banner
banner

जनता आफैले बिकल्प खोजे

शाश्वत शर्मा-- 
सत्तारुढ दलभित्रको पद र शक्रिको खिचातानी जारी छ । महाधिवेशनसम्म अध्यक्ष र निर्वाचनसम्म प्रधानमन्त्री पद छाड्दिन भनेर प्रम ओलीले स्पष्ट भनिसकेका छन् । पार्टीभित्रका विपक्षीले निरन्तर दबाब दिइरहे पनि अ‍ोलीलाई गलाउन सकेका छैनन् । भन्नुपर्दा स्त्तारुढ दलभित्र महाभारत चलिरहेकै छ । स्थिति त यस्तो कि केनद्रको झगडा गाउँपालिकासम्म पुगिसकेको देखिन्छ । वडा तहमा प्रचण्ड र ओली पक्ष भनेर कार्यकर्ताहरु बिभाजन भइसकेका छन् । स्रोतहरु भन्छन्, अव जतिसुकै राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालस्थित चिनियाँ दूतावासले मिलाउन खोजे पनि नेकपा फुट्छ फुट्छ । खबर छ, गत शनिवार राष्ट्रपति भण्डारीले बोलाउँदा पनि प्रचण्ड शितल निवास गएनन् । त्यसो त, स्वयं प्रचण्डले राष्ट्रपति भण्डारीसँगको आफ्नो पछिल्लो भेटमा अव ओलीसँगसँगै बस्न नसकिने जनाउ दिइसकेका थिए । त्यतिबेला राष्ट्रपति भण्डारीले एक किसिमले तर्साउँदै आफू प्रधानमन्त्रीको कुनै पनि सिफारिस मान्नबाध्य भएको बताउँदै संसद बिघटन संकटकाल, मध्यावधिजस्ता डर त्रास देखाइसकेकी थिइन् । त्यो भयले प्रचण्ड कित्ता भयभित चाहिँ छ ।
विज्ञहरुको विचारमा यदि यो कुरा प्रचण्डलाई भनिएको हो भने यो चाहिँ प्रचण्ड, माधव, झलनाथको समूहलाई गलाउन प्रयोग गरिएको अन्तिम अस्त्र हुनसक्छ । राष्ट्रपति र प्रधानमन्त्रीको धाकको सीमा यतिसम्म मात्र हो । एकातिर सत्तारुढ पार्टि भित्रको खिचलो भीरको अन्तिम किनारमा पुगेको छ भने अर्कोतिर प्रमुख प्रतिपक्षी कांग्रेस राष्ट्रको, नेपाली जनताको सवालमा होइन कि आफ्ना बरिष्ठ नेता रामचन्द्रपौडेललाई तनहुँमा गरिएको गिरफ्तारीका विरुद्धमा आगामी २९ गते देशभरि प्रदर्शन गर्दैछ । यत्रो बेथिति बिसंगति बारेमा चूप्पी साधेर बसेको कांग्रेस मर्यादाभङ्ग गर्दै तनहुँमा पूल उद्घाटन गर्न पुगेका नेता रामचन्द्र पौडेलपौडेललार्य गरिएको केही घण्टे गिरफ्तारीका विरुद्धमा प्रदर्शन गर्दैछ । भन्नु परोइन कि कांग्रेसका उपल्लो तहका नेताहरु वर्तमान सरकासँग त्रसित छन् । त्यसैकारणले पनि कांग्रेस निकम्मा भएर बसिरहेको हो । आफूहरुपनि विजय गच्छदारको स्थितिमा पुगिन्छ, यदि सरकारको विरोधमा गए भनेर डर छ यिनलाई । केही बुज्रुकहरुको भनाइमा अहिले जत्तिको मसला नेपालका विपक्षका लागि शायदै कहिले मिल्ला । सडक र सदन अनि सदनका समितिहरुमा उठान मिल्ने र सत्तारुढलाई गलाउन सकिने मुद्दाहरु पर्याप्त छन् । तर कांग्रेस प्रतिपक्षी भूमिकामा असफल भएको छ । यसपछि चर्चा गर्नुपर्दा आउने अर्को नाम हो जनता समाजवादी पार्टिको । यो पार्टीका केन्द्रीय नेताहरु मध्येका अध्यक्ष डा.बाबुराम भट्टराई र उपेन्द्र यादवहरु अहिले उफानमा रहेका राजावादीहरुको आन्दोलनलाई बिरोध गर्नसम्म मात्र सिमित छन् । यिनको पार्टीले पनि जनताको र राष्ट्रका समस्याका बारेमा आवाज उठाएको कहिल्यै सुनिएन । सत्तारुढ पार्टी आन्तरिक झगडामा व्यस्त, त्यसबाहेक नेकपाको सरकारको काम भनेको भ्रष्टाचार र राष्ट्रघात गर्नु नै हो । यस्तै विपक्षीको काम समस्यामा परिन्छ भनेर चूप लाग्नु हो । यी दुबैथरि राष्ट्रका लागि बेकामे हतियार हुन् । यही मेसोमा आजित भएका जनताले राजतन्त्रलाई पुनस्र्थापित गर्ने महान आन्दोलनको थालनी गरिसकेका छन् । राजतन्त्र, हिन्दुराष्ट्रको लागि केही दिनदेखि भइरहेका ¥याली, जुलुस र नाराबाजी देशैभरि भइरहेका छन् । यी जुलुसहरुमा आमनागरिकको विशाल उपस्थिति हुन थालेको छ । नेपालको झण्डा बोकेका नागरिकहरुको जुलुसले सरकार हल्लिन थालेको देखिदैछ ।
आउँदो २७ गते पछि यो आन्दोलन काठमाडौं केन्द्रित हुने छ । अव चैँ राष्ट्रवादी आन्दोलनले पूर्णता पाउने भो भन्ने विश्लेषकहरु बताउँदै छन् । त्यसो त आफ्नो खाइपाई काटिन्छ, पद जान्छ, आफ्ना काला कर्तुतहरुका कारण भोलि जेल जानुपर्ने त्रासले गर्दा सरकार र विपक्षीहरु आन्दोलन भाँड्ने प्रयासमा छन् । कोरोनाको कारण देखाएर राजतन्त्रवादी र हिन्दुवादी ¥याली ननिकाल्न जारी भएको उर्दी जनताले मानेनन् । सरकारको निर्देशन नमान्ने र आफ्ना माँग पूरा गराइ छाड्ने चट्टानी अडानमा जनता देखिएका छन् ।
संघीयताको बिरोधी मानिएका चित्रबहादुर केसी समेत गणतन्त्रका पक्षधर एकजुट होऔं भन्ने बिलौना गर्न थालेका छन् । तर जतिसुकै यी भाँडतन्त्रवादीहरु जुटे पनि सडकमा निस्किसकेका जनता चूप लाग्नेवाला देखिदैनन् । अचम्म त के पनि छ भने राजतन्त्र र हिन्दुराष्ट्रका लागि लागेका नाराहरु सत्तारुढ र विपक्षी पार्टीका नेता कार्यकर्ताहरुले समेत उत्साहजनक रुपमा साथ दिइरहेका छन् । गणतन्त्र अव भने ढल्ने छाँटकाँट देखिन थालेको छ । कारण जनताको अठोट देख्दा एउटा निर्णयमा नपुगी यो आन्दोलन रोकिनेवाला छैन ।
न पूर्वराजाको चासो छ, न कुनै पार्टीको । जनता नेपालको झण्डा बोकेर स्वतःस्फूर्त रुपमा सडकमा निस्किरहेका छन् । यी जनताको आवाज समयमै नसुन्ने हो भने लोकतन्त्रवादी हुँ भन्नेले लोकसँग लाप्पा खेल्नुपर्ने दिन टाढा छ जस्तो लाग्दैन । कारण आन्दोलनकारीले भनिसके– जोसँग जे छ, त्यही दिनोस् अव हामी सडकमा उत्रियौं, सडकमै बास बस्छौं, सडकमै आन्दोलन गर्छौं, राजतन्त्रसहितको लोकतन्त्र ल्याएरै छाड्छौं । जनताले चाहे के हुँदैन र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper