banner
banner

कोरोना र आगो उस्तै उस्तै

गंगा दहाल---
कोरोना र आगो उस्तै रहेछ । आगोले डढाउँछ र मार्छ, कोरोनाले गलाउँछ र मार्छ । दुबै महामारीबाट बच्ने र बचाउने समय हो यो ।
महाभूकम्प आयो, त्यसपछि बाढी र पहिरोले पनि हामीलाई धेरै थिच्यो, जनधनको ठूलै नोक्सानी भयो । अव कोरोना महामारी फैलिएको छ, सरकारको कमजोरी, नागरिकको असावधानीका कारण कोरोना भाइरस समुदायमा पसिसक्यो । फैलिसक्यो । यसकारण यो समय सरकारको गम्भीरता, नागरिकको संचेतनाको मिलाप हुनसकेन र सामुहिक रुपमा कोरोनासँग लडेनौं भने कोरोनाले सोत्राम पारेर मार्ने पक्का छ ।
हाम्रा कमीकमजोरी र हेपाह प्रवृत्तिका कारण बढ्दो कोरोना प्रकोपको अध्ययन गरिरहेको विश्व स्वास्थ्य संगठनले समेत भनिसक्यो– आउने महिना नेपालमा एकलाखको मृत्यु हुनुसक्छ । नेपाल कमजोर छ, गरीव छ, व्यवस्थापन राम्रो छैन, अनुशासन कुनै क्षेत्रमा पनि कायम छैन, त्यसैले एकलाखको संख्यामा नागरिकले मृत्यु बरण गर्नुप¥यो भने त्यो दृश्य कति कहालीलाग्दो हुनसक्छ ? कल्पना गरौं र सरकार, विश्व स्वास्थ्य संगठनको सुझाव अनुसार हामी आफै पनि सचेत र सतर्क रहन थालौं । समुदायमा कोरोना भाइरस फैलिसकेको छ, त्यसलाई न्यूनिकरण गर्न असफल भए मृत्युबरण हुनेछ ।
देशको सैनिक प्रमुख नै आइसोलेसनमा गइसके । गृह, रक्षा र स्वास्थ्यमन्त्रीसमेत आइसोलेसनमा गइसके । सम्पर्कमा त प्रधानमन्त्री पनि आएका थिए, धन्न बिरामी प्रधानमन्त्रीलाई कोरोना सल्केको रहेनछ । कोरोनाबाट बच्नु र बचाउनका लागि हरेक नागरिकको कर्तव्य हुनजान्छ कि सचेत हौं, संचेतना बढाऔं । अलिकति मात्र कमजोरीले एकजनामा सर्नसक्छ र एकजनाबाट जतिलाई पनि सल्किदै जानसक्छ । यहीकारण सबैले कोरोना नसार्नका लागि सावधान हुनुपर्छ । कोरोनाले सानो–ठूलो नहेर्ने रहेछ । जातपात जान्दोरहेन छ । कमजोर र बलवान पनि भन्दोरहेनछ । धनी र गरीव भनेर छ्यानब्यान पनि नगर्ने रहेछ । कहाँबाट सर्ने, कसलाई सर्ने यसको कुनै लेखाजोखा पनि नहुनेरहेछ । कोरोनाका लागि जसरी आगोका लागि सबै बराबर हो र आगोको धर्म खरानी बनाउनु हो, कोरोनाको धर्म पनि जसलाई पनि सर्ने र सखाप पार्ने रहेछ । कोरोनाका लागि सबै बराबर रहेछ । अवसर पायो कि कोरोना सर्ने र सरेको व्यक्तिलाई नछाड्ने रहेछ । यसकारण मान्छेले आफ्नो रक्षा आफै गर्नुपर्छ, अरुको रक्षाका लागि सावधानी अपनाउनु पर्नेरहेछ । एकबाट अर्कोमा सर्नु भनेको समुदायलाई मृत्युको खाडलमा झोस्नुरहेछ । हुन त निको हुनेको संख्या पनि धेरै छ । औषधिले निको भएका होइनन् । यो जसलाई कोरोना सल्क्यो, उसको शरीरको इम्युनिटी शक्ति मजबुत भएर कोरोना परास्त भएको हो । उसभित्रको बाँच्छु भन्ने हिम्मत र आँत दह्रो भएकाले निको भएको हो । निको हुनु सदाका लागि होइन, असावधानी भयो भने फेरि पनि कोरोना सर्नसक्छ । कोरोनाको खोप आजसम्म निस्केको छैन, कहिले निस्कन्छ र नेपालमा प्राप्त हुन्छ, भन्न सकिन्न । यद्यपि चीन, रुस र बेलायतले नेपालमा पनि परीक्षण गर्नेछन् । जेहोस्, खोप निस्कला, यसका लागि समय लाग्नेछ । यो समय भनेको आपूm बाँच्ने र अरुलाई बचाउने समय हो । बच्ने र बचाउनका लागि मुख्य उपचार भनेकै सावधानी हो । सबैले साबधानी अपनाऔं । एउटा खुशीको खबर, रुसका राजदूतले नेपाललाई प्राथमिकतामा राख्न र खोप दिन सकिने आश देखाएका छन्, यसबारे सरकार गम्भीर होस् । मास्क लगाउन नछोडौँ, भौतिक दूरी कायम गरौँ र घण्टा घण्टामा साबुन पानीले हात धोऔँ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper