banner
banner

समृद्धि र शान्तिको ढोका खोल्नेभए...

राजन कार्की......
ॐ श्री गणेशाय नमः
ॐ गण गणपताय नमः
जीवनका कुनै पनि कर्मको सुरुआतका देवता, सफलताका देवता, बुद्धिदायक र बिघ्नबाधा हरणकर्ता देवता श्रीगणेश हुन् ।
श्रीगणेश । मानव शरीर र हात्तीको टाउका भएका गणेशका अनेक नाम छन् । नेपालमा जलविनायक, सूर्यविनायक, अशोक बिनायक, चन्द्र विनायक, १६ हाते गणेश (जमल गणेश), कमलादी गणेश प्रमुख छन् । त्यसो त विश्वभरिका हिन्दु समुदायमा सबैभन्दा बढी मूर्ति श्रीगणेशकै छ । नेपाल त त्यसै पनि मन्दिर नै मन्दिरको देश हो, त्यसैले  सबैभन्दा बढी मूर्ति श्रीगणेशकै छ । श्रीगणेशको पूजा नगरी कुनै पनि कार्य सफल हुन्न भन्ने मान्यताका कारणले पनि श्रीगणेशको मूति बढी भएको हुनुपर्छ । मान्छेको सभ्यता, सफलता र मुलुकको श्रीबृद्धिका प्रत्येक पाइलामा श्रीगणेशको पूजा आराधना हुनेगरेको छ । त्यसो त बुद्धि, विद्या, विवेककी देवी सरस्वती हुन् । विघ्न हरणका देवता श्रीगणेश । श्रीगणेश र सरस्वतीको उचित आत्मसात गर्न नसकेका कारण नेपाल  र नेपालीले पुस्तौंपुस्ता विवेकहीनताको बिघ्न भोगिरहनुपरेको छ ।
सन साठीको दशकमा अफ्रिकामा स्वाधीनताको सुनामी शिक्षकले ल्याएका थिए । नेपालका शिक्षक ज्ञान होइन, झोलामा पार्टीका घोषणापत्र बोक्छन्, राष्ट्रपतिले समेत सरकारसँग नियुक्तीमा कोटा खोज्ने मुलुकमा सुशासनको श्रीगणेश कसरी हुन्छ ?
भाग र कोटा, मेरो मान्छे र मेरो नातेदार, लिलाम बढाबढको अक्षम्य व्याधि नरोकिएसम्म सुशासनको ढोल कौवा कराएको मात्र हो ।
देश देश बन्न व्यवस्थित व्यवस्था चाहिन्छ । लोकतन्त्रजस्तो उत्तम व्यवस्थालाई नगरवधु चलाएजसरी चलाउने राजनीतिक बेश्यावृत्ति नरोकिएकाले नेपाल उमेरले जेष्ठ भए पनि परिपक्व मुलुक बन्न सकेन । सीमा भएरमात्र देश हुने होइन । सीमाको सुरक्षा पनि हुनुपर्छ देश हुनका लागि । देशवासीमा माटोको सुगन्ध फैलनुपर्छ । सीमा थियो, न सिक्किम रह्यो, न क्रिमिया । सीमाको सुरक्षा गर्न नसक्दा १९७५ मा सिक्किम, २०१४ मा क्रिमियाको हरण भयो । सीमा भएर पनि घर, समाज, सहर, शासन, प्रशासन, शान्तिव्यवस्था सबै तहसनहस हुनु भनेको असुरक्षा हो । नेपाली जीवनमा सुरक्षाको अकाल छ । त्यसैले नेपाल अस्तित्वको संकटमा छ ।
चिनियाँ विद्वान वाङ चुनले नेपालको सुरक्षात्मक रणनीति तथा नेपाल–चीन सम्बन्ध भन्ने पुस्तकको पृष्ठ १९ मा लेखेका छन्– आर्थिक दृष्टिबाट हेर्दा भारतले आर्थिक सहयोग, प्रत्यक्ष लगानी तथा असमान सम्झौताका माध्यमद्वारा नेपालको आर्थिक प्राण आफ्नो हातमा लिएको छ । अर्काको हातमा प्राण भएको मुलुक कसरी स्वतन्त्र ?
वैदेशिक रोजगार विभागका सूचनाधिकारी भन्छन्– १०८ मुलुकमा ४२ लाखभन्दा बढी नेपाली युवायुवती वैदेशिक रोजगारीका लागि गएका छन् । तर, २० लाखभन्दा बढी युवायुवती अवैधमार्गबाट वैदेशिक रोजगारीमा गएको र जाने क्रम जारी रहेको पनि उनैले बताए । ३ करोडको हाराहारीमा जनसंख्या भएको मुलुकका ६२ लाख युवायुवती वैदेशिक रोजगारीमा गएका छन् भने नेपालको श्रम र ब्रेनशक्तिको हालत कस्तो होला ? यति गम्भीर विषयमा संसद, समाज, सरकार कतै बहस हुँदैन ।
लियो टल्सट्वायले लेखेका थिए– जुन देशमा विदेशी चलखेल बढी हुन्छ, त्यहाँ जातीय र धार्मिक लडाइ हुन्छ, देश बर्बाद हुन्छ । नेपालमा बढ्दो द्वन्द्व टल्सट्वायले देखेको पछिल्लो तस्वीर हो । हामीमा चेतना छैन ।
भीमनिनिधि तिवारीले लेखेका थिए– राज्यलिप्साले नेता अन्धो हुन्छ, उसले स्वार्थमात्र देख्छ । नेपाल स्वार्थ पन्पिएको अन्धकार देश हो । जहाँ न पहुँचे रवि, वहाँ पहुँचे कवि भनेको हो रहेछ । नेपाल नैतिकहीनताको कारखाना बनिसकेको छ ।
नेपाल जथाभावी, मनपरीतन्त्र चलाउने दस्ताको पकडमा छ । बुद्धि कलमी गरेर देश र जनतालाई होचा, पुड्का बनाउने यो दस्ता निर्णायक छ, बाँकी शासितहरु तिनकै घेराबन्दीमा छन् । यही भइरहेको छ । हरेक मान्छेको अनुहार र औंठाछाप मिल्दैन तर नेपालमा शासक बर्गको चरित्र सधैँ उस्तै छ । समानता खोज्नेलाई दबाइयो, दबाउनेहरु चितवनको पागल ध्रुवे हात्ती बनेका छन् । नेपाललाई खुँखारहरुको खोरिया भनौं ।
पद्धति परिवर्तनको १४ वर्ष पनि पद्धति लोकजीवनमा छैन । शितल निवास, संसद र सिंहदरवारकै वरिपरि फनफनी च्याम्पटी घुमेझैं घुमिरहेछ । गाउँसम्म सिंहदरवार पु¥याउने भनियो, सिंहदरवारको श्रीपेच लगाएर छाडातन्त्र गाउँसम्म पुग्यो, गाउँसम्म अनियमितताको सिस्नोघारी हल्किएको छ । लोकतान्त्रिक सिंह गर्जना म्याउ गर्ने बिरालो  नै रहेछ । जनयुद्ध, जन आन्दोलन, संविधान र संवैधानिक शासन त षडयन्त्रको जालो रहेछ, जुन जालोमा छटपटीमात्र छ । लोकतन्त्रको कल्की झुण्ड्याइदिएपछि जड्याहको खुट्टा जति लरबराओस् न को बोल्ने ? जो बोल्छ, त्यो प्रतिगामी, लोकतन्त्रको बिरोधी ।
होनहार युवाहरु अध्ययनका लागि विदेशीने क्रम रोकिएको छैन । हजारौं सिर्जनशील र श्रमशक्ति लस्कर लागेर दिनहुँ देश छोडिरहेका छन् । ती सबको मुखमा एउटै शव्द हुनेगर्छ– यो देशको भविष्य छैन । यहाँ बसेर के गर्नु, कति रल्लिनु ? गरिखान पाइएन । युवाशक्ति जो आफैमा उर्वर छ, त्यो समुदायको यस्तो तीतो टिप्पणी ? सुन्ने दायित्व कसको हो ? तिनलाई स्वदेशमै केही गर्ने प्रेरणा र वातावरण दिने कसले हो ? परिवर्तन आयो रे, कसलाई आयो परिवर्तन ? जुन पद्धति युवाशक्ति निकासी गरेर धानिन्छ, त्यो प्रणालीका चालकहरु टाउकाका ट्यूमर बिरामी हुन्, दिमागी रुपमा सक्षम छैनन् ।
थिङ्क टेङ्क र राजनीतिशास्त्रीहरुको योभन्दा ठूलो अक्षमता के हुन्छ ?
नेताहरु जतिसुकै सुकिलामुकिला, सुख र सम्पन्नतायुक्त भए पनि जनताको जीवनस्तर झन कष्टकर बन्दैछ । राष्ट्रिय सिर्जना र शक्ति टक्टकिएर र बिरक्तिएर बिदेशीन बाध्य पार्ने दीनहीन मानसिकताको जति आलोचना गरे पनि कम हुन्छ । देश बनाउने खाइलाग्दो, आशलाग्दो मुहार नदेखिनु भनेको वीरको भूमि बाँझो खेत दशीप्रमाण हो ।
सडकमा हुन्जेल संसद भनेको बोकाको टाउको देखाएर कुकुर बेच्ने थलो भन्नेहरुले भनुन्– लोकतन्त्रमा कुकुर बेच्ने व्यवहार किन शुद्ध भइरहेको छ ?
यसरी पनि देशमा शान्ति र समृद्धि, सुखी नेपालीको श्रीगणेश हुन्छ ?
दी टाइम्स अफ इण्डियाले १२ वर्ष अघि नै लेखेको थियो– पुष्पकमल दाहालका बाबुलाई पाउ नै पर्दा पनि साहुले लात्तीले हानेको थियो, त्यो देखेका दाहालको मनमा त्यतिबेलादेखि नै उग्र क्रान्तिकारीको भावना जागेको हो । त्यही पत्रिकाले लेखेको थियो–माक्र्सलाई झैं, पुष्पकमललाई पनि मध्यमार्गी कुकुर हुन् भन्ने लाग्छ । रामपुरको कृषि क्याम्पस हुदै क्रान्तिमा होमिएका प्रचण्डलाई उत्तम खेतीको काल फर्कन्छ भन्ने लाग्छ । प्रचण्डले नै छरेको गोलीबाट भ्रष्टाचार र अनैतिकताको फसल लह लह झुलेको छ देशभरि । तैपनि उनी माओवादी बुर्का र फुर्का छोड्न तैयार छैनन् । टाइम्स अफ इण्डियाकै लेखनमा एकदिन नेपाल बचाउन दिल्लीले सेना पठाउँछ । त्यो दिन नजिकिएको हो त ? यो प्रश्नमा अनेक कोणबाट विश्लेषण गर्न सकिन्छ । किन गरिन्न ?
पूर्वपञ्चका के कुरा गर्ने ? प्रचण्ड पनि हुन्, नेपालमा ५ करोडसम्मका आयोजना चलाउन भारतलाई अनुमति लिनुपर्दैन भन्ने । आज पनि १५ सय आयोजना भारतीय दूतावासले चलाउँछ, नेपाल सरकारलाई यसको गुँजीगाँठो पनि थाहा नहुनसक्छ । किनकि भारत रिसाउँछ भनेर सत्तामा बस्नेहरु झुक्छन्, जानकारी लिन चासो राख्दैनन् ।
चासो राख्ने भए बैंक पद्धति विकास भइसकेको स्थितिमा पनि भारतले गोर्खा सेनालाई पेन्सन बितरण गर्ने नाममा किन नेपालका ३० नाकामा पेन्सन क्याम्प खोलेको छ ? यो पेन्सन क्याम्प हो कि सैनिक क्याम्प ? एयरपोर्ट अवतरण र उडान भर्ने भारतीय विमानहरुमा किन भारतीय सुरक्षा जाँच गरिन्छ ? जाँचकी नेपालमा पस्दा र बस्दा हतियारसहित हुन्छन्, यो खतरनाक छैन ? अरु मुलुकले यस्तो सुविधा माँगे भने नेपालले गर्ने के ? ठूलै सफलता हासिल गरेको आत्मरती गरिरहेका नेपाली नीतिकार र शासकहरु किन नेपाललाई धुलोपिठो बनाउने (पाइरिक भिक्ट्री) खेल खेल्दैछन् ? सुगरकोटेड दिल्लीको हाजमोला चुसेर ग्यास्टिक हुन्न भनेर तीन हात उफ्रिरहेका छन् ? जुन दिन अल्सरबाट क्यान्सर हुन्छ, त्यो दिन इन्दिरा गान्धीले सिक्किम खाएपछि सिक्किमी सांसदहरुलाई यिनीहरु आफ्नै देशका लागि काम लागेनन्, हाम्रो लागि के काम भनेर भेट्दै नभेटी फर्काइएजसरी फेकिनेछन् । ठेस नलाग्दै चेत फिर्नुपर्ने हो, जगाउने कसले ?
पुस्तकहरुमा लेखिएको छ– भारतका महात्मा गान्धी जब दर्जनौं सुन्दरीहरुसँग एकै ओछ्यानमा सुतेर ब्रम्हचर्याको आत्मपरीक्षा दिइरहेका थिए, त्यतिबेला उनले आफ्नी परम सेविका कस्तुरवालाई समेत बिर्सिए । अहिले नेपाली नेताहरुको सम्पन्नता यतिबिघ्न बढेको छ कि उनीहरुले श्री ३ हरुका भ¥याङ मुनी बीसओटा, भ¥याङमुनी तीसओटा भन्ने कथनलाई पनि मात गर्दै सेवकको धर्म बिर्सिएका छन् । गान्धीले आफूले आफैलाई जिते, हाम्रा नेताहरु आफैसँग पराजीत भइरहेछन् । भारतमा गान्धी महात्मा बने, यी नाली हुन् । महात्मा गान्धी बापु बने, यिनले मर्दा मलामीसमेत नपाउन सक्छन् । किनकि उनी सादगीका शिक्षक बने, यिनीहरु सामन्त र शोषणलाई सफलता मानिरहेका छन् ।
नेपालकैजस्तो नियतिमा थिए कुनै दिन सिंगापुर र ताइवान ।
एउटा शासक– लीक्वान यु सिंगापुरलाई सपार्छु भन्ने इच्छाशक्ति लिएर अगाडि आयो । युवालाई साथ लिएर उनले सुशासन र निर्माणको त्यो नमूना देखाए, आज सिंगापुर एसियाको युरोपमा गणना हुन्छ । २०१५ मार्च २३ का दिन उनी मरे, तर विश्वको आँखामा आँसु झारेर मरे । नेता मर्नु त यसरी पो मर्नु, संसार रुवाएर मर्नु । लीक्वान यु निरङ्कुश थिए, तर संसारले उनीप्रति हार्दिक श्रद्धाञ्जलीका फूल चढायो ।
३ दशक अघिसम्म ताइवान, अराजकताको आँधी थियो । हरेक दिन हाहाकार । त्यसपछि एउटा विचारले महत्व पायो, प्रिन्स्टन र अन्य विश्वविद्यालयका होनहार युवाहरुलाई सल्लाहकार बनाएर शासन अघि बढाइयो । युवा लागेपछि नबन्ने के रहेछ, ताइवान सम्पन्न र सुशासित भयो । आज ताइवान सम्पन्नताको तारा हो ।
नेपाल बिग्रेको युवालाई पन्छाएर हो, युवालाई पार्टीको झोला बोकाएर, नाराबाजी गर्न मात्र सिकाएर हो, युवाले हरेक क्षेत्रमा क्षमताअनुसारको नेतृत्व गर्ने अवसर नपाएर हो । नेपालको तस्वीर असिना परेको गोबरको जस्तो बन्नुको कारण यही हो । नेपालमा नीति, प्रकृति, वीरता, बुद्धि सबै छ तर दुरुपयोगले नेपाल नाङ्गो उदाङ्गो छ । सुनको थालमा माँगेर भीखमा बाँच्ने विश्वको एकमात्र मुलुक नेपाल हो । सम्पन्न भएर पनि रेमिटान्सले बाँचेको मुलुकमा सुख, शान्ति र समृद्धि एकादेशको कथा हो ।
राष्ट्रका भविष्यद्रष्टाहरु यतिसम्म संवेदनहीन छन्, एमेनेष्टी, विश्व बैंक, एडीबीका रिपोर्टहरुमा नेपाली श्रम विश्वमै सस्तो, दासको जस्तो भन्दा पनि सुनिरहन्छन् । हरेक दिन शोषणको भारले थिचिएर मरेका लाश आउँछन्, हाँसिरहन्छन् । कलेजहरुबाट बेरोजगार उत्पादन गर्ने, तिनलाई पार्टीका नारा लगाउने कार्यकर्ता बनाउने अनि स्वदेशका उद्योग बेचेर बेरोजगार बनाएर निकासी गर्ने जस्तो लोकतान्त्रिक नमीठो वातावरणमा चिल्लो, मीठो भाषण गरेर भ्रष्टाचार बढाउने राजनीतिक माफिया खेती निर्वाध चलिरहेको छ ।
तरुनी उमेरका विदेश जान्छन्, कति उतै मर्छन्, कति यौन बेचेर पेट भर्छन्, कतिपय महिलाहरु पागल बनेर, दुईजीउकी भएर, बच्चा च्यापेर फर्किरहेका छन्, कति युवा विदेशको जेलमा, सडकमा, अलपत्र परेका छन्, सरकारलाई खबर छ, बोल्दैन । किनकि सरकार सरकारजस्तो होइन, व्यवसायी जो बनेको छ । देशको युवाको बेहाल भनेको देशको अस्तित्व सतित्वको बेहाल हो भन्ने कोही सोच्दै सोच्दैनन् ।
बिगार्ने तन्त्रले कि व्यक्तिले ? हिजो पञ्चायतले बिगा¥यो, त्यसपछि बहुदलले बिगा¥यो, अहिले लोकतन्त्रले बिगार्दै छ । विश्वको शासन व्यवस्थामा लोकतन्त्रको दाँजोमा कुनै तन्त्र छैन । तर नेपालमा लोकतन्त्रको यतिसम्मको बेहाल ? कोही जिम्मेवारी लिदैनन् ।
थाकेका छैनन्, कति हेर्नु खप्नु नक्कली मयुरहरु नाचेको ?
निकास एउटै छ– नैतिकवान र इमानदारको खडेरीले देशको शासन व्यवस्थाका आधारहरु चरचरी चिरिन थालेका छन् । २० देखि ३० वर्षसम्मका युवाहरु प्रशासनमा, ४० वर्षसम्मका युवाहरु राजनीतिमा आउनुपर्छ । प्राकृतिक श्रोत पर्याप्त छ, त्यसमा बौद्धिक श्रोत र युवाश्रमको लाली चढ्नुपर्छ । अपराध जसले गरोस्, छिटो छरितो कानुनी डण्डा चल्नुपर्छ । युवा आधार खडा गर्न जनजागरुकता देखिनुपर्छ, युवालाई अवसर दिनुपर्छ । अनि देशले काँचुली फेर्छ । देशको अस्तित्वरक्षाको श्रीगणेश हुनसक्छ । नेपाल त्यो श्रीगणेशको प्रतिक्षामा छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper