banner
banner

सीमानक्सा संग्रहमा प्रमाण

नेपालको मानचित्रको सन्दर्भमा बुद्धिनारायण श्रेष्ठको सीमानक्सा संग्रह । पुस्तकमा समावेश भएका सबै ९० वटा नक्साको इतिहाससम्मत विवरण र व्याख्या दिइएको छ । यी नक्साहरू जुन भाषामा भेटियो त्यसै रूपमा राखिएको हुँदा तिनको विश्वसनीयतामा कुनै शंका छैन । जगतकुमार भुसालले २०५३ सालमा जलविज्ञानमा आधारित रहेर बनाएको नक्सा समेटेर विविधता दिइएको छ ।
सुगौली सन्धि (सन् १८१६ मार्च) यता अंग्रेज मातहत रहेको इण्डिया र नेपालको सिमाना तय गर्ने हेतुले कोरिएका, लेखिएका नक्सा सबै सहज उपलब्ध भएका होइनन् भन्ने लेखकको जिकिर छ । यसमा परेका कतिपय नक्सा बेलायत, अमेरिकाका आधिकारिक संस्थाहरूमा पुगेरै खोजतलाश गरी प्रमाणित गरिएको छ ।
आफूलाई ‘सीमा अध्येता र अनुसन्धानकर्ता’ मात्र भनेर चिनाउन रूचाउने नापी विभागका पूर्व महानिर्देशक श्रेष्ठले यस पुस्तक परियोजनामा नेपालको सरकारी निकायबाट कुनै सहयोग नपाएको तीतो यथार्थ पनि पुस्तकमा उल्लेख गरेका छन् । सरकारी दस्तावेजको ‘एउटा छेस्को पनि यस सीमानक्सा संग्रह पुस्तकमा परेको छैन’ भन्ने उनको कथनले अन्वेषकहरूप्रतिको सरकारी बेवास्ताको जति आलोचना गरे पनि कमै हुन्छ । यस कार्यका लागि बुद्धिनारायण श्रेष्ठ देशका होनहार देशभक्त बन्न सफल भएका छन् । हार्दिक बधाई छ ।
समाचारअनुसार सन् १९६२ को भारत–चीन युद्धमा पराजय भोगेर स्वदेश फर्केका भारतीय सैनिकहरूको एक जत्थाले नेपालको कालापानी क्षेत्रलाई हठात् ओगटेको हो भन्ने अन्य लेखकहरूकै तर्कमा श्रेष्ठ पनि सहमत छन् । नहोउन् पनि कसरी जब २०१८ सालामा दार्चुलाको व्यास इलाकामा जनगणना गराउने सरकारी जिम्मेवारीमा रहेका भैरव रिसाल र २०३६ कार्तिकदेखि २०३८ चैत्रसम्म दार्चुलाका प्रमुख जिल्ला अधिकारी द्वारिकानाथ ढुङ्गेल हामीहरूकै बीच छन् ।
रिसाल र ढुङ्गेलका कतिपय सहायक र सहयोगी आज पनि देखिजान्ने साक्षी होलान् । रिसाल र ढुङ्गेल दुबैको राय एकैनासको छ ः सुदूर पश्चिमको सिमाना र सीमावर्ती नेपाली भूमिबारे सिंहदरबारको सरकारको निरन्तरको उपेक्षाभावले हाम्रो भूमि भारतले ओगट्न पुगेको छ । ती भूभाग फिर्ता ल्याउने यो प्रमाणिक पुस्तक हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper