banner
banner

जनता योग्य अभिभावकको खोजीमा

जीवन्त बिम्ब जयराम बिडारी, थानकोट-----
कुनै समयमा नेपालमा एउटा नारा लाग्ने गर्दथ्यो ‘सन् १९५० को सन्धि खारेज होस् ।’ जुन पार्टीको अगुवाइमा यो नारा नेपालमा लाग्ने गर्दथ्यो आज त्यहि पार्टीका नेता यो देशको कार्यकारी सहितको प्रधानमंत्री हुनुहुन्छ । पार्टी अध्यक्ष छन् । यो कुरा उठाउँदैनन् ।
त्यो सन्धि यसकारण खारेज गरिनुपर्छ भनिन्थ्यो कि त्यो सन्धि असमान सन्धि थियो । वि.सं २००७ श्रावण १६ सोमबार ३१ जुलाई, १९५० मा नेपालका प्रधानमन्त्री मोहनशम्शेर जबरा तथा नेपालको लागि भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंह द्वारा हस्ताक्षर गरिएको यो सन्धिमा नेपाल तर्फबाट प्रधानमंत्री र भारतीय सरकारका तर्फबाट एक सचिव स्तरीय कर्मचारीले हस्ताक्षर गरिएको दस्तावेज कसरी समान सन्धि हुनसक्छ ? दुइ सार्वभौमिक राष्ट्रका बीचमा हुने सन्धि सम्झौताहरुमा समान स्तरका प्रतिनिधिहरुको हस्ताक्षर हुनुपर्छ । प्रोटोकलको असमानता एवं अनावश्यक हस्तक्षेपको आधारमा बिचार गर्दा हरेक राष्ट्रको आ–आफ्ना स्वार्थ हुने गर्दछन् जसलाइ अस्वभाविक मान्न मिल्दैन । तर ती स्वार्थका बीचमा वार्ता गर्ने एउटा निश्चित बिधि र प्रक्रिया हुन्छन् । एकले ती प्रकृयामा पालन गर्नुपर्ने बिधिहरु पुरा गरिएन भने त्यसलाई हस्तक्षेप भनिन्छ र त्यसको पनि शालिन ढंगमा वा आवश्यकताको सिद्धान्त अनुसारप्रतिबाद गरिनुपर्दछ ।
भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त कुमार गोयल र हाम्रा प्रधानमंत्री केपी ओली बीचमा गरिएको भेट यस्तै कुटनीति बिधि र प्रकृयाको बेमेलको रुपमा सर्बत्र बिबाद र आलोचनाको बिषय बनिरहेको छ । नेपाल र भरतका बीचमा नेपालले जारी गरिएको चुच्चे नक्शा प्रकाशन पछि असमझदारीहरु देखिएको छन्, दुइ देशका बीच बिवाद मात्र नभएर सम्बादहिनताको अवस्था पनि छ । यदि त्यहि संबादहिनतालाई चिर्न खोजिएको हो र नयाँ अध्याय सुरु गर्न खोजिएको हो भने पनि त्यसमा पनि कुटनीतिका बिभिन्न चरणहरु छन् । भारतका खुफिया एजेन्सीका प्रमुखले नेपालका राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख (दुवै समकक्षी पनि हुन् ) संग भेटवार्ता गरिएको भए कसैले यो बिषयमा बिवाद गर्र्दैनथ्यो । यहाँ राष्ट्रबादको दुहाइदिने सरकार प्रमुखले अर्को देशको सचिवस्तरीय कर्मचारीसँग किन र के का लागि भेटघाट गरेका हुन् ? के सन्देश दिन खोजेका हुन् ? आकारको कुरा होइन, हैसियत समान हुनुपर्छ । यो कूटनीति होइन, षडयन्त्र हो, षडयन्त्र ।
सारा बिश्व कोरोनाले आक्रान्त बनिरहेको बेला अर्थतन्त्र खस्किनु नौलो कुरा होइन । सारा बिश्व महामारीको सामना गरेर अघि बढिरहेको बेला, गरिब जनताहरु रोग र भोकको शिकार भैरहेको बेला, यो देशको सम्माननीय प्रधानमन्त्री खुलेआम भारतीय रअका गुप्तचरलाई भेटेर ‘शिस्टाचार भेटघाट’ को नाम दिन्छन् भने अब भन्नुस् ती प्रधानमन्त्री राष्ट्रघाती हुन् कि हैनन् ? कुनैपनि देशका प्रधानमन्त्रीले बिदेशी गुप्तचरलाई कि त संकटकालमा भेट्ने गर्छन् कि त लडाईँको समयमा मात्रै, तीन करोड जनतालाई मुर्ख बनाएर यसरी दिनदहाडै भारतीय रअसँग प्रधानमन्त्रीले के कारणले भेटे ? जनतालाइ जानकारी गराउनु आवश्यक छ ।
भारत मौन छ, बीच बचाउका लागि भारतीय प्रधानमन्त्रीका विशेष दूतको पगरी भिराइएको छ रअका प्रमुखलाई । रअ का प्रमुखसँग प्रधानमन्त्रीले गोप्य भेटघाट गर्नु भनेको गम्भीर विषय हो । हुनसक्छ दुइ देशका बीचमा कतिपय महत्वपूर्ण बिषयमा तत्काल समाधान गरिनुपर्ने बिषयबस्तु पनि होलान् तर त्यसका लागि कुटनितिक च्यानलहरुको उचित प्रयोग गरिनु पर्दथ्यो । त्यसैले त दुबै देशमा राजदूतको व्यवस्था पनि छ । नेपालले चुच्चे नक्शा जारी गरेपछि द्विपक्षिय बार्ताको वातावरण मिलाउनका लागि भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले प्रधानमंत्री मोदीसँग भेटका निमित्त ३ पटक प्रयास गर्दा पनि समय पाएनन् । परराष्ट्र मनत्री भेट्न ३ महिना लाग्यो । यो परिप्रेक्षमा रअका प्रमुखसँग नेपालका प्रधानमंत्रीले किन र के का लागि कूटनितिको सीमा नाघेर भेट गरेका हुन् ? त्यसैले के बिश्वस्त हुन् सकिन्छ भने हामीले २००७ सालदेखि हालसम्म प्राप्त गरेका भनिएका उपलब्धिहरु हाम्रा बिकारु नेताहरुले रक्षा गर्न सकेनन् ।
(१) हज्जारौं सेनाले घेरीएका राजा बिरेन्द्रको बंश नाश भयो तर माओवादीका ठूला भनिएका नेताहरु पुरै द्वन्दकालमा सुरक्षित रहे यसबाट पनि यिनिहरुलाइ संरक्षित गरिएको थियो भन्न सकिन्छ ।
(२) रअ प्रमुखले राष्ट्र प्रमुखलाई भेंटे भनेर बिरोध गर्नुको अर्थ छैन । उनीहरुको आफ्नो स्वार्थ, उद्देश्य पुरा गर्नका लागि भेटिहाल्छन् । सवाल विवेकको थियो ।
(३) भारतीय रअ जस्ले अरुको मुलुकको सुरक्षा सूचना भारतको स्वार्थ अनुसार प्राप्त गर्छ । आवश्यक परे कसैको हत्या, नरसंहार गराउँछ । अरुको मुलुकको सुरक्षा सूचना पत्ता लगाई आक्रमणका योजना बनाएर भारतीय सुरक्षा चासोमा बल पु¥याउँछ । त्यस्तो एजेन्सीका अधिकारी भेट्नु अनुचित कार्यको पराकाष्ठा हो ।
(४) भारतीय रअ का पूर्ब प्रमुख अमर भुषणले प्रचण्डलाई आफैले संचालन गरेको भनेर आफनो जिबनीमा लेखेका छन । हामीले नेता मानेका प्रचण्ड बाट कहिं कतै त्यसको आधिकारिक खण्डन भएको छैन । मौनम् स्विकृति लक्षणम हो । १७ हजार निर्दोषको हत्या गराएर पुरै राष्ट्र तहश नहश बनाउनु, राजसंस्थाको बिस्थापित गरिनु हाम्रा स्वार्थ र चासो थिएन, यो सबै ग्राइण्ड डिजÞाइन थियो ।
(५) माओवादी शसस्त्र युद्धकाल भरी प्रचण्ड बाबुराम भारतमा बस्नु र भारतीयहरुले बेला बेलामा हामीले पालेका भन्नु तर यिनीहरुले प्रतिबाद नगर्नु भारतीय सेनाले प्रचण्डको सुरक्षा दिएर नेपालीलाई बलीको बोको बनाउनु के हो ?
(६) नेपालमा राजतन्त्रको अन्त्य भएपछी भारतीय रअ का मान्छेहरु मिडियामा देखिने गरेर नेपाल आउनु यो दादागिरी हो किनकी नेपालमा तिनैका एजेन्टले सरकार घेरेका छन् । यस अर्थमा नेपालले जारी गरेको चुच्चे नक्शामा समेटिएका नेपालको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा एवं समग्र बिवादित सिमा सम्बन्धि बार्ता गर्नका लागि नेपालको पटक पटकको कुटनीतिक आग्रहलाई कोरोनाको बहाना बनाएर टार्दै राख्दै आएको भारत सरकारले कुन स्वार्थका लागि नेपाल माथि दवाव दिइरहेको हो वा नेपालका प्रधानमन्त्रीले के खिचडी पकाउँदैछन् ?
(७) जनयुद्धमा प्रयोग गरिएको हतियार विशेष गरि इन्सास भारतमा निर्मित हतियार हो । यो कसरी नेपाल भित्रियो ? यसको उत्तर नेपाली जनताले किन नपाउने ? जस्को प्रयोग नेपाली माओबादीले प्रयोग गरेर यहाँ रगतको होली खेलियो । ट्रकका ट्रक हतियार कसरी रोल्पा पु¥याइयो ? जानकारी कस्ले गराउने ?
पूर्व राजा ज्ञानेन्द्रले दशैको अवशर पारेर दिनुभएको शुभकामना संदेशमा ‘सरकारको रवैयाका कारण नेपाली जनता अभिभावकविहीन बन्न पुगेको निष्कर्ष निकाल्नु भएको छ’ । बास्तवमा अहिले नेपाली जनता योग्य अभिभावकको खोजीमा छन् । नेताहरुबाट त्यो खालको अभिभावकीय दायित्व पुरा हुने लक्षण नदेखिनुनै जनतामा बढेको निराशाको कारण हो । अभिभावक बिहिन देशले कहिल्यै प्रगति गर्न सक्दैन । कुनैबेला माओवादीहरु तत्कालीन सरकारलाइ बिश्वास नगरेर राजा ज्ञानेन्द्रलाइ देखाउंदै सिधै मालिकसंग बार्ता गरिनेछ भन्थे । यी को हुन्– हाम्रा प्रम ओली र भारतीय रअ प्रमुखको भेटबार्ताले प्रमाणित भएन र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper