banner
banner

नेकपाको सरकार त अधिनायक र निरंकूश बन्दै गएको छ

राजन कार्की- 
राजनीतिमा अपरिहार्य तत्व भनेको लोकलज्जा हो । नैतिकता र निष्ठा भएका जो कसैमा लोकलज्जा हुनेगर्छ । लोकको आलोचना उनीहरुका लागि धेरै महत्व राख्छ । नेपालमा शासन होस् कि प्रशासन, दुबै क्षेत्रमा लोकले घृणा गर्ने पात्रहरु मुखिया बनेका छन्, मुखियाका सहायक बनेका छन् । उनीहरु लोकलज्जाबिहीन छन् । नङ्गा नाचे हजार दाउ । यही हो शासन र प्रशासनका माहुतेहरुको । यस्ता माहुते भएका देशमा शासनले गर्ने बर्बादीमात्र हो । नेपालमा यतिखेर जे भइरहेको छ, बर्बादीमात्र भइरहेको छ । बिधिले काम नगरेपछि गर्ने बाहुबलीले हो । नेपालमा लोकतन्त्रको ब्यानर झुण्ड्याएर बाहुबली हैकम चलाइरहेको छ, देश लुटिरहेको छ ।
राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, सचिवहरु धमाधम युरोप, अमेरिका, पोलेण्डदेखि थाइलेण्डसम्मको भ्रमण गर्ने भएका छन् । कारण रहेछ, सरकारले ठूलठूला उपलव्धिहरु हासिल गरेको छ रे, विश्व प्रचार गर्नु जरुरी भयो । विश्वले अनुदाननीति कटौति गर्दै गएकोले वैदेशिक लगानी भित्र्याउनका लागि नेपालमा राजनीतिक स्थिरता र सुरक्षाको जानकारी दिन र सरकारले ठूला कामहरु गरेकाले नेपालमा लगानी आकर्षित गर्न यस्ता भ्रमण हुनलागेका रहेछन् ।
यथार्थमा नेपालमा केही पनि भएको छैन । गरीवको नाममा शासन गर्ने कम्युनिष्टहरुले न कुनै उद्योग खोलेका छन्, न उद्यम हुनदिएका छन् । न सुशासन छ, न समृद्धिका कुनै पाइला नै चलेका छन् । जे छन्, भ्रष्टाचार छन् । जे चलेका छन्, असामाजिक र अराष्ट्रिय काममात्र चलेका छन् । तस्करी र माफिया खुब फस्टाएको छ । अपराध, बलात्कार, हत्याराहरुको चकचकी छ र त्यो चकचकीको संरक्षण सरकारले गरिरहेको छ । अमानवीयता र दण्डहीनताले पराकाष्ठा नाघिसकेको छ । तैपनि राज्यसंयन्त्र नेपाल लगानीको स्वर्ग हो भन्ने सन्देश फैलाउन विश्वयात्रा गर्नेरे ।
नेपाल भारत सम्बन्ध सुधार गर्न र नेपालमाथि भारतीय ज्यादति रोक्ने र समानतायुक्त बनाउने उपाय पत्ता लगाउन गठन गरेको प्रवुद्ध समूहले तैयार गरेको रिपोर्ट सार्वजनिक नगर्ने र रिपोर्ट गुपचुप दिल्ली पुर्‍याएर दिल्लीअनुकूल फेर्ने षडयन्त्र गर्ने सरकार कसरी देशभक्त हुनसक्छ र देशको समुन्नतिका लाग विदेशी लगानी भित्र्याउन सक्छ । विश्वलाई थाहा छ, नेपालमा राजनीतिको नाममा के के भइरहेको छ भन्ने ? नेपालका नेता पैसा भनेपछि टाउकाले टेक्छन् भन्ने बुझेका विश्वले यही कारण लगानी गर्न हिचकिचाइरहेका छन् । नेपालको सुशासन दिन नसक्नेले जतिसुकै झ्याली पिटे पनि यो नाटकमा विश्वले विश्वास गर्न मुस्किल छ ।
२ वर्षअघि भारतका प्रधानमन्त्रीको आग्रहमा नेपाल भारतवीचका समस्या पहिचान र समाधान पहिल्याउने उद्देश्यले चार नेपाली र चार भारतीय विद्वान रहेको प्रवुद्ध समूह गठन गरियो । नेपालका तर्फबाट पूर्वराजदूत भेषबहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र राजन भट्टराई सदस्य चुनिए । पटक पटक बैठक बस्यो र जनताले तिरेको २ करोड यिनले मजाले हजम गरे र भारतीय हाजमोला खाएर पचाए ।
४ महिना अघि अन्तिम बैठक काठमाडौंमा बस्यो र अन्तिम रिपोर्ट पनि तैयार गर्‍यो । त्यो रिपोर्ट आजसम्म नेपाल र भारतका प्रधानमन्त्रीलाई बुझाउने भनियो तर बुझाइएन । इपीजीको त्यो रिपोर्ट मुसाको गुँड बनेको छ ।
२ करोड स्वाहा पारेर तैयार गरेको रिपोर्ट कहाँ पुग्यो, रिपोर्टमा के लेखियो, करदाता जनताले सूसुचित हुन पाएका छैनन् । नेपाली प्रतिनिधिहरुले के रिपोर्ट लेखे, सहमति भएका विषय के के थिए, संसारकै ठूलो लोकतान्त्रिक मुलुक भारत र संसारकै पछिल्लो लोकतान्त्रिक अभ्यास गरिरहेको नेपालले बिरालोले आची लुकाएजसरी लुकाएका छन् । जनताको पसिना खर्च गर्ने, जनताले थाहा पाउलान् कि भनेर लुकाउने ? गम्भीर अपराध गरेका छन् प्रवुद्ध भनिने पार्टीका चार सदस्यहरुले ।
नेपालको राजनीतिलाई सधैं प्रभाव पार्ने विषय हो १९५० को सन्धि । पछिल्लो समय कालापानी, लिम्पियाधुरा, लिपुलेक सहितका १० हजार १९ बर्गकिलोमिटर नेपाली भूभाग नेपालको नक्साबाटै हराएको छ । त्यसअघि ७१ स्थानमा ६० हजार बर्गकिलोमिटर नेपाली भूभाग भारतले अतिक्रमण गरिसकेको छ ।
१९५० को सन्धि बिस्थापन र नयाँ सन्धि, नेपाल भारतका वीचमा सम्बन्धको सुदृढिकरण गर्ने बुँदाहरु र सीमा अतिक्रमण रोक्नेलगायतका समस्याहरुको स्थायी निदान निकाल्न प्रवुद्ध समूह गठन गरियो र तिनले दिने रिपोर्टलाई दुईवर्षदेखि कुरिरहेका नेपालीले अझै थाहा पाउन सकेका छैनन् । पछिल्लो समय भारतीय प्रवुद्ध सदस्य बीसी मल्ल र अगुवा भगतसिंह कोसियारीले भिन्न मत राखेको कुरा बाहिर आएको थियो । यथार्थ के हो, रिपोर्ट कस्तो छ, के लेखियो, लुकाउनुको रहस्य के हुनसक्छ, संशय अनेक उठेका छन् ।
असली कुरो भारतले फेरि नेपाललाई थाङ्नामा सुतायो भन्ने आएको छ । चुरो कुरो सार्वजनिक हुन जरुरी छ ।
आफ्नो रिपोर्ट बुझाउन नपाउँदै ओली सरकारले प्रवुद्ध समूहका एक सदस्य नीलाम्बर आचार्यलाई कम्युनिष्ट भएकै कारण भारतका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । हुन त नीलाम्बर आचार्य श्रीलंकाका लागि राजदूत भइसकेका, ०४६ सालमा भट्टराई सरकारका कानुनमन्त्री चलाइसकेका बुद्धिजीवी मानिन्छन् तर उनमा नेपाल भारत सम्बन्ध विकास गर्नसक्ने, समस्या समाधान गर्न योगदान गर्नसक्ने के काविलियत देखेर भारतका लागि राजदूत नियुक्ती गरेको होला ? सरकारले मलेसियाका लागि उदयराज पाण्डे, युएईका लागि कृष्णप्रसाद ढकाल र राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि दीपक धितालको म्याद थप गरेको खबर पनि छ । यो सरकारले कूटनीतिक ज्ञाता, राष्ट्रका लागि प्रभावकारी योगदान दिनसक्ने र सम्बन्धित मुलुकको नस नाडी छामेर कूटनीतिक भूमिका निभाउन सक्नेलाई नियुक्ती दिन्छ भन्ठान्नेहरु चकित परेका छन् । र, राप्रपा, कांग्रेसले आफन्त र शुल्क लिएर राजदूतको जागीर दिएकालाई भने सरकारले छुन सकेन । नियुक्त भएका पनि बिबादरहित नहुनेहरु भए । प्रवुद्ध समूहमा बसेर भारतको हितमा काम गरे वापत निलाम्बर आचार्यलाई भारतको राजदूत बनाइएको त होइन ? त्यसो हो भने अन्य सदस्यहरुले पनि यथोचित पुरस्कार पाउने निश्चित त ।
निश्चय नै नीलाम्बर आचार्य सम्मानित बुद्धिजीवी हुन् तर उनको बुद्धि र बर्कत आजसम्म नेपाल र नेपालीको मन जित्नसक्ने कुन कार्यमा देखिएको छ ? कम्युनिष्ट सरकारले छानी छानी कम्युनिष्टलाई नै पुरस्कार दिइरहनु पर्ने ? पुरस्कार पनि के कामका लागि भनेर जनतालाई पत्तै नहुने ? गजव छ । कम्तिमा योग्यताको कदर, काविलले अवसर त पाउनु पर्‍यो । भन्नलाई सुशासन, समृद्धि र प्रगति गर्ने भाषण ठोक्ने, काम चाहिं क्रेनले तानेर महत्वपूर्ण जिम्मेवारी मनपरी रुपमा दिने ? यसरी समृद्धि लक्ष्य हासिल हुनसक्दैन ।
नेकपाका एक अध्यक्ष प्रधानमन्त्री छन्, अर्का अध्यक्ष सरकार र पार्टी दुवैतिर हावी छन् । ओली प्रधानमन्त्री, प्रचण्ड भन्छन्– अव सरकार ३ नम्बर गेयर हाल्छ र कुद्छ । नेकपाका एक सदस्य टोपबहादुर रायमाझी भन्छन्– अव सरकार रकेटको गतिमा कुद्छ । हुटिट्याउँले आकास थामेकै रहेछ, जनताले राम्रैसँग देखे ।
न्याय पाउँ भनेर अधिकारीले ज्यान गुमाए, गंगामायाँ अनसनमै छिन्, ज्यानमाराहरु धमाधम रिहा भइरहेका छन् । निर्मला पन्तका बाबुआमा, परिवारजन बलात्कारी र हत्यारालाई कानुनको कठघरामा उभ्याउ भनेर अनिश्चितकालीन धर्नामा बसेका छन्, ७७ जिल्लामा निर्मलाका हत्यारालाई सार्वजनिक गर, न्याय चाहियो भनेर जनता सडकमा उत्रिएका छन् । नेकपा र ओली सरकार दुईतिहाईको फुइँकी लाएर चितवनको ध्रुवे हात्ती बनेर बिध्वंश मच्चाइरहेको छ ।
नेकपाको सरकार त अधिनायक र निरंकूश बन्दै गएको छ । अव जनता अघि नसरे देश बर्बादी हुने निश्चित छ ।

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper