banner
banner

नेपालमा सिंहानुकको चर्चा सुरु भयो

राजन कार्की- - 
अफगानिस्तानका राजा जहिर शाहलाई किनारा लगाएपछि उनी फर्केर आएनन्, अफगानिस्तान बम बारुदको धुवाँमा रङ्मङ्गिरहेको छ । कम्बोडियामा नरोदम सिंहानुकले पुनरागमन गरेपछि शान्ति र समृद्धिको मार्गमा लागिरहेको छ । १४ वर्ष भयो राजतन्त्र फालिएको, अराजकताको रोगले नछाडेले नेपालमा सिंहानुकको चर्चा सुरु भएको छ ।
सन १९५३ मा स्वतन्त्र भएपछि १७ वर्ष राजतन्त्र रहेको कम्बोडियामा राजा थिए नरोदम सिंहानुक । उनीमाथि ठूलो षडयन्त्र गरेर १९७० देखि ७५ सम्म खमेरुजको आतंकपूर्ण शासन चल्यो । राजा लखेटिए । १९७५ देखि १९९३ सम्म जनगणतन्त्र कम्बोडिया बनेर चल्यो र लाखौंलाख जनता काटिए, मारिए, लुटिए । अन्तमा जनताले नै बिद्रोह गरेपछि १९७३ मा पुनःराजतन्त्र स्थापित भयो र कम्बोडिया आफ्नै तरिकाले शान्तिपूर्ण सुशासन र स्वाधीतामा फर्किएको छ ।
तर, १९७३ मा अफगानिस्तानबाट राजा जहिर शाह लखेटिए । त्यसपछिका ४८ वर्ष अर्थात आजसम्म पनि कावुल आतंकको छायाँमा छ । बैधानिक र अवैधानिक शासनवीच आतंककारी साँढे जुधाइ जारी छ । अमेरिकनदेखि अनेक देशका सैनिकले अफगानिस्तानमा अड्डा जमाउँदा पनि अफगानिस्तानमा शान्ति हुनसकेन । हरेक दिन बम पड्किरहेका छन्, मान्छे मार्नेक्रम जारी छ । अफगानिस्तानको भाग्य र भविष्य बमगोला पड्किनु र मृत्युको समाचार बनिरहनुमा सिमित हुनपुगेको छ ।
अफगानिस्तानमा झैं नेपालमा पनि २०६५ साल जेठ १५ गते ‘ह्वाइट कू’ भयो । राजतन्त्र किनारा लाग्यो । तर नेपालमा हिन्दुधर्म र राजतन्त्रको मुद्दा उठिरहेकै छ र यतिबेला त आमनागरिक राजतन्त्र पुनःस्र्थापना गर्न सडक आन्दोलनमा निस्किएका छन् । धन्न नेपालमा विदेशी सेना तैनाथ भएको छैन, अहिलेसम्म नेपालीले आफ्नो निर्णय आफै गर्नसक्ने वातावरणमा छन् ।
पद्धति परिवर्तन भए पनि नेपाल शान्त, स्थिर र सकारात्मक रहनसकेन । कुनै पनि पार्टी अथवा नेताले नेपाल र नेपालीको विश्वास जित्न सकेनन् । बिगत १५ वर्षको राजतन्त्रबिहीन दिनहरुमा पार्टीतन्त्र र नेताको हैकमतन्त्र चलिरह्यो । सेटिङ र सिण्डिकेटका कारण नेपालमा नाम लोकतन्त्र रहे पनि लूटतन्त्र चलिरह्यो । यहीकारणले हो आम नागरिक यो पद्धिसँग खुशी छैनन् । हरेक नेतालाई घृणा गर्छन् । नेपाली जाति जतिपनि कष्ट सहेर सबर गर्न सक्छन् । त्यो सबरको सीमा नाघेछ, जनता सडक बिद्रोह गर्न बाध्य छन् ।
२०६५ सालसम्म राजतन्त्र थियो । राजा निरंकूश भए भनेर जनतालाई राजाविरुद्ध सडकमा उतारियो र त्यही बलमा राजतन्त्र निर्मूल पारियो । जनादेशका नाममा ‘ह्वाइट कू’ गरियो । तर आमनागरिक यो परिवर्तनलाई अव मान्ने पक्षमा छैनन् । जनताले राजा आउ देश बचाउ भनेर नारा लगाइरहेका छन् ।
राजपरम्पराअनुसार हरेक पर्वपर्वमा पूर्वराजाले जनताप्रतिको आफ्नो सान्निध्यता जनाइरहेका छन् । दुःखसुखमा साथ रहेकै छन् । यही सन्दर्भमा पछिल्लो सन्देशमा पूर्वराजाले ‘देश र जनता अभिभावकविहीन भए’को अनुभूतिसहितको सन्देश दिए । यो सन्देश सार्वजनिक भएपछि देशैभरिका जनता संवैधानिक भनिएको लूटतन्त्रको बिरोधमा सडकमा निस्किएका छन् । आन्दोलनकारीहरु कोरोना र राज्यप्रहरीको कोर्राको समेत बेवास्ता गरेर कुनै पनि बार बन्देजले राजतन्त्र पुनस्र्थापना गर्ने आन्दोलन रोकिन्न भनिरहेका छन् ।
जनता सडकमा निस्किएकाले ‘जनता अभिभावकविहीन भए’ भन्ने सन्देश दिएर पूर्वराजालाई चुपचाप बस्ने छुट छैन । पूर्वराजाल निर्णय गर्नैपर्छ– जहिर शाह बन्ने कि सिंहानुक ?
जहिर शाहले गद्दी त्याग गरेपछि दावी गरेनन् । सिंहानुकले आफूलाई पदच्यूत गर्नेहरु विरुद्ध अन्तर्राष्ट्रिय समर्थन गुहारे, चीनमा बसे र आमनागरिकसँग जुटिरहेका थिए, अन्नत १९९३ मा २३ वर्षपछि सिंहासन पुनः हासिल गर्न सफल भए । उनले देश र जनताप्रति नतमस्तक भएको बरदानमा पाएको सफलता थियो त्यो । नेपालमा पनि अवैधानिक रुपमा हिन्दुराष्ट्र र राजतन्त्र किनारा लगाएको १५ वर्ष हुनलाग्यो । परिवर्तनकारीहरुले आफू र आफन्तलाई मात्र परिवर्तन गरे, देश र जनताको बेवास्ता गरेकाले जनतामा नैराश्यता छाउँदै गएर आज बिद्रोहको अवस्थामा पुगेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहले देश र जनताका पक्षमा उभिने कि नउभिने, निर्णय गर्ने बेला आयो ।
स्मरणीय छ, १७७६ मा स्वतन्त्र भएको अमेरिका आज विश्वशक्ति बनेको छ । बेलायतमा राजा जोनको कार्यकाल । जनताले दुःख पाएको उनले कहिल्यै देखेनन् वा देखेर पनि बेवास्ता गरे । अति भएपछि जनताले रन्निमिड भन्ने ठाउँमा गएका बेलामा राजा जोनलाई घेरा हालेर छाड्दै छाडेनन् । सन १२१५ को जुन १५ को दिन थियो, यही दिनमा जनताले राजालाई झुकाए र जनअधिकार अर्थात म्याग्नाकार्टामा सही गर्न बाध्य पारे । यही म्याग्नाकार्टा आज पनि बेलायतको संविधानसरह संसद, अदालत, प्रशासन सबैतिर सर्वमान्य छ । रोबर्ट ब्ल्याकबर्न यो पद्धतिको ब्याख्याता हुन् । अर्थात इमान, नैतिकता र लोकलज्जाको भय र जनताप्रतिको जवाफदेहीता नै बेलायतको संविधान हो ।
नेपालमा ६ थान संविधान जारी भइसक्यो, स्थिरता आउन सकेन । वर्तमान संविधान सबैभन्दा असफल संविधान बनेको छ । कारण, यो संविधानलाई नेताहरुले यसरी कुल्चिए कि राजनीतिमा छाडा साँढे प्रवृत्ति नै हावी भयो । प्रशासनमा जंगली ध्रुवे हात्तीकै महामारी फैलियो । लोकलज्जा र नैतिक लक्ष्मणरेखा बाँकी नै रहेन । सुन्दर परिवर्तन र सभ्य समाज भन्दा भन्दै परिवर्तन कुरुप बनेको छ । जुन परिवर्तनमा जनताको आस्था बाँकी नै रहेन ।
यतिबेला राजतन्त्र चाहियो भन्ने हुरी चलेको छ । यो हुरीसँग कस्तो राजा, कस्तो राजतन्त्र भन्ने बहस पनि साथसाथै चलेको देखिन्छ । कारण के हो भने २००७ सालदेखि अनेकपल्ट व्यवस्था परिवर्तन भए, देश र जनताको अवस्था परिवर्तन गर्न सफलता हासिल भएन । जे जति देखियो, सकारात्मक परिवर्तनका दुस्परिणाममात्र देखिए । अहिले देखिएको जनताका तीब्र असन्तुष्टि र आक्रोश दुस्परिणामको प्रतिध्वनी हो । यहाँसम्म कि आमनागरिक त सेनाले सत्ता लिएर भड्किएको प्रजातन्त्रलाई सही बाटोमा ल्याउन अग्रसर हुनुपर्छ समेत भनिरहेका छन् । जसरी २०३७ सालमा सुधारिएको पञ्चायत कि यथास्थितिको पञ्चायत भन्ने प्रश्नमा जनमत संग्रह भएको थियो, ठिक त्यसै गरी अहिलेको लोकतन्त्रलाई सुधार्न सकिन्छ भन्नेहरु पनि बहसमा छन् । यसमा हिन्दुराष्ट्र, प्रत्यक्ष निर्वाचित शासक, संघीयताको खारेजी, निर्वाचित प्रतिनिधिलाई प्रत्याह्वान गर्न पाइने व्यवस्था आदि आदि चर्चामा छन् । तर हिन्दु र राजतन्त्रवादीहरु लोकतान्त्रिक राजतन्त्रकै माँग गरिरहेका छन् । एउटा अभिभावक चाहिन्छ, हजार राजा पाल्न सकिन्न भन्ने आन्दोलनकारीको आवाज सुनिन्छ । यसैवीच आन्दोलनकारीहरु सर्वोत्कृष्ठ भनिएको २०४७ को संविधान ब्यूँताए सबै समस्याको समाधान निस्कने कुरा गर्छन् । स्मरणीय के छ भने २०४७ सालको संविधान निर्माताहरु नै लोकतन्त्रमा पनि मुख्य दलहरुकै रुपमा स्थापित रहेका छन् । आन्दोलनकारीहरु भन्छन्– २०७२ सालको संविधान आयातित विचारको प्रतिनिधित्व गर्छ, ०४७ को संविधान नेपालको माटो सुहाउँदो छ । 
आमनागरिकलाई लोकतन्त्रले सन्तुष्ट पार्न सकेन । राजतन्त्रवादीको आन्दोलनमा सत्तापक्ष र प्रतिपक्षका नेता, कार्यकर्तासमेत सामेल भएबाट स्पष्ट हुन्छ– लोकतन्त्र दुर्घटनामा परिसकेको छ । यो संविधानले काम गर्न सक्दैन । प्रश्न गर्नेहरु गरिरहेका छन्– राजतन्त्र आउने मार्ग छैन । कुन बिधिबाट आउने । उनीहरु बिर्सिरहेका छन्– देशको, जनताको आवश्यकता परेपछि राजतन्त्र आउने मार्ग जनविश्वास हो । देश खोक्रो पार्नेहरुले बिधि खोज्ने होइन, जनताको आवाज सुन्नुपर्छ । जनता योभन्दा बढी आक्रोसित भए भने बेलायतमा कुन बिधिबाट राजतन्त्र पुनस्र्थापित भयो र चलिरहेको छ, त्यो इतिहास पढ्दा उचित हुनेछ ।
हरेकपल्टको सन्देशमा जनताप्रति चिन्ता गर्ने र देशप्रति जिम्मेवार अभिव्यक्ति दिने पूर्वराजाले अव निर्णय गर्नुपर्छ, जनतालाई निर्णय सुनाउनु पर्छ– जहिर शाह बन्ने कि सिंहानुक ?
आमनागरिक घरघरबाट, देशैभरिका सडक सडकबाट आह्वान गरिरहेका छन्– राजा आउ देश बचाउ । पूर्वराजाले देशको ‘भार’ उठाउनका लागि सिंहानुक बन्ने निर्णय गर्नुपर्छ, यही निर्णय आमजनतालाई संवोधन गरेर बताउनु पर्छ ।
यत्ति भएपछि २०६५ साल जेठ १५ गते गरिएको षडयन्त्रपूर्ण ‘ह्वाइट कु’ सच्चिने छ । नेपाल हिन्दराष्ट्र हुनेछ । लोकतान्त्रिक राजतन्त्रले आफ्नो कोर्ष लिन थाल्नेछ । देश सुरक्षित र जनताले शान्तिको श्वास फेर्न पाउनेछ । नेपालको भाग्य र भविष्यका लागि लोकतान्त्रिक राजतन्त्रको बिकल्प छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper