banner
banner

मेक्सिम गोर्की, आमा र हाम्रा नेताहरु

राजन कार्की -
कवाडी पसलमा काम गर्न पुगेका मेक्सिम गोर्कीले पढ्न पाएनन् । कवाडीमा बिक्री भएर आएका पुस्तक पढ्थे र ग्राहकसँग पुस्तकका विषयमा सोध्थे । तिनै मेक्सिम गोर्कीले आमा पुस्तक लेखे । जुन पुस्तक  १९०६ मा प्रकाशित भएको थियो, आज १ सय १५ वर्षपछि पनि त्यो पुस्तकको गरिमा र महिमा कम भएको छैन । कम्युनिष्टहरु गोर्कीलाई आदर्श मान्छन् तर नेपाली कम्युनिष्टहरु आदर्श पुरुषले लेखेको आमाको महत्व नबुझेर आमालाई बेचिरहेका छन्, ठगिरहेका छन्, कमाउने साधन बनाइरहेका छन् । नेपालका कम्युनिष्ट कसरी पतनोन्मुख भएर कमाउनिष्ट बने नि ।
उखान छ, नपाउनेले केरा पायो बोक्रै समेत खायो । नेपालको लोकतन्त्रको परिभाषा यही भयो । भनिन्छ, काँचो फल खानेले फलको रस चाख्न पाउँदैन । उसले त बीउसमेत नास गर्छ । लोकतन्त्र यसरी नासवान बन्दैछ, नास्ने लोकतन्त्रलाई खोरिया बनाएर फाँड्ने छाडा साँढेहरुका कारणले ।
नेपालमा सर्वहाराको न्यायका लागि, राष्ट्राधिकारकालागि जनयुद्ध धर्मयुद्ध भनियो । १७ हजारको बली चढाइयो । बरदान लिए प्रचण्ड ग्याङ्ले । प्रचण्ड तेजवान सूर्यजस्ता थिए, १३ वर्षमै निस्तेज भइसके । गोलीजस्ता ओली, राष्ट्रवादमा टेकेर यसरी अग्लिए कि चुनाव जितेर सत्तामा के पुगेका थिए, भुइँमै खुरमुरिए । ओलीको गोली त हावादारी रहेछ । सत्तामा पुग्नका लागि पड्क्यो, सत्तामा पुगेपछि सड्क्यो । लोकतन्त्रको गद्दीमा बसेर सनकमा शासन पो गर्न थाले ।
यसकारण जनयुद्ध र जनआन्दोलन छलकारा थियो, प्रचण्ड, ओलीहरु त हलकारामात्र रहेछन् । जतिसुकै सर्वहाराको भाषण गरे पनि, बोल्सेविक क्रान्तिको डिङ हाँके पनि २०६३, २०६५ को जनआन्दोलन र गणतन्त्र घोषणा धर्मयुद्ध थिएन । १९०३ को कोतपर्व र यो परिवर्तनमा कुनै भिन्नता थिएन । त्यतिबेला श्री ३ को उदय भयो । यतिबेला श्री ४ जन्मिएका छन् ।
धर्मयुद्ध लड्न अर्कै आँट, अर्कै हौसला, माटोप्रतिको मायाँ र देशप्रतिको गौरव चाहिन्छ । ठूलै छाती, ठूलै त्याग, बलिदान हुने जोश र तातो मुटु चाहिन्छ । आजका हाम्रा नेताहरुमा स्वार्थमात्र छ । स्वार्थीहरु कायर हुन्छन्, कायरहरु पल पल मर्छन् र मरेपछि कलंक बन्छन् । जनयुद्ध र जनआन्दोलनको आगोमा खारिएर निस्केका नेताहरु त देशका, जनताका गहना हुनुपर्ने हो, फलामको सुइरो बनेर घोचिरहेका छन् । फलाम हतियार हो, फलाम विष पनि हो । फलाम जनता र देशको घाउमा मलम होइन । अशान्तिको जडबाट हामी शान्तिको आशा लगाएर बसेका छौं ।
राजनीतिमा धर्म हुन्छ । हाम्रा नेता त राजनीतिलाई व्यापार बनाएर पार्टीको हाटबजारको पसल बनाइरहेका छन् । यसैले त राजनीतिमा लाग्नेहरु दिनदिनै धनी भइरहेका छन्, सर्वहारा र गरीवहरु झन झन थपिदैछन् । देशको माटो र देशवासीको पहिचान असुरक्षित भएर जाँदोछ ।
राष्ट्रय स्वाभिमानका लागि केजर बिलियम्सको जस्तो धर्मयुद्ध लड्ने ताकत चटके र उखानेहरुमा हुन्न, नेपाली राजनीति यही महारोगबाट ग्रस्त छ । कूशासनको पहिलो कारण निष्ठा र नैतिकहीनता हो । इमान नभएकाले भ्रष्टाचार बढेर गएको छ । भ्रष्टाचार भनेको मृत्यु हो, समृद्ध नेपाल र सुखी नेपालीको रामनाम जपेर मृत्युबाट पार पाउन सकिन्न । ओखती इमान हो, इमानको खोज राष्ट्रिय जीवनको अपरिहार्य तत्व हो ।
मनमोहन अधिकारी असल कम्युनिष्टको कुरा गर्थे, वीपी कोइराला ठूलो होइन असल हुनु भन्थे । आज मनमोहन अधिकारी र वीपी कोइराला दुवै हारिरहेका छन् । किनकि यिनका अनुयायीहरु असल होइन धनी बन्दैछन्, ठूलो होइन बादशाही चलाउँदैछन् । 
यसकारण देशमा चोरलाई चौतारो, साधुलाई सुली भइरहेछ । लोकतन्त्रमा देखिएको दृश्य, भोगिएको भोगाइ हो । कानुन छ काम गर्दैन्, संविधान छ समाधान छैन । शासन छ शास्ती छ, प्रशासन छ अनियमितताको दलदलमा फसेको छ । राजनीति छ व्यापार गरिरहेछ । नीति छ नैतिकता छैन । नेपाल छ, नयाँ नेपाल बनाउँछु भन्नेहरुसँग निष्ठा छैन ।
महत्वपूर्ण सवाल सपना छ, सपना पूरा गर्ने इच्छाशक्ति छैन । लोकतन्त्र जिन्दावाद छैन । लोक नदेखिने लोकतन्त्र लखनौंको भुलभुलैयाजस्तो बनेको छ ।
२०६५ साल जेठ २९ गते पत्रकार सम्मेलन गरेर जनताको नासो जनतालाई बुझाएर राजदरवारबाट नागार्जुन जंगलतिर लागेका राजा ज्ञानेन्द्र आजसम्म त्यो नासोको खोजखबर गरिरहेका छैनन् । किन ?
१३ वर्षदेखि नागरिकहरुसँग भेटवार्ता गरेर बसेका पूर्वराजाले ‘सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका भ्राताका रुपमा हाम्रो मातृभूमि नेपालमा म पैदा भएँ । सदा शान्त, सौम्य, सुन्दर यो गौरवशाली स्वाधीन नेपाल राष्ट्रमा जन्मन पाएको, यहाँकै माटोमा हुर्कन पाएको र यहीँको धर्तीको सेवामा जुट्न रम्न पाएकोमा म आफूलाई भाग्यशाली ठान्दछु । म नेपालको भक्त हुँ । देशभक्ति मेरो रक्त कण कणमा प्रवाहित छ । ...भूकम्प...बाढी पैह्रोको प्रकोपले धेरै जनधनको क्षति भएकोमा मलाई दुःखी तुल्याएको छ ।’ यति भनेरमात्र देशको भार उठाएको ठहरिन्न । देश लथालिङ्ग हुँदै गएको र जनता बिल्लिबाठमा परेको बेलामा वीरका सन्तानले गर्नुपर्ने के हो ? त्यो काम कर्तव्य र नतिजा समयको माँग हो ।
जनता नासो फिर्ता लिनुपर्छ भनेर चिच्याइरहेका छन् । नासो भनेको राजनीतिक दलहरुलाई मौजा बाँडेको बिषय होइन । नासो भनेको केही समयको लागि दिइएको हो । जनताले चाहेका बेलासम्मका लागि संरक्षण गर भनेर दिएको अधिकार हो । त्यो नासो अव फिर्ता लिने बेला भयो । किनकि जनताले फिर्ता गराउन खोजेका छन् । फिर्ता होस् भन्ने चाहेका छन् । जनता यो शासनको मृत्यु होइन, जिवन्त मुलुक र जीवन खोजिरहेका छन् ।
कि यी शासकले इमानमा टेक्नुप¥यो, कि राजसंस्था व्यूँतनुप¥यो । संविधान दुर्घटनामा परिसकेकोले परिवर्तन जरुरी हुनगयो ।
चोरलाई भण्डारे बनायो भने चोरी हुँदैन भन्ने हाम्रो समाजमा लोकोक्ति छ । तर, परिवर्तनपछि नेताजति सम्पन्न, सम्भ्रान्त बने, नेता बनाउने शक्ति कमजोर, ख्याउटे र रोगी बनेका छन् । आमनागरिक राजनीतिको सकस सहन गर्न नसकेर दिनदिनै मरिरहेका छन् । मर्नु श्वास रोकिनु मात्र होइन, मन छटपटिएर बाँच्नु पनि मर्नु हो ।
जनतामाथि करको भार छ, जनतामाथि ७ सय ६१ सरकार चलाउने र तिनका कार्यकर्ता पाल्नुपर्ने जिम्मेवारी छ । राष्ट्रको जिम्मेवारी बोकेका राजनीतिक बर्गहरु कर्तव्यच्यूत भइरहेका छन् । राष्ट्रको भण्डारे बनेका राजनीति र प्रशासनका नाइकेहरु सेटिङ गर्दै राष्ट्रिय ढुकुटी लुटिरहेका छन् । जनताप्रतिको सामान्य कर्तव्यसमेत यिनले पालना गरिरहेका छैनन् । कबुल गर्ने अनि आफ्नो बचन आफैले उल्लंघन गर्ने भनेको नराधम हो, नराधम काम राजनीति र प्रशासनबाट भइरहेको छ ।
नेपाली राजनीतिमा भयानक जनयुद्ध भयो, डरलाग्दो जनआन्दोलन पनि भयो । त्यसबाट जन्मेको हो परिवर्तन । परिवर्तनका नाइकेहरुको हातमा सत्ता छ । यो सत्ता जनताकालागि युटोपिया हो । ठाडो शव्दमा भन्दा कौवालाई बेल पाक्यो हर्ष न विष्मात । यतिमात्र होइन, यो परिवर्तन जनताका लागि पहाडजस्तो बोक्नै नसक्ने भारी बन्दै गएको छ । यो भारी बिसाउन खोजेका छन् जनताले ।
यसकारण पनि यिनलाई नासोमा दिएको राज्यशक्ति श्रीपेच अव फिर्ता माँग्ने बेला भयो ।
आज नेताको हालत के छ भने जनताको विश्वास छैन, जनताको साथ छैन । बाध्य भएर मतदान गरेका हुन् । त्यही मतदान जनताका लागि अभिषाप बनेको छ । नेताका साथमा तिनका आउरेबाउरेमात्र छन्, जनता मूर्दावाद भनिरहेका छन्, नेताहरु लज्जाहीन बनेर तिनै जनतामाथि शासन गरिरहेछन् । यस्तो शासन के शासन, जहाँ जनताको विश्वास नै छैन । जनताले परिवर्तन भयो भन्ने अनुभूति गरेकै छैनन् । सरकार होइन, जनता भ्रष्टाचार र अपराधमात्र देखिरहेका छन् ।
राजा जनतामा अनुवाद भए, कुनै आनाकानी अप्ठेरो पारेनन् । जो जनता र देशका लागि परिवर्तन लिएर आए, उनीहरु परिवर्तित हुनसकेनन् । तिनले जनतालाई र देशलाई अप्ठेरोमात्र पारिरहे । राजा जंगल पसेपछि लोकतन्त्रलाई जंगलराज बनाउने काम नेताहरुले गरे । मान्छेले जब विवेक हराउँछ, उसले जे पनि गर्छ । राजनीति र प्रशासनले विवेक हराएपछि कूशासनमात्र हुन्छ, मत्स्य न्याय छ देशमा । मुलुकी बन्दोबस्त बिग्रेको छ । सनकमा चलाउने शासन कसरी संवैधानिक शासन हुनसक्छ ?
लोकतन्त्रमा विधिमाथि विश्वास हुनुपर्छ । बेलायत त्यसैले बेलायत हो । व्यक्तिको पूजा हुने देशमा लोकतन्त्र चल्न सकेन, त्यसैले नेपाल नेपाल नै छ । व्यवस्थामा परिवर्तन आयो, व्यवस्था चलाउनेको चरित्रमा सुध्रिन सकेन ।
अव राजाले सुम्पेको नासो के भयो हेर्ने बेला भयो, मूल्यांकन गर्ने बेला भयो, फिर्ता लिने बेला भयो । देशवासीको चाहनामा राजाले शासन नासोमा दिएका थिए, नासोलाई फूपूको श्राद्ध बनाउनेहरुबाट त्यो नासो खोज्ने, खोस्ने बेला भयो ।
त्यतिबेलाको जनचाहना परवर्तन भइसक्यो । यतिबेला जनताको चाहना यही छ । नासो फिर्ता लिउँ, जनचाहनाको कदर गरौं । जनताभन्दा माथि कोही हुनसक्दैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper