banner
banner

विदेशपरस्त नेतालाई विश्वास गर्दा भूमि गुम्यो

निगमकुमार कार्की – हाल कतार । -
जनसेवक भनेर छानेका नेताहरुले देशभक्तिमा इमान नराख्दा आज देश दुखेको छ, देश लुटिएको छ, देशमा विदेशी बुट बजारिदैछ ।
कालापानी, लिम्पियाधुरा, लिपुलेकजस्ता हाम्रा अजस्रस्रोत, हाम्रो छाती, हाम्रो पहिचान नेपालमाथि भारतले नङ्ग्रा गाड्यो । अझै नेताहरु भारत रिसाउला कि भने अन्यौलमा छन् ।
देश बचाउने सरकारले हो, जनताले सरकार बनाएकै देशका लागि हो ।  जनता चनाखो हुनुपर्छ, भएका छन् । नेतृत्व विदेशीका सामु दलाली गर्न थालेपछि यस्तो स्थिति आउनेरहेछ, जुन आज नेपाली भूमि, नेपाली जनता जबरजस्ती भारतीय बनायँदैछन् ।
नाकावन्दी एउटा युद्ध थियो, अतिक्रमण गरेर भारतले अर्को युद्ध घोषणा गरेको छ । भारतले नेपालीको नाडी छामेको हो, हामी चुप लागेर बस्यौं भने नेपालै खाइदिनेछ ।
चेतना र जागरुकता, जुधारुपन र अस्तित्वका लागि नेपालीहरु अव नेतृत्वकोमात्र भर परेर हुन्न । आज नउठे कहिले उठ्ने ? नेपालीत्वका लागि नलडे कहिले लड्ने । नेता र सरकारहरुलाई बाध्य पार्न जरुरी छ । गोर्खाली पहिचान बचाउने समय यही हो ।
देश भित्रकै स्वदेशी दलाल, अपराधि, देशद्रोही, राष्ट्रघाती नेताबाट धोका भएको छ । देशका भूभाग लुट्र्ने विदेशी दलालसँग हाम्रा देशद्रोहीको तन, मन, विचार र शक्ति कसिलो हुनाले नै परचक्रीले यसरी हमला गरेको हो ।
भाषण गरेर महान राष्ट्रवादी बन्न चाहने यिनै छन् । आज राष्ट्र संकटमा फसेको बेलामा यिनीहरु मौन बस्छन् । राजनीतिक, कूटनीतिक र सबै माध्यमबाट देश बचाउने जिम्मेवारी, जवाफदेहीता पूरा गरेको खोई । सच्चा देशप्रेमी राष्ट्रका खम्बा हुन् । ती खम्बाहरु नेतृत्व तहमा देखिन छाड्यो । देशभक्तले मातृभूमिका लागि ज्यान दिन्छन्, हाम्रो नेतृत्व त जुका प्रवृत्तिको छ, जो जनता र देशलाई अझै चुसिरहेछन् । देशको टुक्रा गइसक्यो, साँध सिमाना मिचिने काम भइसक्यो, बचाउन अग्रसर छैनन् ।
राष्ट्र अहित कदमले हृदयमा असह्य वेदना सच्चा राष्ट्रभक्तलाई मात्र हुन्छ । राष्ट्रभक्त राष्ट्रका लागि मर्न तैयार हुन्छन्, अतिक्रमण सहदैनन् ।
राम्रो काम गर्ने, राम्रो काम भएकोमा प्रशंसा गर्नैपर्छ, देशमा गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र आयो, देश नै असुरक्षित पो हुनपुग्यो । यसखालको लोकतन्त्रको प्रशंसा कसरी गर्ने ? यो लोकतन्त्र होइन, सराप हो सराप, सरापबाट मुक्ति खोजौं ।
भक्ति थापाको देश गोर्खालीको नामले आज पनि चर्चित छ । यस्तो देशको सिमाना मिचिने ? अचम्म ? यसको अर्थ पुर्षाले बचाइदिएको देशलाई हामीले बचाउन सकेनौं । हाम्रो शरीरमा रगत होइन, पानी बगेको छ । गौरव होइन, दलाली भरिएको छ ।
वीर, बहादुर नेपाली भन्न अव गाह्रो छ । दुःखका साथ भन्नैपर्ने हुन्छ, नेपाल त भ्रष्टाचार र दण्डहीनताको मुलुक पो बन्नपुग्यो । आज सडकभरि देशभक्तिका गाथा गुञ्जनुपथ्र्यो, सत्ताधारीले कूटनीतिक हिसावले र अन्य राजनीतिक, नागरिक समाज, बुद्धिजीवीहरुले सडकका माध्यमबाट सिंगो नेपाल जुरुक्कै उचालिनुपथ्र्यो । ताकि भारतको सातो जाओस् । नेपालीले रगत बगाएर भारतको स्वतन्त्रता संग्राममा ज्यान अर्पेर तिनलाई प्रजातान्त्रिक मुलुक बनाइदिए, आज त्यही भारतले नेपालमाथि यतिसम्मको आक्रमण, अतिक्रमण गर्न अग्रसर भयो । त्यो भारतलाई सबक सिकाउने बेला यही थियो । यो मौका राजनीतिक नेतृत्वले गुमाउन थालेका छन् ।
नेपाली जनता तिनै देश डुवाउने भ्रष्टाचारी नेता विरुद्ध सडकमा नआउँनु, लाचारी बन्नु नागरिक हैसियत भुल्नु र सडकमा उभिन नसक्नु ठूलो कमजोरी हो ।
 सडकमा आएर आफ्नो आवाज उठाएर विश्वलाई नेपालमाथिको यो अन्यायका बारेमा बताउन नसक्नुले हामीले देशप्रति अपराध गरिरहेका छौं भन्ने हरेक नेपालीले बुझ्न नसक्नु अवचेत र दुर्भाग्य घटना हो । नेतृत्व चुक्यो भन्दैमा नागरिकले कर्तव्य भुल्न हुन्न, नागरिक संचेतन हुनैपर्छ ।
नेपाल र नेपालीको अस्तित्वसंग खेलवाड गरी राष्ट्रघात गरेर पद र पैसा आर्जन गर्ने विदेशीका एजेण्टहरुलाई चिन्नैपर्छ र तिनलाई जनताले दण्ड दिनैपर्छ । अव देशघातक अपराधीहरुलाई दण्ड नदिए मातृभूमिको भार लाग्नेछ । आउने पुस्ताका लागि समेत उदाहरण हुनेगरी देशवाद नै नेपाली राजनीति हो भन्ने मान्यता स्थापित गर्नसमेत यही मौकामा जनताले एकता र शक्ति प्रदर्शन गर्न जरुरी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper