banner
banner

संघीयता र धर्मनिरपेक्षता किन चाहियो ?

रोशन कार्की–
कुरो उठ्यो, सत्ताधारी एमालेबाटै उठ्यो । ढिलो भयो तर कुरो उठ्यो । यो बहसलाई देशैभरि चलाउनु पर्छ । किनकि संघीयता र धर्मनिरपेक्षताले देशलाई ठूलो हानी नोक्सानी भइसकेको छ । त्यो पूर्ति गर्न नसकिए पनि आगामी दिनमा थप नोक्सानी हुनबाट समाज र देशलाई बचाउन सकिन्छ । यसकारण बहस गरौं । जति धेरै बहस भयो, उति छिटो निकासका लागि मार्ग प्रशस्त हुनेछ ।
एमालेका सदस्य महेश बस्नेतले पार्टी बैठकमा यस्तो प्रस्ताव अघि सारेका हुन् । प्रधानमन्त्रीका विश्वासपात्र भएकाले पनि यो प्रस्ताव त्यसै आएको होइन भन्ने सहज रूपमा बुझ्न सकिन्छ । मुख कसले फोर्ने भन्ने भइरहेको बेलामा महेश बस्नेतले मुख फोरेका छन्, प्रस्ताव अघि सारेका छन् । अब सबैले यो प्रस्तावलाई पार्टी पार्टीमा, नागरिक समाज र गाउँतहसम्म पु¥याउन जरूरी छ ।
किन पनि यसो गर्न जरूरी छ भने १५ वर्ष भयो, परिवर्तनको खुशी जनताले उपभोग गर्न पाएनन् । संविधानसभाको आठ वर्ष र ०७२ सालमा संविधान जारी भएर भएको आवधिक चुनावले ७ सय ६१ सरकार त बन्यो तर ती सरकारले उचित प्रतिफल दिन सकेनन् । संघीयता भनेको पार्टी कार्यकर्ता, नेता पाल्ने सेतो हात्ती अर्थात हात्तीसार हो भन्ने आमजनमानसमा छाप परिसकेको छ ।
जब संघीयता र धर्मनिरपेक्षताले समाजलाई विथोल्छ, राष्ट्रको ढुकुटी रित्याउँछ र प्रतिफल दिंदैन भने त्यस्तो ऐंजेरू पालिराख्नु मुर्खता हुनेछ । अब पञ्चायत आउने होइन, अब निरंकूशता पनि आउन सक्दैन । यसो भन्दैमा लोकतन्त्रको नाममा गाली बनिसकेको व्यवस्थालाई काखी च्यापिरहनु पनि मुर्खता नै हुनेछ । यसकारण बहस गर्नुपर्छ, राम्रा नराम्रा पक्षमा छलफल गर्नुपर्छ । नकारात्मकता बढी हुन्छ र राष्ट्रलाई बोझ हो भने सुधार गर्नु जरूरी छ ।
सुधार गर्नु भनेको प्रतिगामी हुनु होइन । कुनै पनि व्यवस्था आफैमा सर्वसम्पन्न हुँदैन । न त संविधान नै गीता हो । संविधानमा जनताले अपनत्व ग्रहण गर्न सक्दैन र व्यवस्थाहरूमा जनताको समर्थन रहेन भने त्यसमा सुधार गर्नेपर्छ । कलमी गर्नु भनेको बढी उत्पादकत्व बढाउनु पनि हो । जसरी फलफूलका विरूवामा कलमी गरेर बढी फसलदार बनाइन्छ, त्यो सिद्धान्त संविधानमा पनि लागूहुनुपर्छ । पुँजीवादीलाई मात्र होइन, वामपन्थीलाई समेत यसरी ३० लाखदेखि ३ करोडसम्मको गाडी चढ्नसक्ने बनाउने लोकतन्त्रले जनतालई न समृद्धि दियो, न समानता, न शान्ति र समतामूलक समाज । यो त हदैसम्मको विकृति फैलाउने व्यवस्था बन्यो । अग्रगमन भनेर नथाक्नेहरूको गाडी पार्क हो यो । यही एउटा दृश्यले पनि लोकतन्त्र जगहँसाइ गरिरहेको छ । अब पनि नचेते कहिले चेत्ने नेताहरू ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper