banner
banner

सीमा थियो, न सिक्किम रह्यो, न क्रिमिया

राजन कार्की -
देशको सुरक्षा भनेको सीमा हुनुमात्र होइन । सीमा थियो, खोई त न सिक्किम रह्यो, न क्रिमिया। सीमा भएर पनि घर, समाज, सहर, शासन, प्रशासन, शान्तिव्यवस्था सबै तहसनहस हुनु भनेको असुरक्षा हो । नेपाललाई असुरक्षाको ऐजेरु लागेको छ, असुरक्षित छ ।
चिनियाँ विद्वान वाङ चुनले नेपालको सुरक्षात्मक रणनीति तथा नेपाल–चीन सम्बन्ध भन्ने पुस्तकको पृष्ठ १९ मा लेखेका छन्– आर्थिक दृष्टिबाट हेर्दा भारतले आर्थिक सहयोग, प्रत्यक्ष लगानी तथा असमान सम्झौताका माध्यमद्वारा नेपालको आर्थिक प्राण आफ्नो हातमा लियो।
वैदेशिक रोजगार विभागका सूचनाधिकारी भन्छन्– १०८ मुलुकमा ४२ लाखभन्दा बढी नेपाली युवायुवती वैदेशिक रोजगारीका लागि गएका छन् । तर, २० लाखभन्दा बढी युवायुवती अवैधमार्गबाट वैदेशिक रोजगारीमा गएको र जाने क्रम जारी रहेको पनि उनैले जानकारी गराए । ३ करोडको हाराहारीमा जनसंख्या भएको मुलुकका ६२ लाख युवायुवती वैदेशिक रोजगारीमा गएका छन् भने त्यो देशको बल र ब्रेनशक्तिको हालत कस्तो होला ? यति गम्भीर विषयमा न संसदमा बहस हुन्छ, न नागरिक समाजमा, न सरकारमा । लियो टल्सट्वायले लेखेका थिए– जुन देशमा विदेशी चलखेल बढी हुन्छ, त्यहाँ जातीय र धार्मिक लडाइ हुन्छ, देश बर्बाद हुन्छ । नेपाल टल्सट्वायले भनेको उदाहरण हो ।
भीमनिनिधि तिवारीले लेखेका थिए– राज्यलिप्साले नेता अन्धो हुन्छ, उसले स्वार्थमात्र देख्छ । नेपाल स्वार्थ पन्पिएको अन्धकार देश हो । जहाँ न पहुँचे रवि, वहाँ पहुँचे कवि भनेको हो रहेछ ।
नेपाल रेजिमन्ट हो । रेजिमन्टको अर्थ खोज्दा भेटियो– जथाभावी, मनपरीपन । बुद्धि कलमी गरेर देश र जनतालाई होचा, पुड्का बनाउनु । नेपालमा यही भइरहेको छ । हरेक मान्छेको अनुहार र औंठाछाप मिल्दैन तर नेपालका शासक बर्गको चरीत्रमा कहिल्यै भिन्नता भएन ।
पद्धति परिवर्तनको १३ वर्ष पनि राजनीति सिंहदरवारकै वरिपरि सिमित छ । गाउँसम्म सिंहदरवार पुर्‍याउने भनियो, सिंहदरवारको भ्रष्टवाद गाउँसम्म पुग्यो, त्यसैले लोकतान्त्रिक सिंह गर्जना लुते ब्वाँसोकै दर्जामा छ । जनयुद्ध र जनआन्दोलन त षडयन्त्रको जालो रहेछ, जुन जालोमा नेपाल र नेपाली उम्किने छटपटीमा छन् । माओवादीको जनवादको, अन्य पार्टीको जनप्रतिनिधिमूलक व्यवस्थाको भाकल सत्ताप्राप्ति पो रहेछ। जनजिविका तिनको लक्ष्य नै रहेनछ । जड्याहको हिडाइ र यिनको शासन लड्खडानन्द नै देखिन्छ।
होनहार युवाहरु अध्ययनका क्रममा विदेशीने क्रम रोकिएको छैन । हजारौं सिर्जनशील र श्रमशक्तिको लस्कर दिनहुँ देश छोडिरहेका छन् । ती सबको मुखमा एउटै शव्द हुनेगर्छ– यो देशको भविष्य छैन । यहाँ बसेर के गर्नु, कति रल्लिनु ? यो देशमा गरीखान पाइन्न । युवाशक्ति जो आफैमा उर्वर छ, त्यो समुदायको यस्तो तीतो टिप्पणी ? सुन्ने दायित्व कसको हो ? नेपालमा परिवर्तन आयो रे, कसलाई आयो परिवर्तन ? जुन पद्धतिले युवाशक्तिलाई उर्जाशील प्रेरणा दिन सक्दैन, त्यो प्रणाली जतिसुकै उत्तम भए पनि प्रणालीका चालकहरु दिमागी रुपमा सअक्षम र रोगी छन् भन्नैपर्छ ।
परिवर्तित पद्धति र पार्टीका प्रतिवद्धताको यो भन्दा नाङ्गो रुप के हुनसक्छ ? नेताहरु जतिसुकै सुकिलामुकिला, सुख र सम्पन्नतायुक्त भए पनि जनताको जीवनस्तर  झनझन कष्टकर बन्दैछ । यसरी टकटकिएर र बिरक्तिएर बिदेशीने युवाहरुको प्रतिक्रियाले राजनीति कति दीनहीन र दयनीय भइसकेछ, कहालीलाग्दो यथार्थ हो यो। देश बनाउने चिन्तनसहितको एउटा अनुहास पनि देखिन्न, वीरको देश नेपाल बाँझो खेत हो त ? यस्तै भयभित पार्ने अवस्थाबाट गुज्रिएका दुई मुलुकले आफूलाई कसरी मुक्त बनाए, स्वस्थ बनाए भन्ने उदाहरण छन् । एउटा हो सिंगापुर र अर्को हो ताइवान ।
सिंगापुर, कुनै दिन ९० प्रतिशतसम्म भ्रष्टाचार हुने मुलुक थियो । सिँगानपुर, भ्रष्टाचारपुर बनिसकेको थियो सिंगापुर । के गर्ने, कसरी सिंगापुरलाई सुशासनयुक्त बनाउने भन्ने एउटा सोच यसरी कामयाव भयो कि आज सिंगापुरलाई एसियाको युरोप भन्ने दजामा पुर्‍यायो । निरंकूशले बनाएको सिंगापुर सुशासन, सम्पन्नता, बिधि र प्रगतिको चर्चाको शिखरमा छ । युवा र देशको अस्तित्वरक्षा, दीर्घकालीन विकासको विकल्प यही भन्ने ठानेर सरकारले सबै तहका कर्मचारी र विशेषगरी उच्च ओहदाका पदाधिकारी सबैको तलव, भत्ता, सुविधा व्यापक रुपमा बृद्धि गरिदियो । युवाहरुलाई सरकारी निकायमा प्रवेश गर्ने फलामेजस्तो स्वार्थ र भ्रष्टाचारको द्वारलाई यति खुकुलो र उदार गरिदियो कि सक्षम, इच्छाशक्ति भएका युवाहरुलाई सरकारी जागीरका लागि प्रेरित हुन बाध्य पारियो । युवा अगाडि आएपछि सिंगापुरमा भ्रष्टाचार रोकियो, निर्माण सुरु भयो, बन्द–हड्ताल हरायो । भ्रष्टाचारीहरुबाट बलात्कृत सिंगापुर, अपमानित जनतालाई राज्यको सेवा सहज हुनथाल्यो। जिम्मेवार प्रशासनको सुरुआतले राजनीति त्यही मार्गमा डोरिन बाध्य भयो । त्यसै लीक्वान युलाई सिंगापुरको पिता मानिएको होइन । उनको जस्तो इज्जत कमाउन आफूलाई बलिदानी बनाउनुपर्छ । यो १९९० को दशकको कुरा हो। २०१५ मा उनको देहान्त हुँदा सारा विश्वले समवेदना प्रकट गर्‍यो, उनलाई निरंकूश भन्ने अमेरिकाले समेत उनलाई सम्झनाको फूल चढायो। देशका लागि निरंकूशको त्यो पूजा, नेपालका लागि प्रेरणा बन्नुपथ्र्यो, निरंकूश त पाइला पाइलामा भेटिन्छन्, त्याग र तपस्या कोही तैयार छैन।
ताइवानमा त्यस्तै उदाहरण भेटिन्छ। ताइवानमा दिनहुँ हड्ताल हुनथाल्यो, उत्पादन रोकियो र उद्योगधन्दामा तालाबन्दी भयो । सडकमा हिंसा, आगजनीमात्रै, शासन प्रशासन निस्तेज हुनथाले । राजनीतिक अराजकताका कारणले आर्थिक जर्रा जर्रा चरमरायो । ताइवान मानौं, आँँधीहुरी हुण्डरीको सिकार भयो । अस्तव्यस्त ताइवानमा के गर्ने, के नगर्ने ? हाहाकार मच्चियो । त्यसपछि एउटा सोच निस्क्यो र त्यो सोचलाई शासनपद्धतिमा ढालियो । प्रिन्स्टन विश्वविद्यालयका चुनिन्दा विद्यार्थीहरुलाई सिधै मुलुकको राजनीति र आर्थिक योजनाकार बनाइयो । मुलुकका लागि सल्लाहकार बनेका ती होनहार राजनीति र आर्थिक विषयका विद्यार्थीहरुको सुझावमा देश चल्न थाल्यो । राजनीतिक अतिरञ्जनाका भाषणबाजी रोकियो । यथार्थवादी नीतिहरु कार्यान्वयन हुनथाले । विरुवा राम्रो हुनुपर्छ र मालीको लगन पायो भने विरुवा हुर्कन्छ, फुल्छ र फल्छ पनि । युवा अग्रसर भएपछि नभन्दै ताइवान सफल भयो । आज नेपालको तस्वीर असिना पसेको गोबरको जस्तो छ ।
प्रकृतिको वरदान, प्राकृतिक सम्पदाको खानी नेपाल, गरिब छ। बिकृत मानसिकता बोकेको राजनीतिक खियाले खाएको मुलुक हो नेपाल। युवाहरु उपेक्षित भएको मुलुक हो नेपाल । शिक्षित, अशिक्षित श्रमशक्ति निकासी गरेर गर्व गर्छौं र रेमिटान्स भित्रियो भनेर त्यसको बहीखाता च्याप्न अभ्यस्त छ नेपाल । जनशक्ति पलायन हुनु भनेको बिनास हो भनेर नबुझ्ने मुलुक हो नेपाल। रेमिटान्सले देशको प्रगति हुनसक्दैन, युवाशक्तिविहिन मुलुक कहिले पनि निर्माण, उत्पादन र प्रगतिको मैदानमा उभिन सक्दैन भन्ने यथार्थ योजनाकार, अर्थवेत्ता, समाजशास्त्री, अधिकारकर्मीहरुले बुझेर बुझ्पचाइरहने मुलुक हो नेपाल। संचेतन, बुद्धिजीवी धेरै भएको मुर्खहरुके मुलुक हो नेपाल ।
सरकारलाई थाहै छैन, कति बैध र कति अवैध मार्गबाट कति, कुन कुन देश पुगेका छन्। जो विदेश गइरहेका छन्, कति प्रतिशत शीप सिकेर फर्केका छन् ? सरकारसँग हिसाव छैन । जो सग्ला वैदेशिक रोजगारीमा गएका छन्, प्रत्येक दिन कतिजनाको लाश आउने गरेको छ, सरकार सूचना लुकाउँछ । रोजगार प्रवद्र्धन बोर्ड भन्ने सरकारी निकाय छ, त्यसको तथ्यांक अनुसार बैध रुपमा वैदेशिक रोजगारीमा गएकाहरुमध्ये १० वर्षमा ७ हजारको शब आएको छ । एक अधिकारी भन्छन्– अबैध गएकाहरुको तथ्यांक छैन, योभन्दा बढीको मृत्यु भएको हुनसक्छ । र, महिलाहरु पागल बनेर, दुईजीउकी भएर, बच्चा च्यापेर फर्किरहेका छन्, कति युवा विदेशको जेलमा, सडकमा, अलपत्र परेका छन्, त्यसको जानकारी पनि छैन सरकारलाई । एमनेस्टी इन्टरनेशनलले कतारमा नेपाली श्रमिकमाथि पशुको व्यवहार गरेको रिपोर्ट सार्वजनिक गर्‍यो, संसद, सरकार, परराष्ट्र र राजनीतिक दलहरुले सामान्य लज्जाबोधसमेत गरेनन् । कैयौं देशका सडकमा, दूतावासहरुमा असरल्ल नेपाली श्रमिकहरु मृत्युसमान जीवन बिताइरहेका छन्, श्रमशोषण भइरहेको छ, तिनको सोधखोज, उद्दार गर्ने फुर्सद छैन सरकारलाई । सरकार र राजनीतिक दलहरु माफिया, तस्कर, कमिशनखोरहरुसँग कुरा मिलाउनै मस्त छन्, भ्रष्टाचार गर्नमै दङ्ग छन्, कसरी बन्छ देश ? कसरी देखिन्छ सुशासन ? प्रधानन्यायाधीश बन्न अयोग्य, आरोपित व्यक्ति न्यायाधीश बनाइन्छ, कसरी स्थापित हुन्छ बिधिको शासन ? सपना देख्नुपर्छ, सपना पूरा गर्न युवाशक्तिको महत्व कहिले बुझ्ने ?
हिजो राजतन्त्र थियो, यो त सामन्ततन्त्र भयो भन्ने स्याल हुइयाँ चलाएर किनारा लगाइयो । हिन्दुराष्ट्र खौरेर धर्मपरिवर्तनको अवसर दिएर इसाईलाई बौरने अवसर दिइयो । जो अनुयायी थिए ती सबै युद्धमैदानबाट कुलेलम ठोके, निशस्त्र, चक्रव्यूहमा एक्लो पारिएपछि विचरो राजतन्त्र, हिन्दुवाद कसरी टिक्न सक्थ्यो र ? मौन बसिरह्यो । मौन बसिरहेको छ । नेपाललाई स्वर्ग बनाउँछु भन्ने नक्कली मयुरहरु नाचिरहेका छन् ।
यो दुरावस्थाको मुक्तिका लागि युवा अघि सर्नैपर्छ । एउटा नयाँ सोच, ताइवान अथवा सिंगापुरमा प्रयोग गरिएजस्तै प्रयोग हुनैपर्छ । युवा निकासी गर्ने होइन, युवा विदेश पलायन भएर होइन, युवाहरुलाई शासन, प्रशासन, आर्थिक सुधारमा संलग्न गराएरमात्र यो देशको भविष्य सुनिश्चित हुनसक्छ । पुरानो पुस्ता सत्ता राजनीति गरिरहेछ, समयको बेग थाम्न र थेग्ने नयाँपुस्ताले हो । आधुनिकतालाई सुमर्न, पगार्न युवाशक्ति नै चाहिन्छ । चौतारीमा सम्मानित भएर युवाहरुलाई उत्साहित गर्ने उमेरका बुढाहरुमा लेशमात्र पनि देशभक्ति छ भने उनीहरुले युवाहरुका लागि ठाउँ खाली गरिदिनुपर्छ । युवा सम्हाल देश भन्न सक्नुपर्छ ।
२० देखि ३० वर्षसम्मका युवाहरु प्रशासनमा, ४० वर्षसम्मका युवाहरु राजनीतिमा आउनुपर्छ  । प्राकृतिक श्रोत पर्याप्त छ, त्यसमा बौद्धिक श्रोत र युवाश्रमले चढ्नुपर्छ । नैतिकवान र इमानदार राजनीतिक खडेरीले देशका भूमिहरु चरचरी चिरिन थालेका छन् । बुढा र बेइमानहरुको बिस्थापन र युवाहरुको स्थापनको आवश्यकता छ । नेपाल आफ्नै खुट्टामा उभिने एकमात्र आधार यही हो । देश बन्नुपर्छ, बनाउँछु भन्ने एकजना इच्छाशक्तिका साथ उभिने हो भने देशको अस्तित्वरक्षाको श्रीगणेश हुनसक्छ । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper