banner
banner

वैशाख कृष्ण औंसी, आमा दिवस

लीला दाहाल, चितवन- - - 
वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ  । पौराणीक कालदेखिनै मनाउदै आएको यस आमाको मुख हेर्ने दिन आमाले गरेका महान र कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ । आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्धतर्पण गरी मातृत्वको स्मरण गर्दछन्  ।
शास्त्रमा आमालाई पृथ्वी र धरातलसँग दाँजिएको छ । प्रेम सबैले गर्दछन् तर निस्वार्थ प्रेम कस्तो हुन्छ, त्यो आमाबाटै सिकिन्छ । गहिरो प्रेमको औचित्य पनि आमालाई नै थाहा हुन्छ । ९ महिना लामो आन्तरिक संघर्ष र प्रसव पीडालाई आमाको सबैभन्दा ठूलो सहनशक्तिको मानक मानिन्छ । एउटा सन्तान जन्मिदा हजारौं कोषिका चुडिएको कठोर पीडालाई आमाले सन्तानको मधुर चिच्याहटमा भुलिदिन्छिन् । हजारौं वजनको भारीलाई नदेखाएर भुल्न सक्ने ताकत आमा मै छ  ।आमा नैं पहिलो औषधि हुन् । अँध्यारोको दीप पनि आमा नै हुन् । सन्तानलाई पुग नपुग खुवाइसकेपछि रित्तो भाडोमा पानी खन्याउँदै मलाई त भोक छैन आज भनेर भोकै सुत्ने त्यो अद्भुत प्राणीको नाम आमा हो । सन्तानको खुट्टामा काँडाले घोच्दा जसको मुटुमा चस्स पोल्छ ती आमा नै हुन्  ।
सन्तानको क्रन्दनमा रूँदा रूँदा सायद एक आमाको आँसु नदी जत्तिकै भिमकाय हुन्छ होला । सन्तानकै बारेमा सोचेर सायद उनका पीडाहरूले गगनचुम्बी पहाडभन्दा बडेमानका ढिस्काहरू बनाउँछन् होला । एक आमाले सन्तानको पीडामा बगाएको आँसु देखिन्थ्यो भने, सायद आठौं महासागर आमा कै नामबाट बन्थ्यो होला । सन्तानका लागि एक आमाले पाएका पीडालाई सङ्गाल्ने हो भने सबैभन्दा अग्लो हिमालको नाम आमाकै नामबाट हुन्थ्यो होला ! सन्तान हुर्काउँदा यति पीडा सहन्छिन्, यति आँसु पिउँछिन् तर त्यसको वहिखाता आमाले कहिल्यै पनि राख्दिनन् । किन कि आमालाई  सन्तानलाई माया गर्न मात्र आउँछ ।
जीवनमा सबैभन्दा खुसी आमाकै काखमा मिल्छ । आमाले जस्तो सुकै पीडा सजिलै टार्न सक्छिन् तर आफ्नो सन्तान गुमाएको पीडा उसलाई असह्य हुन्छ । सबैभन्दा बढी रोदन आमालाई सन्तान गुमाउनुमा हुन्छ । त्यतिबेला एक अबला आमालाई यस्तो लाग्दो हो, कालले सर्वस्व हरोस्, बरू मलाई नै हरोस् तर मेरो सन्तानलाई केही नहोस् ।
आफ्ना सन्तानप्रतिको अपार माया देख्दा यस्तो लाग्छ, मिल्थ्यो भने आमाले यतिसम्म गर्थिन्, कालसँग सन्तानको सट्टा आफैँ जान्थिन् ।   बस यस्तै भयो । सायद मेरी आमाले त्यसै गर्नु भयो कि जस्तो लाग्छ ।२०७७ साल पुस २८ गते मगंलबारआफ्नै जन्म महिना र जन्म बार औंसीको तिथि पारी हामी सम्पूर्ण लाई टुहुरो पारी घामगमन् हुनुभयो  । एउटा असल आमाको भूमिका मा हरसमय रहेर हामी पाँच सन्तानलाई  जन्माई हजारौं दुःख कष्ट र समस्या को पहाड फोरी हुर्काउनु भयो । छोरा छोरीलाई थप्पड लगाउने त के कुरा कहिले नराम्रो शब्दले गाली समेत नगरी हामीलाई हुर्काउनुभयो । आफूले विद्यालयको मुखै नदेखेपनि हामी छोराछोरीलाई सधैं पढ्नुपर्छ भन्ने प्रेरणा दिई उच्च शिक्षा सम्म अध्ययन गराउनुभयो । पाहुनाको सधैँ सत्कार गर्न खुशी हुने मेरी आमा कसैले कहीं माग्दा छैन भन्न कहिल्यै आएन ।घाँस काट्दा वा भात पकाउँदा आफ्ना मनका उर्लिएका भावहरूलाई कवितामा उतारेर कण्ठस्थ बनाई हामीलाई सुनाउनु हुन्थ्यो । मैले थाहा पाएँ आमालाई कहिल्यै कोहिसित रिसाएको देखेको छैन । सधैं सबै सित हासेर मिठो बोल्ने सबैप्रति सदभाब राख्ने  अचम्मको खुबी थियो मेरी आमा मा । कसैलाई भेदभाव को भावना नराख्ने छोरी बुहारी समान देख्ने मेरी आमा  समुदाय मात्रै होइन संसारकै उदाहरणीय आमा हुनुहुन्थ्यो ।
कहिल्यै कसैको नराम्रो नसोच्ने मेरी सायद भगवानको पनि प्रिय हुनुन्थ्यो होला । त्यसैले हामी लाई भन्दा उहाँ लाई आमा की खाँचो परेछ र न कुनै रोग न कुनै व्यथा टपक्क टिपेर लानु भयो ।जीवनमा कहिल्यै कुनै रोग को औषधि नखाएकी मेरी आमा जाने बेला मा समेत कुनै  औषधि नखाइ सुटुक्क भगवानको काखमा जानुभयो । सधैं झैं गाई मातालाई खुवाई दूध दोई साँझको नित्य सेवा पूजा गरी भगवानलाई पनि खुवाई अनि आफू ले पनि खाना खाइ  सुत्ने बेला मा मलाई रिगाटा लाग्यो भनेर बैनीको काखमा पल्टिएकी मेरी आमा फेरि कहिल्यै  नबिझने गरी सुत्नु भयो । मान्छे ले जीवनमा गरेको सत्कर्म   नै उसलाई जीवन्त पार्ने हो । खाली हात जन्मेका हामी आखिर जाने पनि खाली नै 
हो ।  लाने भनेको आफूले गरेको कर्म र कमाउने भनेको मलामी नै हो रहेछ ।कोरोना को कहर चल्दै हुँदा पनि आमा लाई श्रद्धाञ्जलि दिन र हामीलाई सहानुभूति दिन आउने मान्छेको भीड देख्दा आमाले जीवनमा कमाएको सही उपलब्धिले केहि मनमा सान्तना मिल्यो । दुःखको बेला आएका समवेदना र भेट्न आएका व्यक्ति हरूको संख्याले सहजै अनुमान गर्न सकिन्थ्यो की आम ले कति मान्छे राख्नु भएको रहेछ । हामीलाई दुःखको बेला साहस  धैर्य र सहानुभूति दिन आउने सम्पूर्णमा म हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु ।
आमा गुमाउँदाको पीडा सायद म लेख्न सक्दिन । जीवनमा ठूलो बर्जपात भयो । जताततै अन्धकारले छायो । संसारको सबै भन्दा प्यारो कुरा गुमाए मैले । हजुरको याद सम्झना हरपल आउँछ  । यी सम्झने  मन छ मा बिर्सु कसरी भने झै आमा को याद हरपल सम्झना भनेर अना यस थाहा नपाई आँखाबाट पानी बर्सिदिन्छ वर्षा ऋतु झैँ । मन भारी भएर आउँछ आमा ।यति माया गरेर हुर्काउनु भयो तर हामीलाई कुनै सेवा गर्ने मौका पनी दिनु भएन । हजुर जस्तो आदर्श नारी सहनशील नारी महान नारी बन्न सक्ने आशीर्वाद दिनु आमा हामीलाई । हजुरका विचार लाई शिर्यधार गर्न सक्कु आमा जीवनमा । हजुर जहाँ भएनी हाम्रो मन मुटुमा अमर हुनुहुन्छ । हरेक दिन आमाको फोटोमा प्रणाम गरेर आशीर्वाद लिएर काम गर्छु ।
आमाको लागि के लेखूँ म  स्वयम आमाले मलाई लेखिकी छिन् । आमाले आफ्ना सन्तानलाई गर्ने माया र स्नेहलाई लेखेर या कुनै शब्दको माध्यमबाट व्यक्त गरेर खुलाउन सकिँदैन । आमाको माया आफ्ना सन्तानप्रति अनुत्तरित हो, विशाल हो । आमाले गर्ने मायाभन्दा ब्रह्माण्डको आकार पनि सुक्ष्म हो  ।
आमा ईश्वर हुन्  । आमा सहनशीलताको प्रतिमूर्ति हुन  । आमा मायाकी खानी हुन  । आमा शिक्षा को प्रथम गुरू हुन् । आमा संसार देखाउने आँखा हुन । आमा सृष्टिकर्ता हुन आमा आदर्शको प्रतिमूर्ति हुन । आमा ममताकी खानी हुन् । बाल्यकालमा आमाले आफ्ना सन्तानलाई केही नहोस् भनेर रेखदेखमा २४ सै घण्टा स्याहार्थिन् । तर आज आमाका लागि सन्तानलाई १ घण्टा निकाल्न हम्मेहम्मे पर्छ  ।
सन्तानलाई नै आफ्नो सर्वस्व संसार ठानेर बसेकी आमाको सन्तानमा पखेटा पलाउने बित्तिकै संसार नै उजाड लाग्दछ  । आखिर किन ? यसको जवाफ खोज्नुपर्छ ।
आमालाई देखेपछि यस्तो लागोस् कि जसले हामीलाई हाम्रो जीवन दिइन्, एक दिन यो जीवन उनैको नाममा अर्पण गर्न पाइयोस् । यो सौभाग्य भाग्यमानीले मात्र पाउँछन्  । आफ्ना सन्तानका निम्ति आफ्नै संसार भुलिदिने सम्पूर्ण आमाको सोच, साहस र ममतालाई पङ्तिकारको सलाम छ  । आमाको जीवनको रक्तश्रावबाट नै मेरो जीवनको ब्रम्हनाल बनेको हो  । जसले आफूलाई टुक्राएर मलाई सिङ्गो जीवन दिइन्, सारा जीवन उनै आमाको नाममा अर्पित छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper