banner
banner

अपराध मिसियो राजनीतिमा

बरिष्ठ अधिवक्ता शिव सिग्देल - -
प्रधानमन्त्रीले आफूमाथि हमला हुनसक्ने र मारिनसक्ने सम्मका खतरा देखाएर अभिव्यक्ति दिएको सेलाएको छैन । देशको बहुमतको प्रधानमन्त्री नै ज्यानको जोखिममा छन् भने आमनेपालीको सुरक्षाको प्रत्याभूति कसले लिन्छ ? आमनेपाली कुन त्रासदीमा बाँचिरहेका रहेछन् ?
२०६६ साल फागुन १७ गते जनकपुरमा अरूण सिंघानियाको हत्या भयो । २०६८ सालमा जनकपुरमै वमकाण्ड भयो र ५ जना मारिए । यी काण्डका नाइके भनिएका संजय साह दुईपल्टकै संविधानसभा निर्वाचनमा विजयी भए र मन्त्रीसमेत बने । पछि जेलमा कोचिन पुगेका थिए ।
यिनलाई जेलमुक्त गर्नुपर्ने सर्त उपेन्द्र यादवको छ । जसपा भन्ने दल छ, जसका हर्ताकर्ता महन्थ ठाकुर र राजेन्द्र महतो छन्, उनीहरू २०७२ साल भदौ ७ गते कैलालीमा दुधे बालकसहित ८ प्रहरी मार्ने आरोपमा जेल परेका रेशम चौधरीलाई माफी दिनुपर्ने सर्त अघि सारेर सरकारलाई अथवा सरकार बनाउन अग्रसर भएका कम्युनिष्टका सामु सर्तको तगारो तेस्र्याएका छन् ।
यता इटाभट्टामा ज्यूँदा मान्छे पोलेको मोहमद अफताव आलमको मुद्दा पनि राजनीतिक चासो र विवादको विषय बनेकै छ ।
अर्थात अपराध मिसियो राजनीतिमा । राजनीतिलाई नीतिहरूको राजा भनिन्छ । जब मूल नै यसरी अपराधिकरण हुन्छ भने बहाव कसरी स्वच्छ हुनसक्छ ? स्थिरता, सुशासन र स्वच्छताको कुरा अड्केकै राजनीतिक अपराधिकरणमा हो ।राजनीतिबाट अपराध हटेर जानुपर्नेमा झन् बढेर जानु देश र जनताका लागि प्रत्युत्पादक भइरहेको छ । समाजमा एकसे एक बुद्धिजीवी छन्, अधिकारकर्मी छन्, नागरिह अभियन्ता छन्, तिनका मुखमा कसले ठेडी जाक्छ कुन्नी, तिनीहरू समाज, राजनीतिक शुद्धीकरण र सुशासनका लागि पटक्कै बोल्दैनन् ।
अपराधिकरणका कारण राजनीतिबाट जनआकर्ष घट्दो छ । यो अविश्वासले सबे पार्टीलाई कमोवेश घाटा भएको छ । जबसम्म हामी राजनीतिलाई जनतासँग गाँस्न सक्दैनौं, जनताका लागि राजनीति हो भनेर बुझाउन र विश्वस्त पार्न सक्देनौं, तवसम्म राजनीति शुद्धीकरण हुनसक्देन । यतिबेला राजनीतिप्रति जनताको उदासीनता बढेर गएको छ । हो, पार्टीका कार्यकर्ताले चर्का नारा लगाइरहेका छन् । कार्यकर्ताको नाराले राजनीति जनतासँग जोडिदैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper