत्साहित थिए । म भने औधि नै । किनभने यो मरुभूमि हो । यहाँ पिरामिडभन्दा अरू केही बढी छैन लाग्थ्यो । तैपनि मिश्रको सभ्यता पढेको थिएँ । 

संसारमै सबभन्दा पुरानो र वैभावशाली भएको कुरा हेर्न मन लागिरहेको थियो । प्राकृतिक सौन्दर्य हेर्दा युरोपका सुन्दर सहरजस्तै लाग्यो, ‘मार्सा माथ्रु’ । गुडबाई भन्दै हामीले आफ्नो यात्रा पुनः सुरु गर्‍यौँ । १० बजेको थियो ।
 
मारियाका पति अब्दुल्ला मज्जाको मानिस लाग्यो । मुसलमान भए पनि हिन्दू धर्मबारे उसको ज्ञान कुराकुरामै महसुस गरेको थिएँ । बसमा चढ्दा उनीहरू बसेकै सिटमा मलाई बस्‍न अनुरोध गर्‍यो । 
‘गफसफ गर्दै जाउँला, सजिलो हुन्छ ।’ मारियाले पनि हाँस्दै भनिन् । 

बसले रफ्तार लिइसकेको थियो । बाहिरको नजारा अति सुन्दर सहर छाड्दै खजुरको रुखका जंगल बीचबाट मरुभूमिको छेउछेउ हामी जाँदै थियौँ । ठाउँठाउँमा ऊँटको कारबा देखिन्थ्यो । क्याक्टसका फूलबारीमा काँडाको फूल यस्तो मनोहारी हुनसक्छ, मैले सोचेकै थिइनँ । जैतुनका रुखको जंगलले  मलाई अचम्भित पारेको थियो । 
‘कति टाढा छ ? मैले अब्दुल्लालाई सोधेँ । 
‘तीन–चार सय किमि होला । अपराह्‍न ४/५ बजेसम्म पुर्‍याउला ।’ मारियाले जवाफ फर्काइन् । 

‘राम ! तिम्रो नाउँ मलाई मनपर्‍यो । हिन्दुका पूर्वज नै अरबमा आई बसेका हुन् र यहाँको सभ्यता-वैभव बढाएका हुन् ।’ अब्दुल्लाले भने । 
‘हो ! लाहोरमा रामका छोरा लव आएर बसेको हुनाले त्यो लाहोर नाउँ पर्‍यो । त्यहाँको पुरातत्‍व विभागले नै यो कुरा लेखेको छ । फेरि महाभारतको युद्धमा, यमन, गान्धार (कन्धार)बाट राजाहरू आएर कौरवका पक्षमा लड्न आएको कुरा पढ्छु । यो कसरी भएको होला, मेरो मनमा ठूलो उत्सुकता रहेको छ ।’ मैले आफ्नो जिज्ञासा अब्दुल्लासामु राखेँ । अहिले अब्दुल्ला खुब जोडले हाँस्यो । 

 

इशावेल र मारियासँग पालैपालै नाचेँ । पछि एउटा फ्रेन्च गीत पनि गाएँ । उन्माद र आनन्दबीच फराहोको अकल्पनीय शान्तिले वातावरणलाई मादक बनाएको थियो । 

‘हा हा हा हा ! मेरो खोज र अध्ययन यसै विषयमा गरिरहेको छु । तपाईंलाई केही बताउँछु । सिवा नाउँ शिवको नाउँमा पनि परेको हुन सक्छ । पौराणिक ग्रन्थअनुसार इलावर्त पहाडतिर नराम्रा मानिस (राक्षस) र हिमालयतिर राम्रा (देवता)हरूको बास थियो । हिस्ट्री अफ एसिया विश्‍व प्रसिद्ध पुस्तकमा लेखक साइक्सले राक्षसका गुरु शुक्राचार्य राजा बलिसँग असन्तुष्ट भएर यही अरबमा आफ्ना छोरासाथ करिब १० वर्ष बसेका थिए । 

शुक्राचार्यको छोराको नाउँ ‘और्ब’ थियो । उनकै नाउँले यो स्थानको नाउँ अरब रह्यो । शुक्राचार्य धुरन्धर कवि र काव्य लेख्ने भएको हुनाले उनको ख्याति र आदर यहाँ धेरै थियो । उनी बसेको ठाउँलाई आजभोलि ‘काबा’ भनिन्छ । मुसलमानका लागि शुक्रबार पवित्र दिन शुक्राचार्यको कारणले नै भएको हो । काबामा शिवलिंग थियो । शुक्राचार्य शिवभक्त थिए । त्यही शिवलाई जल चढाउने र मन्दिरलाई सबैले ढोग्ने गर्थे । आज पनि मुसलमान त्यहाँ पवित्र जल चढाउने र पिउने गर्छन् । काबालाई ढोग्‍ने र चुम्‍ने गर्छन् ।’

म अब्दुल्लाको यस्तो ज्ञान देखेर छक्क र मुग्ध भएको थिएँ । मैले खोजेकै कुरा उनले छर्लंग गरी बताए । 
‘वाह ! वाह ! तपाईंको जानकारीले मलाई खुसी तुल्याएको छ ।’ मैले आभार व्यक्त गर्दै भनेँ । 
‘त्यति मात्र कहाँ हो र ! फराहो, मिश्रका शासक जसको सभ्यता, संस्कृति र वैभव तथा उनका कलाकृति पुरातात्विक वैभव आदि पनि हिन्दु संस्कारसँगै मिल्दोजुल्दो थियो । उनीहरू पनि लवका सन्तान नै थिए । सूर्यको उपासना, अग्‍नि पूजा, रीतितिथि सब सनातन धर्मसँगै मिल्दो रहेछ । त्यो मिश्रको फराहो सभ्यताका भग्नावशेष छ-सात हजार पुरानो पाइन्छ भने लवकुश पनि त्यस्तै समयमा पश्‍चिम दिशामा आएर राज्य गरेको भनिएको छ । 

नेपाल भारतमा प्रमाण पाइन्‍न तर साइक्सले सबै खोज गरी ‘हिस्ट्री अफ एसिया’ र ‘हिस्ट्री अफ पर्सिया’मा राम्ररी वर्णन गरेका छन् । ‘हिस्ट्री अफ पर्सिया’मा भने साइक्सले बेबिलोनको गुफामा चार-पाँच हजार वर्ष पुरानो भित्तामा चित्र कुँदिएको बताएका छन्, जसमा भगवान् विष्णुले हिरण्यकश्यपूका भाइ हिरण्याक्षसँग युद्ध गरेको सब वर्णन छ । 

यसले यो कुरामा बल मिल्छ कि लवकुश पश्चिम दिशामा आएर अरबमा राज्य साम्राज्य बढाए र सभ्यता र वैभवमा वृद्धि गरे । यसमा अझ धेरै खोजको आवश्यकता छ ।’ अब्दुल्लाले लामो सास लिए । साँचै भनूँ भने मलाई अब्दुला मुसलमान होइन, हिन्दु हुनुपर्ने मानिस लाग्यो । मेरो ज्ञानको सीमा त्यहाँ थाहा भयो । मनमनै म नतमस्तक भएँ । 
बस द्रुत गतिले मरुभूमिको छातीबाट अघि बढिरहेको थियो र बसभित्र मधुर संगीतको धुन बजिरहेको थियो । सारा यात्री प्रसन्‍न भएर दृश्य हेर्दै, गफिँदै रमाएका थिए । शायरा झ्यालतिर मजाले निदाइसकेकी थिइन् । हामी साढे चार बजे सिवामा प्रवेश गर्‍यौँ । 

वाह ! सिवा ! अजिबको ठाउँ । खजुर, जैतुन, फूलबारी, ऊँटका काफिला । लोग्ने मानिस टाउकोमा सेतो पगडी र पूरा जिउमा ‘गलवैया’ (खुट्टासम्म छोप्ने एउटै कुर्ता) लगाएर खेतबारी, घरमा काम गरिरहेको सानो बजार । महिलाहरू मुखमा नकाब, शिर कालो कपडाले छोपेको र बुर्का (कालै कुर्ता) पाउसम्म लगाएका । 

माटाका घर, मानौँ १० हजार वर्ष पुरानो युगमा प्रवेश हामीले गरेका थियौँ । घरका भित्ताहरूमा फराहोका विभिन्‍न प्रकारका समयका स्थिति दर्शाउने फोटो बनाइएको थियो । बसबाट नै यस्तो दृश्य देखेर म निक्कै अचम्भित भएको थिएँ ।

बस बिस्तारै रिसोर्ट एरियामा प्रवेश गर्दै थियो । धेरै रिसोर्ट किलोमिटरसम्म बनेका थिए । त्यहाँ विदेशी पर्यटकको चहलपहल देखियो । हाम्रो बस ‘इको रिसोर्ट’ साल्ट रौकमा रोकियो । सारा मानिस ओर्लेर रिसेप्सनमा बसे । फतिमा अब धेरै सक्रिय भएकी थिइन् । सबैलाई क्याक्टसको फूल हातमा दिइन् र ‘कहवा स्पेसल’ खजुर हालेर बनाएको पिउन आग्रह गरिन् । हामी सबै थाकेका थियौँ । कहवा (कफी)ले एकदम आनन्द दियो र ताजगी पनि । 

फतिमाले हामी सबैलाई ‘मड साल्ट राक’ले बनेको पारम्पारिक एकतले स–सानो घरको नम्बर दिइन् । साँचो कतै पनि छैन । सब खुला । पूरा आजादी जस्तो कि फराहोको जमानामा थियो । घरभित्र पनि माटाका भाँडा तर राम्रो । बिजुलीबत्ती नभएको । रिसोर्टको चोकचोकमा मसाल बालेको । मेरो मन अत्यन्त खुसी भइरहेको थियो । छेउमा ‘वोसिस’ ठूलो पोखरी, त्यहाँ परम्परागत तरिका फराहो जमानाका मानिसले लुगा बनाउने, बाँसका सामान बनाउने, पानीमा माछा समाउन जाल हाल्दै थिए । 

 

राति १० बजेतिर कार्यक्रम सकेर सबै आफ्ना स्थानमा सुत्न गए । जाँदाजाँदै उदास देखिएकी मारिया ‘गुडनाइट’ भन्दै अब्दुल्लासँग हात समातेर आफ्ना कोठातिर लागिन् । 

पर खजुरको बोटमुनि एक नवयुवती पुरानो कनुन (हार्प) वाद्ययन्त्र बजाउँदै थिइन् । यो रिसोर्ट पूर्व र पश्‍चिम दुई भागमा थियो । हामी सबै पश्चिम रिसोर्टमा थियौँ । फतिमाले हाम्रो मोबाइल त्यही रिसेप्सनमा राख्न लगाइन् । केही परे कागजमा लेखेर मेसेज सेविकाहरूबाट कोठाकोठामा पठाउने । अचम्मको प्रकृतिवास थियो ।
 
फतिमाले सबैलाई लामो सफरका लागि धन्यवाद दिइन् र म नजिक आएर केही चाहिएमा भन्‍नु भन्दै हाँसिन् । अनि फेरि साँझ ७ बजे नेफरतिती हलमा खानलाई जम्मा हुने । नाचगान मधुरो तरिकाले गर्न सकिन्छ भनेर बताइन् । मैले देखेँ, सबै राजदूत र महिला धेरै उत्साहित थिए । साँझ ७ बजे भेट्ने भनेर आ-आफ्ना स-साना माटाका साल्टरक घरमा पसे । 

साँझ ७ बजे बिस्तारै बिस्तारै सबै कूटनीतिक जोडी राम्राराम्रा नाच्ने लुगामा जमेर नेफरतिती हलमा जम्मा हुन थाले । म पुग्दा धेरै आइसकेका थिए । मारिया पनि मोरोक्कन नाच्ने लुगामा एक्लै बसेकी थिइन् । मलाई देखेपछि आफ्नो टेबुलमा मलाई आउने इसारा गरिन् । त्यस टेबुलमा एउटा महिला पनि थिइन् । म गएर बसेँ । 

‘राम ! यी इसावेल हुन् । तिमीलाई खोज्दै थिइन् ।’ मारियाले मलाई त्यो महिलासँग परिचय गराइन् । मैले त्यो सुन्दरी महिलासँग हात मिलाएँ र भनेँ 
‘मेरो नाउँ राम हो । म नेपालबाट आएको हुँ ।’
‘तपाईं फ्रान्समा भीसीमा पढेको हो ?’ इशावेलले सोधिन् । 
‘अँ ! त्यहाँ भाषा पढेको हुँ । किन ?’

नेपालबाट राजदूत आएको लिस्टमा हेरेँ र राम नाम देखेपछि तपाईं नै हो कि भनेर भेट्न आएकी । म यस रिसोर्टको व्यवस्थापक हुँ । स्पेनिस कम्पनीले चलाएको यो सानो रिसोर्ट हो । तपाईंले मलाई बिर्सनुभयो । तर, म तपाईंलाई बिर्सन सकेको छैन । म पनि त्यहीँ पढेको हुँ । तपाईंले मलाई गरेको मद्दत बिर्सेको छैन । तपाईं अहिले पनि उस्तै हँसिलो र मित्रवत्  हुनुहुन्छ ।
 
त्यति सुनपछि मलाई पनि करिब २० वर्ष पुरानो याद आयो । हो भन्दै हाँसेर हात जोडले मिलाएँ । ‘खुसी लाग्यो । धेरै खुसी लाग्यो, यसरी यो वियावान रेगिस्तानमा पुरानो सहपाठी भेट्नु । अब हामी पत्र व्यवहार गरौँला । मैले पनि त्यो क्षण बिर्सेको छैन, जब हाम्रो भाषा सिकाउने ‘काभिलाम’मा राति भोज र नाच्‍ने कार्यक्रम हुँदा मलाई नाच्‍न आउँदैनथ्यो र तपाईंले मेरो हात समाती सँगसँगै फ्लोरमा नाच्न सिकाउनुभयो ।’ म अतीतमा डुबेँ । 

‘अनि याद छ ? तपाईं नाच्‍न नजानेर मेरो खुट्टा कुल्चेर लड्नुभएको ? सारा साथी कति मजाक गरेर हाँसेका थिए ।’ इशावेल भावुक भइन् । 
‘लौ, आज खानापछि तपाईंसँग म एकछिन नाच्‍न आउँछु ।’ इशावेल त्यति भनेर अर्को ग्रुपमा केही कुरा गर्न गइन् । 
 म मारियातिर हेरेँ । यतिबेरसम्म म इशावेलकै कुरामा हराएको थिएँ । मारिया शान्त र उदासजस्तो लागिन् । 
‘के भयो मारिया ?’ मैले उसको हात समातेर हल्लाएँ । 
‘केही होइन । म धेरै सपना देख्ने मानिस हुँ । सपना सपना नै हुन्छ ।’ लामो सास लिएर मारियाले भनिन् । 
अब्दुल्ला यहीबीच टुपलुक्क आइपुगे । 
‘के गफ भइरहेछ ? नाच्ने प्रोग्राम मिलाएको हो ? 

मारिया तिमी चीनमा नाच्ने इच्छा रामसँगै आज यहीँ पूरा गरिहाल्नू । हा हा हा हा । क्या रमाइलो ठाउँ यो । धेरै महँगो छ नत्र म धेरै समय यहीँ ठाउँमा बस्थेँ । मलाई साह्रै मनपर्‍यो ।’
‘मलाई पनि ।’ मलाई सिवासँग मानौँ प्रेम बढ्दै गइरहेको थियो । के थियो सिवामा ? मलाई तानेको तान्यै । 

 

मेरो मन मस्तिष्कमा फेरि फराहो र सनातन धर्म घुम्‍न थाल्यो । सूर्यको उपासना गर्ने, सूर्य मन्दिर, एक बिहान आएर पूजा गर्ने र राजा भएको घोषणा गर्ने सबै हाम्रो विधिजस्तो लाग्न थाल्यो । बिहानीको सूर्य अर्थात् अरुण । हुनसक्छ, यो अरुण टेम्पल हो, पछि अपभ्रंस भएर अमुन टेम्पल भएको होला

नेफरतिती हलमा संगीतको धुन बिस्तारै बज्दै थियो । खाना खाएपछि सबै नाच्न लागे । इशावेल र मारियासँग पालैपालै म केहीबेर नाचेँ । पछि एउटा फ्रेन्च गीत पनि गाएँ । उन्माद र आनन्दबीच फराहोको अकल्पनीय शान्तिले वातावरणलाई मादक बनाएको थियो । राति १० बजेतिर कार्यक्रम सकेर सबै आफ्ना स्थानमा सुत्‍न गए । जाँदाजाँदै उदास देखिएकी मारिया गुडनाइट भन्दै अब्दुल्लासँग हात समातेर आफ्ना कोठातिर लागिन् । 

भोलिपल्ट बिहान ८ बजे सबै जना टुट खामुन रेस्टुराँमा खाजा खान पुगे । म पुग्दा त्यहाँ केही अफ्रिकन, युरोपियन, दक्षिण अमेरिकन राजदूतहरू र उनीहरूका मेडमहरूलाई देखेँ । 
‘सलाम वालेकुम, सबाह खैर ?’ अब्दुल्लालाई बिहानको अभिवादन गरेँ । 
‘सफिर ! वालेकुम सलाम’, अब्दुल्लाले प्रफुल्ल मुद्रामा हात मिलायो । 
मारियालाई त्यहाँ नदेखेपछि मैले सोधेँ । 

‘अलि कपाल दुखेकाले ढिलो आउँछिन् । हामी नास्ता गरौँ ।’ अब्दुला र म सर्विग टेबुलतिर गयौँ । त्यहाँ विभिन्‍न किसिमका स्थानीय खानेकुरा प्रायः सबै गहुँको पिठो, फलफूल, ओलिभ र खजुरबाट निर्मित थिए । तबसम्म मारिया पनि आइन् र हामीसँग खाना लिन थालिन् । उनलाई स्थानीय खानाको ज्ञान थियो । मलाई सबै बताउन थालिन् । 
‘गुड मर्निङ मारिया, अहिले कस्तो छ ?’

‘ठीकै छु । तर, तिमी हिजो इशावेलसँग राम्ररी नाचेका थियौ ।’
‘तिमीसँग पनि त नाचेको थिएँ ।’ मैले अचम्भित हुँदै भनेँ । 
खाना लिएर हामी टेबुलमा बस्यौँ । 

‘राम ! हेर कचौरामा । यसको नाउँ ओम अली हो । चाख त ।’ अब्दुल्लाले एउटा कचौरा मेरो अगाडि राख्यो । मैले चाखेँ । हाम्रो खीरजस्तै दूधमा पकाएको परिकार थियो । ‘यो फराहोको स्विट डिस हो । यहाँ चामल पहिले नभएको हुनाले पिठोको चामलजस्तो बनाएर दूधमा पकाएको । यो हिन्दु खानाजस्तै छ । अनि उता हेर, ठूलो मूर्ति ! त्यो यहाँको तीन/चार हजार वर्ष पहिले राज्य गरेको राजा रामासिस । 
‘के ?’ म अचम्भित भएँ । 

‘हो । यहाँ धेरै कुरा हिन्दु नाउँसँग मिल्छ । उनी सूर्यका उपासक, जल, थल, वायु सबैलाई देउता मान्‍ने फराहो राजा थिए । हुनसक्छ फराहो लवकुश अरबमा आएर राज्य गरे र पछि उनका सन्तान बिस्तारै बिस्तारै यतैका भए आफ्ना पुराना मूल्य मान्यतालाई अलिअलि भए पनि बचाइराखेको हुन सक्छ ।’

यसै बीच फतिमा, हाम्रो गाइड, आइपुगिन् र सबैलाई अमुन टेम्पल र शाली महल सभ्यताको खण्डहर हेर्न जाने कार्यक्रम बताइन् । साढे नौ बजे सबै जना बसमा चढेर सिवा बस्ती हुँदै अमुन टेम्पलतिर लाग्यौँ । 

फतिमाले बताइन्, सिवामा अमुन टेम्पलबारे । करिब पाँच हजार वर्ष पहिले मिश्रको फराहोबाट निर्माण गरिएको हो । सिवाको ससाना पहाडमाथि बनाएको यो विख्यात सूर्य मन्दिर हो जहाँ मिश्रको नयाँ सम्राट् (फराहो) हुनुअघि यहाँ राजाबाट सूर्यलाई पूजा अर्चना गरी र विशेष वस्त्र धारण गरी मन्दिरको प्रांगणबारे तल उभिरहेका जनतालाई आजदेखि म मिश्रको नयाँ फराहो हुँ भनी घोषणा गर्ने अत्यन्त महत्वपूर्ण स्थान हो । 

मेरो मन मस्तिष्कमा फेरि फराहो र सनातन धर्म घुम्‍न थाल्यो । सूर्यको उपासना गर्ने, सूर्य मन्दिर, एक बिहान आएर पूजा गर्ने र राजा भएको घोषणा गर्ने सबै हाम्रो विधिजस्तो लाग्न थाल्यो । बिहानीको सूर्य अर्थात् अरुण । हुनसक्छ, यो अरुण टेम्पल हो, पछि अपभ्रंस भएर अमुन टेम्पल भएको होला । मलाई बिस्तारै बिस्तारै सनातन र फराहो सभ्यताको जरा हाम्रै धर्म, संस्कृति र त्रेता युगपछिको सम्बन्ध हुनेमा धेरै नै विश्वास बढ्दै गयो । म त्यो मन्दिर हेर्न धेरै आतुर भएँ । 

बस बिस्तारै अमुन टेम्पलको क्षेत्रमा रोकियो । हामी सबै ओर्लियौँ । फ्रेन्च एम्बेसडर पनि पहिलोचोटि आएको हुनाले मजस्तै अचम्भित थिए । उनी म नजिक आए र भने, ‘एम्बेसडर ! तपाईंले हिजो गाएको फ्रेन्च गीत मलाई धेरै मनपर्‍यो । मेरो धेरै मन पर्ने गीत हो त्यो । कहाँबाट यस्तो राम्रो सिक्नुभयो ?’

‘म तपाईंकै देशमा पढेको र पछि आफ्नु राजदूतावासमा काम पनि गरेको । मेरो कुरा सुनेर फ्रेन्च राजदूत एकदम खुसी भयो र म सँगै फ्रेन्चमै कुरा गर्दै बिस्तारै पहाडमाथि चढ्न थाल्यो । म यताउता जिज्ञासाले हेर्दै थिएँ । पछिबाट अब्दुल्ला र मारिया पनि आउँदै थिए । 

‘कसलाई खोजेको राम ? इशावेल यो कार्यक्रममा आउँदिनन् ।’ मारियाले मलाई लक्षित गरेर भनिन् । ‘होइन, म त यहाँ फराहोको इतिहास, ढुंगा, पर्खाल सबैमा हेर्दै छु ।’ म अमुन टेम्पलमा वशीभूत भएर माथि उक्लिदै थिएँ । करिब आधा घण्टामा माथि पुगेँ । मन्दिर भग्नावशेष देखेर अचम्भित भएँ । भित्तामा धेरै तस्बिर बनाएका र अरबी भाषामा यस मन्दिर र फराहोको वर्णन गरेको छ भनी फतिमा बताउँदै थिइन् । म पनि उभिएर सबै सुन्‍न थालेँ । 

फतिमाले एकदम चाखलाग्दो कुरा बताइन् कि ईस्वीभन्दा साढे तीन सय वर्ष पहिले सिकन्दर महान्ले मिश्र जिते तर पछि धेरै सशंकित थिए । यहाँका जनताले उनलाई स्वीकार गर्छन् या गर्दैनन् तैपनि हिम्मत गरेर परम्पराअनुसार अमुन टेम्पलमा आई सूर्यको पूजाअर्चना गरी आफूलाई ‘आजदेखि म मिश्रको फराहो हुँ’ भनी घोषणा गरेँ । जनताले करतल ध्वनिले स्वीकारे । वास्तवमा सिकन्दरलाई धेरै नै मन पर्ने मिश्र देश र यसको सभ्यता थियो । एलेक्जेन्ड्रिया भूमध्यसागर तटमा बसेको सहर सिकन्दरकै नाउँमा छ । 

उनको मृत्युपरान्त उनको चिहान कहाँ छ अझै यकिनसाथ कसैले भन्‍न सकेको छैन । कोही एलेक्जेन्ड्रियामा भन्छन् भने कोही यहीँ तल सिवामा छ भन्छन् । 
मैले इतिहासमा डुबेकोजस्तो अनुभव गरेँ र फतिमाको पछिपछि लागेँ । फ्रेन्च एम्बेसडर पनि मसँग पछिपछि आए । पहाड तल गएपछि बसबाट १५-२० मिनेटपछि सिकन्दरलाई गाडेको ठाउँमा पुगेँ । 

फतिमाले त्यो सुन्दर चिहानमा रोकिन् । यही सिकन्दरको मकबरा हो । उत्खननको कार्य भइरहेको थियो । अझ प्रमाणित गर्न नयाँनयाँ प्रमाण खोजी भइरहेको थियो । फतिमाले यसको महत्व बताउँदै भनिन्, ‘सन् १९९१ मा सिकन्दरको यो चिहान ग्रीसकी पुरातत्‍व विशेषज्ञ मैडम लिउना साउलात्चीले पत्ता लगाएपछि सारा संसारको ध्यान सिवातिर आकर्षित भयो र पर्यटक धेरै आउन थाले ।
 
भीडभाडमा हामी पनि भित्र पस्यौँ । सयौँ पर्यटक अचम्भित भई दृश्यावलोकन गर्दै थिए । अब्दुल्ला र मारियाले मसँग पनि त्यहाँ फोटो खिचाए । भ्रमणका क्रममा फतिमाले मिश्रको अन्तिम फराहो एक जना महिला भएको बताइन् । कैलोपेट्रा जसको दरबारको भग्‍नावशेष हामी मार्सामा थ्रुमा हेरेका थियौँ र जो समुद्रमा चट्टानभित्र पसेर स्‍नान गर्थिन् । 

कैलोपेट्रा विस्मयकारी सुन्दरताकी महारानी थिइन् । ग्रीस र इटालीका शासकहरू पनि कैलोपेट्राका दिवाना थिए भनेर फतिमाले बताइन् । कैलोपेट्राले पनि मिश्रको रानी फराहो बन्दा आमुन टेम्पलमा गएर आफूलाई घोषणा गरेकी थिइन् । तर, आश्चर्य छ किलोपेट्राको चिहान पनि आजसम्म फेला परेको छैन । 

फतिमा र फ्रेन्च एम्बेसडर कुरा गर्दै थिए । फतिमाले एउटा रेस्टुराँमा बस रोकिन् र त्यही लन्च खाने व्यवस्था गरिन् । लन्च खाएर सब थाकेकाजस्तै देखिन्थ्यौँ । मलाई अझ हेर्ने उत्साह थियो । त्यहाँबाट हामी ‘गार्वेल अल मौत’ अर्थात् मृत्युको पहाडमा गयौँ, त्यहाँ सिवामा मरेका सबै राजा र ठूला भारदारका चिहान थियो । 

 

‘म मुग्ध भएको छु । इतिहाससँग मिलाएर यो ठाउँ हेर्दा यसको भव्यता, वैभव र पराक्रमको कल्पना गर्न सक्छु । अब मलाई कैलोपेट्राबारे जान्‍न धेरै मन लागेको छ ।’ मैले आफ्नो मनको कुरा बताएँ । 

त्यहाँको पाँच हजार वर्षको इतिहास फतिमाले बताइन् । त्यही पहाडबाट पर शाली पुराना सहरको भग्‍नावशेष प्रस्ट देखिन्थ्यो । सबै साल्टरक माटाबाट बनेका पहाडस्थित अनगन्ती भग्‍नावशेष हेरेर राजदूतहरू दंग परिरहेका थिए । यी पुरातात्ववक सम्पदा अटोमन र जर्मन आक्रमणबाट ध्वस्त भएका थिए । यी सबै ठाउँको भ्रमण गर्दागर्दै ५ बजेको थियो । फतिमाले आजको टुर शाली सहरको भग्नावशेष भ्रमणपछि समाप्त गरिन् र आफ्नो होटलमा फर्किन् । 

‘कस्तो लाग्यो राम ?’ मारियाले मलाई सोधिन् । 
‘म मुग्ध भएको छु । इतिहाससँग मिलाएर यो ठाउँ हेर्दा यसको भव्यता, वैभव र पराक्रमको कल्पना गर्न सक्छु । अब मलाई कैलोपेट्राबारे जान्‍न धेरै मन लागेको छ ।’ मैले आफ्नो मनको कुरा बताएँ । 

‘हो ! अचम्मकी साम्राज्ञी, कूटनीतिज्ञ, राजनीतिज्ञ र सुन्दरताकी धनी थिइन् कैलोपेट्रा । अन्त्यमा आफ्नो मृत्यु सर्पले टोकाएर गरिन् भन्‍ने कुरामा मलाई अझै पत्यार लाग्दैन । मिश्रको सुन्दरताकी महारानीले यस्तो गरेकाले मनमा नराम्रो लाग्छ ।’ मारिया उदास भइन् । रोमनले मिश्रमा हमला गरेर हराएको थाहा पाएर कैलोपेट्राले आफ्नो अन्त्य गर्नुपर्‍यो । 

बस हाम्रो रिसोर्टमा आइपुगेको थियो । फतिमा फेरि उभिइन् र भनिन्, ‘भोलि हामी सधैँजस्तो ८ बजे नास्ता गरेर बाटोमा पर्ने बाँकी ठाउँमा दृश्यावलोकन गर्न जाने र उतैबाट कायरो प्रस्थान गर्ने ।’ सबै जना स्कुलका विद्यार्थीजस्तै कुरा मानेर आ-आफ्ना स्थानतिर लाग्यौँ । 

भोलिपल्ट बिहान ६ बजेतिर मेरो कोठाबाहिर इशावेल आएर मलाई बोलाइन् । म बाहिर आएँ । ‘म भित्र आउन सक्छु ।’ इशावेलले हाँस्दै सोधिन् । उनको हातमा कुनै उपहारका प्याकेटजस्तै थियो । मैले उनलाई भित्र बोलाएँ । उनले मलाई त्यो उपहार दिइन् र अभिनन्दन गरिन् ।
 
‘तिमी एकदम बदलेको छैनौ राम । उस्तै छौ । तिमी किन यस्तो ?’ इशावेल भावुक भएकी थिइन् । म विचलित भएँ । 
‘जीवन हो । यस्तै हो । तिमी कायरो आउँदा हाम्रो राजदूतावासमा अवश्य आउनू । तिमीलाई भेटेपछि मलाई धेरै राम्रो लाग्‍नेछ ।’ 
इशावेल केही नबोलिकन आँखा पुछ्दै बाहिरिइन् र भनिन्, ‘फेरि भेटौँला राम ! ईश्‍वरले तिम्रो रक्षा गरुन् ।’ मेरो मनमा पनि किन हो किन इशावेलप्रति दया उत्पन्‍न भयो ।

 सम्झेँ, २५ वर्ष पहिले यिनी फ्रान्सको गाउँमा पढ्न आउँदा कति भयभित थिइन् र मैले कसरी यिनलाई रक्सी खाएको मानिसबाट बचाएको थिएँ । 
नुहाइधुवाइकन म बाहिर ८ बजे रेस्टुराँमा पसेँ । सारा मानिस खुसीसाथ खाना सुरु गरेका थिए । म पनि साबिकजस्तै अब्दुल्ला र मारिया बसेको टेबुलमा गएँ । 
‘गुड मर्निङ ! कस्तो बित्यो रात ?’ मैले अब्दुल्ला र मारियालाई अभिवादन गरेँ । 

 

धेरै जना त बसमा सुतिसकेका थिए । म पनि सुतेको थिएँ । ‘उठ राम ! उठ !’ भनी अब्दुल्लाले उठाएपछि थाहा पाएँ, कायरो आइसकेको थियो । सबले फतिमालाई धन्यवाद र उपहार पनि दिए । फेरि फेरि भेट होला भनी सबै बिदावारी हुँदै थिए ।

‘म त कैलोपेट्राबारे नै सोचिरहेँ ।’ मारियाले भनिन् । फतिमा आएर आज एक घन्टा सिवा नजिक समुद्रभन्दा करिब ६० फिट तल भएको रेगिस्तान, वोसिस, खजुर, ओलिभ भएको फूलबारीमा लानेछिन् । यो संसारकै अद्भूत स्थान हो । समुद्रभन्दा तल, फलफूल फल्ने ठाउँ । त्यहाँको खजुर र ओलिभ संसारप्रसिद्ध छ र धेरै महँगो छ ।’ अब्दुल्लाले सबै सूचना दिए ।
 
हामी चाँडै नास्ता गरीकन तयार भयौँ । त्यसैबेला फतिमा आइपुगिन् र सबैलाई लिएर प्रस्थान गरिन् । आधा घन्टामा हामी समुद्र सतहभन्दा तलको रेगिस्तानमा पुग्यौँ । नाम मात्रको मरुभूमि । चारैतिर हरियाली, पोखरी, फूल, बिरुवा, चराचुरुंगी र खजुर एवं ओलिभका हजारौँ रुख । त्यहाँ चिया पनि फेरि खायौँ, केही खजुर र ओलिभ पनि चाख्यौँ । अन्य राजदूतले दर्जन पाकेट खरिद गरेका होलान् । मैले दुई-तीन पाकेट खरिद गरे । मूल्य साह्रै चर्को थियो । तर, खजुर भने संसारमै नपाउने राजसी स्वादको थियो । 

मारियाले खुब खरिदारी गरिन् । अब्दुल्ला एकदम रमाएका थिए । बताए त्यहाँबाट पश्चिमको भाग लिबिया हो र त्यहाँबाट अलि उता उसको देश मोरोक्को पर्छ । मोरोक्कोका मानिस एकदम राम्रा र दिलदार हुन्छन् भन्‍ने कुरा मैले फ्रान्समा पढ्दा थाहा पाएको थिएँ । 

बस यात्रा फेरि सुरु भयो । फतिमा आइन् र अब बस कायरोतर्फ रवाना हुन्छ । राति ९ बजेतिर पुगिन्छ होला । बाटोमा खाना खाने र समयको पावन्दी राख्ने भनी सल्लाह दिइन् । हाम्रो यात्रा यसै प्रकार द्रुत गतिले सुरु भई द्रुत गतिमा नै अन्त्य भयो । बाटोमा २ बजे खाना खायौँ र यात्रा फेरि सुरु भयो ।

धेरै जना त बसमा सुतिसकेका थिए । म पनि सुतेको थिएँ । ‘उठ राम ! उठ !’ भनी अब्दुल्लाले उठाएपछि थाहा पाएँ, कायरो आइसकेको थियो । सबले फतिमालाई धन्यवाद र उपहार पनि दिए । फेरि फेरि भेट होला भनी सबै बिदावारी हुँदै थिए । मैले पनि फतिमालाई अद्भुत स्थान देखाएको र कुशल गाइड भएकाले बधाई दिएँ । तल हेरेँ मेरो ड्राइभर आइसकेको थियो र ऊ मेरो सुटकेस निकालेर कारमा राख्दै थियो । 

‘खुदा हाफिज राम !’ अब्दुल्लाले हात मिलाउँदै भन्यो । शायरा चुपचाप हेर्दै थिइन् । गम्भीर थिइन् । उनीहरू जाँदाजाँदै अभिवादन गरे । 
‘राम ! तिमी अहिले पनि उस्तै लाग्छौ । तिमी किन यस्तो ? यहाँ तिमीलाई डिनरमा निम्त्याउँछु । परिवारसहित आउनू है !’ 
‘हाम्रो भेट भइरहन्छ चिन्ता नगर ।’ मैले हात मिलाउँदै भनेँ । 

अदुल्ला र मारिया आफ्ना कारमा बसी आफ्ना निवासतर्फ लागे । म पनि आफ्नो निवासतिर लागेँ । तर, सिवाको मनोरम दृश्य, पुरातात्विक सम्पदा, सनातन र अमुन टेम्पलको सामीप्य, निर्दोष जनजीवन, सिकन्दर र कैलोपेट्राका वर्णन, खजुरका जंगल र ऊँटका काफिलाले त्यहीँ नै मेरो मन बसिराख्यो । सिवामा पुराना मित्रहरूसँगको भेटघाटले जीवनमा फेरि नयाँ उमंग थपेको थियो । आजसम्म पनि मेरा कानमा सिवाको सुनसान रेगस्तानको हावामा फराहो र सनातन सभ्यताका गीत संगीतले आफूतिर आकर्षित गरिरहेको हुन्छ । सिवासँग यो कस्तो रोमान्स हो मैले आजसम्म बुझ्‍न सकिनँ !

(लेखक पूर्वराजदूत हुन् ।)

@ekgaj

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper