banner
banner

फ्रान्सिस्को गोया झगडालु चित्रकार

रमेश खनाल- - - 

विश्वप्रसिद्ध झगडालु कलाकार गोया
अनि राजपरिवारको त्यो कुरूप चित्र
“कति चित्र बनाईराख्ने । अब आजको चित्रकारी काम थन्क्याईदिएर साँढे जुदाएको हेर्न जाऊँ” भन्छन् फ्रान्सिस्को गोया । अचम्म छ यो अभिव्यक्ति । उनका साथीहरू हो मा हो मिलाउँदै साँढे जुदाएको हेर्न जान्छन् । 
स्पेनको साँढे जुदाई असाध्य लोकप्रिय खेल हो । परम्परागत राष्ट्रिय खेल साँढेको जुदाई हेर्न हजारौं  स्पेनबासीहरू उपस्थित भएका छन् । धेरै हो–हल्ला भईरहेको छ । दर्शकहरू उत्साहीत बनिरहेका छन् । 
यस्तैमा एक कुनामा उभिरहेका केटाहरूमध्ये एउटाले भन्यो ‘हेर, हेर, देखिस्– उ अस्ति नै हामी सँग झगडा गर्ने केटो त्यहाँ छ ।’ 
“खोइ..............खोई” भन्दै केटाहरूले गोयालाई खोजे । 
“उ क्या त” भन्दै एउटाले अर्को छेउमा बसेको गोयालाई देखायो । 
साँढे जुदेको हेर्न उतेजित भईरहेको गोयालाई एक्कासी तीनजना झगडे केटाहरूले घेरे । उनीहरूले बार्तालाप नै नगरिकन मुक्का, लात्ति बर्साउन थाले । गोया पनि के कम हुन्थे । उनी पनि उत्तेजित हँुदै मुक्का लात्ति फर्काउन थाले । गोयाको मुक्का र लात्ति खाएर अन्ततः केटाहरू सुइकुच्चा ठोके । यता साँढे जुदेको हेरेर रमाउनेहरू उफ्री उफ्री रमाईरहेका थिए । 
यस्तैमा एक दिन रक्सीले मातेर सडक नै रिजर्भ गरी हिँडिरहेका थिए गोया । जे मुखमा आउँछ सोही बक्दै हिँडिरहेका बेला तरबार बोकेर काटिदिन्छौं भन्दै झगडा गर्न आए केटाहरू । उनी रत्तिभर डराएनन् । उनि आवारा केटाहरूको नेता पनि थिए । उनले तरबारसँग पनि सामाना गरे । उनको अजग्गको आँट देखेर तरबार बोक्ने केटाहरू पनि भागे । त्यसबेला उनलाई रक्सीले छाडिसकेको थियो । 
र अर्को एक दिन– 
गोयाको ग्यांग र अर्को ती केटाहरूको ग्यांगका बीच धुनधान झगडा प¥यो । यस झगडामा केही केटाहरू मारिए । साथीहरू मारिएका घटनाबाट बच्न उनी भागेर म्याड्रिड (१७६४) पुगे । म्याड्रिडमा पनि उनी रक्सी, रण्डी, मारिपिट झगडामा लागिरहन्थे । उनको बानीमा सुधार हुन सकेन । म्याड्रिडमा अनेकौ काण्ड मच्चाएपछि उनी भागेर इटालि (१७७०) पुगे । 
यस रक्सी, रण्डी, मारपिट, झगडा, अनैतिक, मान्छेहरूसँग संगत गरेतापनि गोया सुन्दर चित्रहरू बनाउन जान्दथे । जीवनयापन गर्न उनले इटालिमा स्पेनी जनजीवनलाई विषय बनाएर मनग्य चित्रहरू बनाएर बिक्री गर्दथे । झै झगडा–मारपिट गरेता पनि उनले बनाएका चित्रहरू सम्बन्धित कला संस्थामा चर्चित हुन्थ्यो । छलफल गरिन्थ्यो । उनी इटालीको पार्मा शहरमा राम्रा चित्र बनाउने कलाकारको रूपमा प्रसिद्ध भइसकेका थिए । त्यहाँको कला संस्था आर्ट एकेडेमी अफ पार्माद्धारा आयोजित कला प्रतियोगितमा उनी पुरस्कृत भएका थिए । 
उनले केही बर्ष इटालीमा बसेर मातृभूमि स्पेनमा फर्किएर आरागोनलाई मुख्य आश्रय स्थल बनाए । ई.सं. १७७३ मा उनले जोसेफा वाययुसँग विहे गरे । उनि, उनको कला शिक्षककी बहिनी थिईन् । यिनले सातवटा सन्तानलाई जन्म दिएता पनि जेभिएर नाम गरेका एकजना छोरामात्र बाँचेका थिए । 
विहेपछि उनले म्याड्रिडको ‘रोयल फ्याक्ट्री अफ सान्ता बारबर’ मा चित्रकारीता सम्बन्धि काम पाए । त्यहाँ उनले भित्तामा भएका पर्दाहरूमा तन्तु चित्रका लागि डिजाईन बनाउनुपर्दथ्यो । त्यहाँ पिटर पउल रविन्सले पनि भित्ते पर्दाहरूमा अप्सरा, देवताहरूको कथालाई आधार बनाएर सुन्दर सुन्दर चित्रहरू बनाएका थिए । तर उनले रूबेन्सका कथाको आधारलाई तोडे । त्यहाँ पनि उनी विद्रोही भए । उनले समकालीन स्पेनी जनजीवनलाई कथाको मुख्य आधार बनाएर चित्रांकित गरे र ठोस् आकारलाई उनले मूर्तता दिए । उनले बनाएका चित्रहरू प्रशंसा भयो । त्यहाँ उनीले १७९२ सम्म काम गरे । यसबेला उनी ४६ बर्षका भइसकेको थिए । यसबेला उनी धेरै काम गर्ने गर्दथे । उनलाई भित्तेचित्र, व्यक्तिचित्र, गिर्जाघरमा अलंकार गर्ने काममा सफलता मिलेको थियो । 
ख्याति बढ्दै गएका कलाकार गोयाले आफ्नो कर्मथलो बार्सिलोना बनाउने निधो गरे । त्यहाँ उनको सम्बन्ध राजाका भाइसँग भयो । राजाका भाइ चित्रकला प्रेमी थिए । उनी राजाका भाइलाई माध्यम बनाएर दरवारी चित्रकार हुन खोज्दथे तर गोयालाई राजाले मन पराउँदैन थिए । त्यसैले उनी दरवारी चित्रकार हुन सकेनन् । 
यस बीच उनलाई कुलिन वर्गले ब्यक्ति चित्र बनाउन निम्ता दिन थाले । उनले व्यक्ति चित्रहरू निकै बनाए । उनले बनाएका व्यक्तिचित्रहरू रंगको माधूर्यता, रंगको सन्तुलन, एनाटोमी आदिका दृष्टिकोणबाट कहलिएका हुन्थे । 
गोयालाई माड्रिट एकेडेमी अफ आर्टको सदस्य हुने सोख थियो । यसका लागि उनले इ.सं. १७६३ र १७६६ मा पनि सदस्य बन्ने प्रयास गरे तर सफल भएनन् । एकैचोटी इ.सं. १७८० मा उनी म्याड्रिड एकेडेमी सदस्य चुनिए । र त्यसको पाँच बर्षपछि डिपुटी डाइरेक्टर अफ पेन्टीङ्ग भए ।
यसैबीच स्पेनका राजा तृतीय मरे । चतुर्थ चाल्स (१७८९) राजा भए पछि उनले गोयालाई दरवारी चित्रकार बनाए । 
राजाहरूको षडयन्त्र, दमन, भ्रष्टाचार, शोषणताले स्पेनलाई चुर्लुम्म डुबाएको थियो । जनताहरू दिनप्रतिदिन गरीब भईरहेका थिए । गोयाले राजाको सुखसयल र निमुखा जनताको विजोग दुवै देखेका थिए । आफूले भोगेको कटु यथार्थलाई आत्मसात गर्दै उनले राजा र राजपरिवारको विलासिता र मूर्खतालाई उदांग पार्ने हेतुले “द रोयल फेमली” नामक चित्र बनाए । यस चित्रमा उनले राजालाई ठुस्स परेको, रानीलाई कुरूप, अन्य राजपरिवारहरूलाई उदास बनाएर व्यंग्य गरेका छन् । गोयाले राजा र राजपरिवारको नांगो नाच, दमन र शोषण देखेका थिए । त्यसैले उनले हँसिलो, आनन्ददायक मुहार कोर्न सकेनन् । तर पनि यस चित्रमा उनको सौन्दर्यात्मक कलाको सिप भने खुब पोखिएको छ । राजपरिवारका आभुषण, पोशाकलाई उनले सुन्दर ढंगबाट उतारेका छन् । प्रकाश र छायाँको तालमेलमा गोयाको यो चित्र उत्कृष्ट नै बनेको छ । यस चित्रको सबभन्दा पछिल्लो भागको कुनामा गोया, आफू पनि उभिएर चित्र बनाईरहेको देखिएका छन् । 
“The Royal Family" By Goya
गोयाले सजिव, जीवन्त चित्र बनाएको देखेर स्पेनका धनि परिवार खास गरी अझ महिलाहरूले गोयासँग चित्र बनाउन आफ्नो प्रतिष्ठा नै ठान्दथे । त्यसैले गोयाको चित्र बनाउने माग बढ्रदै गयो । यसै सिलसिलामा उनले अल्वाकी रानीको ‘द न्याकेड माजा’ र ‘क्लोथेक माजा’ लगायत अन्य थुप्रै निर्वस्त्र, सवस्त्र चित्रहरू बनाएका छन् ।
कलाकार मर्छन् तर कला कहिल्यै मर्दैन । कलकार अजर अमर कलाकृतिमा मरेर पनि बाँचिरहेका हुन्छन् । गोया त्यस्तै अमर कलाकार हुन् । उनका व्यक्तिगत चरित्र जस्तोसुकै भए पनि उनका कलालाई आज पनि परख र पारख गर्नेहरू विश्वमा कति छन् कति ? यसकारण त कलाले व्यक्ति, समाज र संस्कृतिको प्रतिनिधित्व गर्छ । नेपालमा पनि कलालाई अझ महत्व दिइनुपर्छ ।

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper