banner
banner

दुई तिहाइको सरकार भ्रष्टाचार र अपराधको खाल्डोमा

राजन कार्की -
सुशासन र समृद्धिको नारा दिएर अघि बढेको नेकपाको सरकारको एउटै लक्ष्य कम्युनिष्टजतिलाई भएजतिको स्थानमा भर्ति गर्ने र पाएसम्मको कमिशन, सुविधा, भत्ता कुम्ल्याउने रहेछ । त्यही लक्ष्यमा दौडदा दौडदै नेकपाको सरकार आफैले खनेको भ्रष्टाचार र अपराधको खाल्डोमा जाकिसकेको छ ।
नेकपालाई बचाउन र देशको प्रगतिको कामना गर्नेहरु नेकपाभित्रका ओली र प्रचण्ड, माधव र वामदेवजस्ता नेताहरुको गुटबाजी, होडबाजी र तँ तँ, म म देखेर आत्तिन थालेका छन् । यतिमात्र होइन, दुई तिहाइको नेकपाको सरकारको अधिनायक र भ्रष्ट चरीत्र देखेर डा.बाबुराम भट्टराईको सातो गएछ, उनी बर्बराउन थालेका छन्– सैनिक कू को खतरा बढ्यो ।
अर्थात कानुन व्यवस्था छैन, सरकार जवाफदेहीता भन्दा सत्ता र सम्पत्तिदेहितामा चुर्लुम्मै डुब्यो । अव नेकपा भ्रष्टाचारको पोखरीमा डुबेरै सकिने भो । नेकपाबाट देश बन्छ भनेर कसैले भन्छ भने उसले दिउँसै सपना देख्यो भने हुन्छ ।
नेकपाको सरकार गुहेलाको फूल हो । गजुर बिनाको मन्दिर र गुण बिनाको गणतन्त्र, भन्नलाई मीठो लाग्ला तर इम्पररले लगाएको नयाँ लुगाभन्दा फरक हुनसकेन ? जसरी नयाँ लुगा लगाएका इम्पररलाई देखेर बालबालिकाले राजा त नाङ्गै छन् भनेर सत्य बोलेका थिए, त्यसैगरी ज्ञानेन्द्र शाह घरबाट निस्क्यो कि राजा आउ देश बचाउ भन्ने नारा लाग्छ, माहुरीको रानोलाई माहुरीले घेरेजसरी घेर्छन् । पोखरामा अहिले जे देखिएको छ, लोकतान्त्रिक गणतन्त्रका रथी महारथीहरु नयाँ लुगा लगाएर नाङ्गै भएका इम्परर भन्दा भिन्न देखिदैनन् ।
हो, लोकतान्त्रिक नामधारी नेताहरुसँग सत्ता छ, शक्ति छ, राष्ट्रको ढुकुटी छ । छैन त केबल जनताको पूर्ण विश्वास छैन । संविधान कार्यान्वयन गर्नेहरुले संविधानलाई जनताले अपनत्व ग्रहण गराउने ग्रहणशीलता छैन । सरकार छ, सरकारको पहुँच जनतासम्म र जनताको पहुँच सरकारसम्म छैन । सरकार पुलिस शासन चलाइरहेको छ, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका लगायतका सबै संवैधानिक अङ्गहरुमा सरकारको कालो छायाँ परेको छ । मुखले देशका कुरा गर्छन्, जनताको चिन्ता पनि गर्छन्, आफूभित्रको अनैतिकताको फोहर सफा गर्न सक्दैनन् । सरकार मानौं अपराधीले पौडी खेल्ने बागमती हो । बागमती कति दुर्गन्धमय छ, हामी सबैले देखेकै छौं, दिनदिनै भोगिरहेकै छौं ।
परिवर्तन चाहियो भनेर घरघरबाट निस्केका ०६३ सालको त्यो जनसलह कता हरायो ? परिवर्तन ल्याएर परिवर्तनलाई केही नेताको खोरिया बन्न दिएर संकट भोगिरहेको त्यो जनसलह आज किन चुपचाप छ ? परिवर्तन तुहिएको र लोकतन्त्र कुहिएको हेरेर बस्न किन बाध्य छ त्यो जनसलह, नागरिक समाज ? टीवीको बिरामी र कानुन व्यवस्था उस्तै उस्तै भइसक्यो, ठूलो संकट राष्ट्रिय एकतामा भ्वाङ् पर्न थालिसक्यो, जनता जाग्दैनन्, जनता मर्न तैयार छ, मरिरहेको छ, जनता जगाउन, जनता तताउन पनि विदेशीले चिमोट्नु पर्ने, विदेशीले नै सलाई कोरिदिनु पर्ने हो ?
नयाँ ऋतु आउँछ, नयाँ पात पलाउँछन् र वृक्ष फुल्छ, फल्छ र ढकमक्क देखिन्छ, छहारी दिन सक्षम हुन्छ । घडीको सुई अग्रगामी सँचक हुन्, यही हो प्रकृति र परिवर्तन । ०६३ सालको बसन्त परिवर्तनमा अग्रगमनको लाली पोतिएको थियो, तर त्यो लाली मानसिक सन्तुलन गुमाएकी बहुलाईले मुखभरि कालो पोतेजस्तो बिरुप हुनपुग्यो । त्यसैको प्रतिरुप हो– आम जनताको मुहारमा पीडामात्र देखिनु । बहार आयो, कहर सकियो भन्ने जनविश्वास नेताहरुको हैकम  हुनपुगेको छ । लोकतन्त्र लोकमा नेताका नोकर बन्नपुग्यो, समृद्ध नेपाल, सुखी नेपाली बनाउन ठूलै चमत्कार गर्छु भन्ने नेताहरु रत्नपार्कको चटकेको जति पनि अक्किलहीन हुनपुगे । यसैलाई भनिन्छ, तावाबाट उछिट्टिएर भुङ्ग्रोमा परेको माछोको नियति ।
चाणक्यले राजनीतिलाई उत्तम समाजसेवा भनेका थिए । ज्ञानीहरुले मार्ग दर्शन गरेका छन्– व्यापारीको धर्म हो कमाउनु, राजनीतिको धर्म हो जनसेवा । हाम्रो परिवर्तन त ठ्याक्कै उल्टो हुनगयो । व्यापारी धन बिदेश ओसार्ने, नेता राजनीतिलाई व्यापार बनाएर कमाउने । राजनेताले ब्यापार गर्न  थालेपछि देश बर्बाद नभए के हुन्छ ?
संविधान निर्माण र आमनिर्वाचनरुपी समुन्द्र मन्थन भयो, यो मन्थनबाट निस्केको अमृत नेताले लुड्याए, विषजति देश र जनताको भागमा परेको छ । सुनजस्तो जनअपेक्षा पित्तलमात्र देखिनु दुर्भाग्यजनक हो । नैराश्यता यसरी बढेको छ कि न राजनीति देश भएर उभिन सक्यो, न जनताले हस्तक्षेप नै गर्न सके । यस्तै दलदलमा भासिएको कहालीलाग्दो कालखण्ड जनताले कहिलेसम्म बेहोरिरहने ?
सिंगापुरका ली क्वान यु मर्दा देशमात्र होइन, विश्वले श्रद्धाञ्जलीका आँसु बगाए । नेता भनेका देशका रक्तनली र विश्वका लागि उदाहरण बन्नुपर्ने रहेछ । त्यो नेता मरेर पनि बाँच्दोरहेछ । गिरिजाप्रसाद कोइरालाको देहान्त हुँदा कि कांग्रेसीजन, कि सरकारको उपस्थिति भयो, जनता रोएनन् । आजका बरिष्ठ नेता कांग्रेसका शेरबहादुर देउवा, नेकपाका केपी, ओली–प्रचण्ड, तिनको मृत्युमा कति जनता मलामी जालान्, कतिले शोकको आँसु बगाउलान् ? मान्छे अमर छैनन्, मान्छे जन्मन्छन्, मर्छन्, यति अग्ला नेता मर्दा विश्व नरोओस्, कम्तिमा देश त रोओस् । जनताले यिनको सम्झने गुण के छ र, सम्झनु, आँसु बगाउनु ? तैपनि यिनमा एकदिन मर्नुपर्छ भन्ने चेत किन फिर्दैन ? बरदान बन्नुपर्नेहरु सराप बनेका रहेछन् भन्ने यथार्थ यही हो । समय छ, अवसर छ, यिनले देश र जनताका लागि मरेर पनि बाँचिरहने काम गर्नुपर्छ । स्वच्छ दिमागमा नौमुरी निषेध र बिभेद पालेर के राजनीति गर्नु ? अहिले जस्तो बाँचेर पनि जनताका नजरमा मरेतुल्य भएर बाँच्नु, के बाँच्नु ?
हिजो नेपाल कहाँ थियो, आज कहाँ छ ? विश्वले नेपालको कुरा सुन्न छाडिसक्यो । नेपालको विदेशनीति धुलो उडेको राजमार्गजस्तो छ, प्रदूषित, अलि परसम्म केही देख्दै देखिन्न । नेपालको छवि आन्तरिक र बाह्य कारणले विश्वका सामु अविश्वसनीय बन्दै गएको छ । सत्ता स्वार्थमा लिप्त हुँदा संविधान जनताका लागि पवित्र ग्रन्थ बन्न सकेन । लोकतन्त्र जता हेरे पनि पार्टीमुखी, नेतामुखी देखिन्छ, जनमुखी देखिदैन । यस्तो लोकतन्त्र गणतन्त्र होइन, यो त अर्को श्री ३ जंगबहादुरको उदय हो । देश निर्माणका लागि जनताले दिएको दुई तिहाइ नितान्त प्राविधिक बनिसकेको छ । दुई तिहाइले देशका सबै समस्याको निदान पहिल्याएर अघि बढ्नुपर्ने थियो, दुई तिहाइ पनि असफल भइसक्यो । दुई तिहाइ सरकरमा देखिन्छ, संसदमा देखिन्छ, निर्वाचन आयोगमा पनि देखिन्छ, जनताको मुहारमा, शासन र प्रशासनको सेवामुखी भावमा कतै देखिदैन । दुई तिहाइ त भ्रष्टाचारमा, तस्करी, माफियातन्त्र, अपराधिकरणमा देखिन्छ । यो गणतन्त्र कसरी हुनसक्छ ?
दुई तिहाइको शक्ति छ, यो सरकारले त पूर्णगतिमा काम गर्नुपर्ने । यो सरकारलाई काम गर्न कुनै पनि राजनीतिक अल्झो छैन । तर, यो सरकारले सीमा किन मिचियो, सीमामा नेपाली किन लुटिदैछन्, सीमामा नेपाली किन मारिदैछन् भनेरसम्म कुरा गर्न सक्दैन । न त सीमासुरक्षामा नेपाली सेना नै खटाउन सक्छ । यो सरकारवादी पार्टीकै नेता घनश्याम भुसाल लेख्छन्– शिक्षा र स्वास्थ्यमा लगानी गर्ने कम्युनिष्ट हुनसक्दैनन्, त्यो भइरहेको छ । थुक,रगत, खकार, विर्य टेस्ट गरेर मेरो गुटको हो कि होइन भनेर छुट्याउने गुटका नेतालाई म नेता मान्दिन । अर्थात नेकपाभित्र मात्र नेकपाकरण छ, नेताको गुटबाजी छ । त्यहाँ न जनता छन्, न देशभक्ति नै छ ।
प्रधानमन्त्री हुने भए दुईजना प्रधानमन्त्री बनाउँथे भनेपछि वामदेव गौतम नेकपाका अर्का बरिष्ठ नेता, उनका अनुसार दुई तिहाइ छ, दुइजना प्रधानमन्त्री बनायो भयो त ? सत्तावादी नेकपाका दुई पाइलट, ओली र प्रचण्डको ध्यान मात्र निजी स्वार्थमा सत्ताको दुरुपयोग गर्नेमा छ, देशलाई कसरी सुशासन दिने भन्नेमा पटक्कै छैन । ओली सरकारका क्रियाकलाप हेर्दा कामचलाउ सरकारजस्तो समेत छैन ।
विकराल समस्या धार्मिक सद्भावको छ, हिन्दुराष्ट्र हुने कि नहुने भन्नेमा छ । हिन्दुराष्ट्र चाहनेहरुलाई च्यालेन्ज गराएर ओली सरकारले क्रिश्चियन सम्मेलन नै गराइदिए । ४ दिन पलेटी कसेर सम्मेलन सफल पार्न प्रधानमन्त्रीले पुरै सक्रियता देखाए, राज्यकोषबाट १४ करोड समेत खर्च गरिदिए । सर्वधर्म समभावको अर्थ हिन्दुविरुद्ध इसाईलाई खडा गराइदिए ।
सरकारले प्रतिपक्षीलाई समेत साथमा लिएर समृद्धि र सुशासनका लागि संवैधानलाई मजबुत पारेर अघि बढ्ने साइत गुजारेर सामाजिक न्याय, बिधि र पद्धति बसाल्ने बेलामा द्वन्द्व बढाउने जुन कर्म गरेका छन्, त्यसमा आमनागरिकको पटक्कै साथ र सहयोग छैन । यति ठूलो अनुचित गरेर पनि प्रधानमन्त्री ओली श्री ३ को जस्तो फर्मान जारी गर्दै हिड्छन् र राष्ट्रपतिलाई नयाँ महारानी बनाउन गरीव जनताले तिरेको करको लखनौं लूट गराउन अग्रसर भइरहेका छन् भने दुई तिहाइ असफल भयो भन्न सकिन्छ ।
लोकतान्त्रिक भनिने नेताहरु जनताका सामु जानै नसक्ने, किनारा लागेका राजा ज्ञानेन्द्र पोखरा ओर्लनासाथ जनताले घेरेर जयजयकार गर्ने । राजतन्त्र र हिन्दुराष्ट्र आउला नआउला अर्को पाटो हो, अव पनि लोकतन्त्रप्रति विश्वास बाँकी छ र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper