banner
banner

नटुंगिने संक्रमण र युगनायकको प्रतिक्षा

स्वयम्भुनाथ कार्की -
पञ्चायती संविधानको दोश्रो संसोधन अर्थत २०३२ साल पछि नै नेपालको राजनैतिक क्षेत्रमा एक किसिमको नैराश्यता बढदै गएको देखिन्छ । सत्ता र शक्तिको वरिपरी भएकाहरुमा आफुले जे गरे पनि हुने किसिमको घमण्डले कव्जा जमाउँदै गएको देखिन्छ । यस्तो अबस्थामा जनताले आफुलाई उपेक्षित ठान्न थाल्छन् । नेतृत्व पनि योग्यता सावित गर्नुभन्दा आफ्नो अकण्टक पकडमा निरन्तरता खोज्न थाल्छ । यस अबस्थामा जनता विकल्पको खोजी गर्न थाल्छन् । फलस्वरुप जसले जनताको मनमा अलिकति पनि आशा जगाउछ त्यसको गुनगान गर्न थाल्छन् । आवश्यकता परेको हुन्छ, एक युगनायकको जो कोही पनि हुनसक्छ, हिटलर जस्तो दुर्दान्त होस वा बुद्ध जस्तो सौम्य ।
संक्रमणकाल भनेको विधीको स्थापना भै नसकेको, शासकहरुमा चढेको घमण्डले जनता अनिश्चयको भुवरीमा पर्नु परेको अवस्था हो । सबै तर्फका चाटुकारहरुले आफ्नो पक्षलाई पानी माथीको ओभानो बनाउन अरुलाई दोष थुपार्नै परेको अवस्था हो । यो ०७२ को संविधान पछि त झन संविधानमा भएका वा नभएका कुनै पनि कुराहरु हुने गरेका छन् उपलव्धी संस्थागत गर्ने नाममा । अनेकौ रोक लगाउने स्थायी आदेशहरु जारी भएका छन् जो यो संविधानको विपरित छ । संविधानलाई ऐनले मिच्न खोनेका उदाहरणहरु पनि कम छैनन् । पक्कै संविधानले खुट्टा टेक्न नसकेको वेलामा ऐन कानुनको तोक्मा लगाईएको होला । यो तोक्मा लगाउनु पर्ने अवस्था नै संक्रमणकाल हो ।
बिचमा पटकपटक युगनायकको छनक दिने पात्रहरुका प्रार्दुभाव पनि नभएको हैन । यस्ता पात्रलाई जनताले आफ्नो टाउकोमा पनि नराखेको हैन । परिवर्तन गर्न र तात्कालिक चलिआएको व्यबस्था ध्वस्त गर्न सफल भए पनि नयाँ गोरेटो तर्फ डोर्‍याउन भने यस्ता पात्रहरु हालसम्म असफल हुँदै आएका छन् । ६४ पछि त यस्तो पनि अबस्था आएको छ कि कसैले आफ्नो कर्तव्यको एक सानो हिस्सा पनि पुरा गर्‍यो भने त्यसैलाई नायकको सम्मान दिन जनता तँछाड मछाड गर्छन् । कसैले केही गर्न सकेन । आफ्नो अधिकारको दुरुपयोग गरेन भने पनि त्यसलाई उत्तम मानिने वेला नेपालमा छ ।
चाहे सामाजिक क्षेत्रका कोही हुन वा कला क्षेत्रका, प्रहरी हुन वा प्रशासक, नेता हुन वा मन्त्री जसले अलिकति पनि आफ्नो कर्तव्य पालन गरे जनताले तीनको प्रसंशामा कुनै कन्जुसी गरेनन् । सबै जसोको यो योग्यता र क्षमता संभवत त्यसपछि समाप्त भयो, शुरुमा देखाएको झलक बाहेक थप केही गर्न सकेनन् । तै पनि जनताले यस्ताले प्रयाप्त मौका नपाएको हो पाए भने केही गर्नेछन् भन्ने आशा अझै मारेका छैनन्, यत्रो लामो कालो बादलमा देखिएको चाँदीको घेरा यही मात्र हो । युगनायकको आगमन बाधारहित पक्का बाटोबाट हुँदैन, उ त सबै किसिमका बाधा व्यवधान पन्छाउँदै, असंभव प्राय परिस्थितिलाई आफ्नो दास बनाउदै आउँछ । यो कुरा सबैलाई थाहा भए पनि निराशाबाट जोगिन जनताले मौका नपाएकोले हो भनेर आफ्नै मन बुझएका हुन्।
१९ सालको संविधानको दोश्रो संशोधन ३२ सालमा हुँदा त्यसले अपनाएको व्यबस्थाको आत्मामा नै चोट पुगेको थियो । जनप्रतिनिधि भनेर जनताका विचबाट जनताको भलो गर्नेछन् भन्ने धारणा राखिएका पञ्चहरुमा वर्गिकरण भएर पञ्च, महापञ्च भएका थिए । विशुद्ध सामजिक चेतना र विकासको ‘गाउँफर्क राष्ट्रिय अभियान’लाई साम्यवादीको पोलिटव्यूरो जस्तो राजनैतिक संरचनामा रुपान्तरण गरिनु नै जनताको प्रतिनिधि जनता विचबाट भन्ने सिद्धान्तको आवशान थियो । आफ्नो शक्ति प्रदर्शन गर्न जनतालाई हाँकेर भेला पार्ने काम पनि यसैवेला शुरु भयो । पञ्चभेला भनेर गाउँगाउँबाट बोकेर ल्याई प्रदर्शन गर्ने यो चलन अहिले झन मौलाएको छ ।
 जनताको विश्वास र भरोसा जितेर पाउनु पर्ने पद चुक्ली, चाकरी, चाप्लुसीले पाईने परिस्थिति पैदा भए पछि त्यसले जनतालाई पिर्ने नै थियो । यसपछि आएको बहुदलीय संविधानलाई विश्वको उत्कृष्ट संविधान भनेर स्तुति गाईयो । तर दशक पुग्दा नपुग्दै यसलाई विश्वको उत्कृष्ट संविधान भन्नेहरु नै धक मान्ने हुन पुगे । यस्तो किन भयो त ? कारण स्पष्ट छ, युगनायक जस्तो भान आए पनि युगनायक पैदा हुन सकेनन् । जनताले झन आफुलाई उपेक्षित महशुस गर्न थाले । कुनै रविन हुड जस्तो पात्रको आवश्यकता समयले माग गर्‍यो ।
यो माग पुरा गर्न भाटा लिएर माओवादी देखा पर्‍यो । विस्तारै त्यो भाटा बन्दुक, बम  तथा बारुदमा परिणत भयो । नेपाली समाज दुई पक्षमा विभाजित भएर एक अर्काको रगतको खोलो बगाउन थाले । यो सबैको अपराध युगौदेखिको राजतन्त्रलाई बोकाएर त्यसलाई किनारा लगाईयो । जे जस्ता सामाजिक आधार थिए, जुन बाँचेको आपसी सौहार्दता थियो त्यो पनि समाप्त पारियो । वर्तमान अबस्थामा आई पुग्दा युगौदेखि एक अर्काको हाँसोमा हाँसेर र आँशुमा रोएर बसेकाहरुले परस्परको विश्वास गुमाएका छन् । हिजो आफ्नो दुख, विमारमा साथ दिएका, मर्दा पर्दा एक अर्काको काम आएकाहरु आज एक अर्कालाई शंका गर्न विवश छन् ।
यो अबस्थाबाट फेरी एकअर्कामा विश्वास पैदा गराउने, खुसी र दुख साझा मान्न सक्ने नागरिक बनाउने युगनायक चाहिएको छ । संविधान ऐन कानुन सबै जनताको भलोको निमित्त हुने हो, यदि एकले अर्कालाई भरोसा गर्नसक्ने परिस्थिति पैदा गर्न सक्दैन भने त्यस्तो संविधान मुलुकको निमित्त कागजको खोस्टा सिवाए केही हैन । मुलुक एक युगनायकको प्रतिक्षमा छ । त्यो युगनायक जो पनि हुन सक्छ, जुन वंश समुदायको पनि हुनसक्छ त्यसको विगत जे पनि हुनसक्छ । अहिलेको अबस्थाबाट त्राण दिएर जनताको भलोको निमित्त जे जस्तो व्यबस्था भए पनि स्विकार छ तर त्यो युगनायक छिटै आओस अहिलेलाई यही प्रार्थना छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper