banner
banner

चुनावबाट नै हो हिटलर जन्मेको

राजन कार्की -
 
चुनावबाट नै हो हिटलर जन्मेको, चुनावमा जनताको नारा दिएर चुनावपछि निरंकूश, चरित्रहीन हुने परम्परा नेपालमा पनि दोहोरिन पुगेको छ । ओली सरकारमा चरित्रहीनहरुको कमी देखिएन । अधिनायकवाद त देखियो, हिट्लरपथमै हिड्ने संकेतहरुसमेत देखिएका छन् । जुन लोकतन्त्रका लागि खतरा हो ।
बेलायतमा राजा जोनको समय थियो । जनताले दुःख पाएको उनले कहिल्यै देखेनन् वा देखेर पनि बेवास्ता गरे । अति भएपछि जनताले रन्निमिड भन्ने ठाउँमा गएका बेलामा घेरा हालेर छाड्दै छाडेनन् । सन १२१५ को जुन १५ को दिन थियो, यही दिनमा जनताले राजालाई झुकाए र जनअधिकार अर्थात म्याग्नाकार्टामा सही गर्न बाध्य पारे । यही म्याग्नाकार्टा आज पनि बेलायतको संविधानसरह संसद, अदालत, प्रशासन सबैतिर सर्वमान्य छ । रोबर्ट ब्ल्याकबर्न यो पद्धतिको ब्याख्याता हुन् ।
अर्थात इमान, नैतिकता र जवाफदेहीता नै बेलायतको संविधान हो । यही तीन तत्वप्रतिको आत्मविश्वासका कारण न राजनीतिमा छाडा साँढेले सखाप पार्छ, न प्रशासनमा जंगली ध्रुवे हात्तीकै महामारी देखिन्छ । नैतिक लक्ष्मण रेखा नै बेलायतको संविधान हो ।
देश सम्पन्न हुनका लागि लिखित संविधानले मात्र नहुने रहेछ । १७७६ मा स्वतन्त्र भएको अमेरिका आज विश्वशक्ति बनेको छ । १७८९ मा जर्ज वाशिङ्टन राष्ट्रपति बनेका हुन् । १८६५ मा आएर अब्राहम लिंकन राष्ट्रपति बनेपछि जनताका लागि, जनताद्वारा, जनताले नै शासन गर्ने पद्धति अर्थात प्रजातन्त्रको परिभाषालाई विश्वव्यापी गराउन सफल भए । रक्तपातपूर्ण जनक्रान्तिको रोकेर दासप्रथाको समेत अन्त गर्ने नैतिक साहस देखाए, संवैधानिक र राजनीतिक संकटको अन्त गरे । संघीय शासनलाई बलियो बनाए र आधुनिक अर्थतन्त्रको जग बसाले । आज अमेरिका विश्वशक्तिका रुपमा स्टाच्यू अफ लिबर्टी बनेर उभिएको छ ।
त्यही जगमा जर्ज डब्लु बुस, क्लिन्टन, ओवामाजस्ता राष्ट्रप ितबने । आज ४५औं राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प छन् । लामो समय अमेरिकाका राष्ट्रपति बनिसकेका बुस, क्लिन्टन, ओवामाहरु काम गरेर परिवार चलाइरहेका छन् । इमान र नैतिकताले बिधि ज्यूँदो राख्ने रहेछ र बिधिले प्रजातन्त्र चल्ने रहेछ । समृद्धि र सुशासन, जनतालाई आत्मसुख दिने साँचो नेतृत्वमा रहेको इमान रहेछ ।
नेपाल सधैं स्वतन्त्र रह्यो, जेठो मुलुकहरुमध्येको हो । १७७६देखि १९०१ सम्म बंशराज पाण्डेलगायतका ८ प्रधानमन्त्री स्तरमा रहे । १८०३ मा दामोदर पाण्डेदेखि आजसम्ममा ३८औं प्रधानमन्त्री हुन केपी ओली । लोकेन्द्रबहादुर चन्द ४ पटक, गिरिजाप्रसाद कोइराला ५ पटक, शेरबहादुर देउवा ४ पटक, प्रचण्ड २ पटक, केपी ओली २ पटक, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई एक एक पटक र खिलराज रेग्मी एकपटक प्रधानमन्त्री बनेका छन् ।
स्वतन्त्र भएपछि अमेरिका विश्व मालिक बनेको छ, त्यत्तिकै समयमा सदा स्वतन्त्र रहेको नेपाल मगन्तेबाट माथि उठ्न सकेन । भर्खरै भारतका विदेश मन्त्री आए, आश्वासन दिएर गए, चीनका विदेशमन्त्री आए ५० हजार थान त्रिपाल र ३५ करोडको एउटा जिल्ला अस्पताल बनाइदिन्छु भनेर गए । यत्ति दृष्टान्तबाट थाहा हुन्छ, नेपाल सरकार समृद्धि नेपाल र सुखी नेपालीका लागि भिजनबिहीन छ । यही महिना चीनका राष्ट्रपति आउने भएका छन्, चर्चा चलेको छ– उनले के उपहार देलान् ?
हामी बुद्धको निर्वाणा के हो भनेर जान्दै नजान्ने बुद्धु हौं । युवा निकासी गरेर विदेश बनाउन सक्ने, विदेशीका लागि छातीमा गोली थाप्न सक्ने नेपाली, नेपालका लागि रेमिटान्स पठाएर नुनतेलको जोहोमात्र गर्न सक्छौं । अरुका लागि मर्न सक्छौं, देशका लागि केही गर्न सक्दैनौं । किनकि हाम्रो नेतृत्व शक्ति र सम्पत्तिको आडमा चुनाव जित्छ र चरित्रहीन बन्छ । चरित्रहीनलाई के इज्जत, के बेइजत ?
लिंकन (प्रजातन्त्र)को अनुहारमा लेण्डुप, समृद्धिको अनुहारमा किर्ना, सुखको अनुहारमा सकस र जनताको शरीरमा जुका बनेर चुस्न जान्ने नेतृत्व रहेसम्म नयाँ नेपाल रत्नपार्कका चटक देखाएर भ्रमित पार्दै काठको धुलो बेच्ने तमासामात्र हो । तमासा देखाउने चटकेलाई हामी देवदूत मानिरहेका छौं । भोगटेको चस्मा नमिल्काएसम्म नेपालमा बिधिको शासन, इमान र नैतिकता यसैगरी कुल्चने काम भइरहन्छ । देश चारुदेव हो, आज बेइमान र नैतिकहीनहरुबाट चारुदेव समेत कहाल्लीरहेको छ ।
प्रजातन्त्रलाई लोकतन्त्रको नामाकरण गरेर हामीलाई लोकतन्त्रको चिनी चटाउने काम भइरहेको छ । लोकतन्त्र लोकतन्त्र भनेर घोक्दा घोक्दा, चाट्दा चाट्दा हामीलाई सुगररोग लागेको छ । हामीले बुझ्नैपर्छ– सुगरका रोगीलाई सुँगुरको बिष्ठाको इन्सुलेन्स जडी ओखती हो । सुगररोगले किड्नी फेल पार्छ र सुगररोग घटाउन सकिएन भने अपरेसशन गर्नै हुन्न र मरिन्छ । किड्नीका बिरामी सबै प्रधानमन्त्री बन्न सक्दैनन् । सबैका लागि दैनिक १५ हजारको पानी र भारत, थाइलेण्ड, सिंगापुर, अमेरिकाको औषधिमूलोको सुविधा पनि मिल्दैन । सुगररोग बिग्रेपछि क्यान्सर हुन्छ र जुनसुकै क्यान्सरको किरा मार्न बिच्छीको डङ्क मार्नु पर्ने हुन्छ । स्मरणरहोस्, कोब्राको विष केमोथेरापीको बिकल्पहीन ओखतीको कच्चा पदार्थ हो ।
नेपालको आर्थिक, सामाजिक र राजनीतिक ढाडमा सुगररोगमात्र होइन, क्यान्सर भइसकेको छ । बसाइसराइ, जन्मदर्ता, मृत्युदर्ता, कुनै पनि सिफारिसमा समेत व्यापक कर उठाएर ७ सय ६१ सरकारका ३५९२४ जना जनताको सेवा गर्छु भनेर चुनिएका जनप्रतिनिधिको तलव, भत्ता, सेवा, सुविधामात्र दिइरहेका छैनौं, विशिष्ट श्रेणीदेखि राष्ट्रपति भइसकेका व्यक्तिको भरणपोषण समेत आमनागरिकले तिरेको राज्यकोषबाट खर्च गरिरहेका छौं ।
कहाँ छ नीति, नैतिकता र इमान ? यी ३ तत्वको अभाव छ ।
सेवा गर्छु भनेर चुनाव जित्ने अनि चरित्रहीन हुन मिल्छ ?
भाषण सुशासनको, शासन दुशासनको । कुरो अर्जुृनदृष्टिको, व्यवहार अन्धा धृतराष्ट्रको । आफूलाई युधिष्ठिरका रुपमा देखाउने, गर्ने दुर्योधनको अत्याचार । क्रान्तिले भ्रष्टाचार जन्माउँछ कि समानता ? परिवर्तनले जनतालाई राहत दिन्छ कि विष खान बाध्य पार्छ । राजनीतिलाई व्यवसाय बनाउनेहरु टुकुचालाई पवित्र मान्नेहरु हुन् । यो राजनीति होइन, भ्रष्टनीति हो । चुनावबाट आएका चरित्रहीन नेताहरु आफूलाई विरुपाक्षझैं आधा भास्सिसकेको भेउसम्म छैन । संविधान कार्यान्वयन भयो, लोकतन्त्र मजबुत भयो भन्नेहरु हुटिट्याउँ हुन् । तिनले आफ्ना आफ्ना अनुहार लोकको नजरमा हेरुन् । कुम्भकर्णे निन्द्राबाट बिउँझिउन् । अन्यथा परिवर्तनको अर्को हुरी आउनेवाला छ ।
चुनाव जितेका नेता अर्जुन हुनुपर्छ कि कठपुतली हुने । अर्जुन भनेको न्यायमार्गमा उभिएर सम्मान आर्जन गर्ने हो । कठपुतलीमा विवेक नै हुन्न, निर्जिव, अरुले उठाए उठ्छ, नचाए नाच्छ । चुनावबाट आएका जनप्रतिनिधि कठपुतली हुनु दुर्भाग्य हो ।
नयाँ नेपाल बनाउँछु भन्नेको अनुहार पनि देखियो । मैले सुसेलेको र नानीको बाउले गीत खाएको भनेर होच्याउनेको कद होच्चिएको पनि देखियो । विभिषणको मूर्ति बन्दैन, मूर्ति नभएपछि पूजा पनि हुन्न । चुनाव जितेकाहरु जनताको हनुमान बन्न सकेको भए तिनको मूर्ति बन्थ्यो, पूजा पनि हुन्थ्यो । आज चुनाव जितेकाहरु घृणाका पात्र बनेका छन् । चुनावबाट चरित्रहीन जितेपछि यस्तै हुन्छ । पटक पटक मौका पाए, प्रधानमन्त्री बने, सत्ताको गंगा नुहाएर देश र जनतालाई बैतर्णी तार्न होइन, आफै सम्भ्रान्त बन्न पो जनमत खर्च गरे । आज देशको स्थिति कालीप्रसाद रिजालको गीत ‘आँखाछोपी नरोउ भनी भन्नु प¥या छ’ भनेजस्तो भएको छ । जनता बिछट्टको पीडामा छटपटीमा छन् । जनप्रतिनिधि देख्दैनन् ?
चित्रबहादुर केसीले राजनीतिको चित्र देखाएका छन्– संसद भनेको भेडी गोठ हो । लौहपुरुषले उतिबेलै वाक्क भएर भनेका थिए– दालभात तरकारी, अरु सबै सरकारी । हो, आज नेपालमा सबै सरकारी भएको छ । सरकार अथवा नेकपाको निरंकूशता । कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए– कम्युनिष्ट शासनमा रुन पनि पाइन्न । नभन्दै त्यही स्थिति पो सिर्जना भयो ।
नेकपा लोकतन्त्रमा चरित्रहीन रुपमा हिंस्रक बनेको छ । प्रधानमन्त्रीदेखि कुनै पनि मन्त्री इमान र चरित्रमा उभिएका छैनन् । तिनलाई भुइँमा न भाँडा....भन्दा हुन्छ । तिनको अभिव्यक्ति, व्यवहार र निर्णयहरुले नै पुष्टि गरेका छन् । आज जे छ, दलालहरुको छ, जसले शासन र प्रशासनलाई दलालको अड्डा बनाएका छन् । जनमत जनबलबाट जनताको शासन देखिनुपर्ने हो, जनता कोलमा तोरी पेलिएझैं पेलिएका छन् ।
लोकतन्त्र, संविधान दिवसमा एकजना जनता सहभागी हुँदैनन्, संविधान बिबादमा छ र संविधानलाई आमनागरिकले अपनत्व ग्रहण गरेकै छैनन् । तर प्रधानमन्त्री, पार्टी अध्यक्ष के के न उपलव्धि हासिल गरेझैं डुक्रिन्छन्– ५० वर्ष कम्युनिष्टको शासन चल्छ, कसैले हल्लाउन सक्दैन ।
लोकको सहभागिता बिनाको अहंकार । यही हो– लोकतन्त्र सुरक्षित, संरक्षित र प्रस्फुटित भएको विश्वास ।
हिजो नेकपा देशको डढेलो थियो, आज दमकल बनेर सत्तामा छ, सत्तामा बसेर मात्तिदै आफै आत्मघाती आगलागीमा पर्न चुमुक चुमुक सलाईसँग खेलिरहेको छ । एउटा यक्ष सवाल नेकपाका सामु खडा भएको छ– बारुणयन्त्र आफै आगलागीमा प¥यो भने आगलागी कसरी निभाउन सकिन्छ ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper