banner
banner

कांग्रेसी गुटबाजी हारेको हो

राजन कार्की- 
कांग्रेस अव कुन बाटो हिड्ला ? कांग्रेस माइतीघरमा सिमित भयो भनेर प्रधानमन्त्री तथा नेकपाका अध्यक्षले होच्याएपछि देशव्यापी विरोध प्रदर्शन गरेर अधिनायकवादमाथि खबरदारी  गरेको कांग्रेस वास्तवमा कम्युनिष्टसँग कसरी मुकाविला गर्ने भनेर ठम्याउन नसकेको रनभुल्ल स्थितिमा छ । हिजो गंगामायाँ र डा.गोविन्द केसीको अनसनको समर्थन गरेको कांग्रेस अहिले सर्वोच्च अदालतलाई कम्युनिष्टकरण गरेकोमा र अधिनायकत्व चलाउन थालेको विरोधलाई मुद्दा बनाउँदैछ । पहाडी भूकम्पपीडित, मधेसका बाढीपीडित, बढ्दो कूशासन, बलात्कार र जनतामाथि थोपरिएका करका अतिभारलाई टपक्कै टिपेर राँको बाल्न सकेको देखिदैन ।
बहुमत भएकाले ५ वर्षका लागि नेकपाको शासन बन्यो । सत्ताबाट खगार्ने राजनीतिक बल कांग्रेससँग छैन । बल जनताले दिने हो, जनताको असन्तुष्टि बढ्दो छ, त्यो असन्तुष्टिलाई क्यास गरेर संगठन मजबुत पार्न कांग्रेस एकढिक्का हुनसकेको देखिदैन ।
मधेसका दलपतिहरुसँग मधेस दिक्क छ, त्यो भूमिमा कांग्रेस सजिलै फस्टाउन सक्छ । नेकपाभित्र असन्तुष्ट धेरै छन्, तिनलाई समेट्न सक्छ । हिन्दुवादी र राजसंस्थावादी यसपटकको चुनावमा यसरी रिसाए कि सबैले एमालेलाई भोट खन्याइदिए । यो त एमाले र माओवादीको चलाखी होकि चुनाव जितेपछि उनीहरु नेकपा बने । नेकपाको शासनलाई ५० वर्ष चलाउने सपना देखे । मिलेपछि इन्द्रको बाउ चन्द्र आए पनि हल्लाउन, लडाउन सक्दैन भन्ने अभेद्य किल्ला तैयार पारे । उता मधेसी नेताहरुको चालै उही छ, चुनाव जित्ने मधेसलाई बेवास्ता गर्ने, सत्ताको राजनीति थालिहाल्ने ।
यसरी हेर्दा मधेस, हिन्दुवाद र राजसंस्थावादलाई नेपाली काग्रेसले विश्वासमा लिनसक्यो भने नेकपाको दम्भयुक्त सिंहनाद स्यालहुइयामा सिमित हुँदै आगामी चुनावमा अहिलेको परिदृश्य फेरिनसक्छ । कांग्रेस तीन घुम्तीमा उभिएको छ, तीन घुम्तीलाई चिन्न सके र सहीमार्ग पहिल्याएर सोहीअनुसारको नीति निर्माण गर्नसके सत्ता र सिंहदरवार पुग्ने मार्ग यही हुनेछ ।
किनभने नेकपाको किल्ला तोड्नु कांग्रेसका लागि फलाम चपाउनु जस्तै हो । यो फलाम चपाउनका लागि कांग्रेसको बुताको कुरा छैन अहिले । कांग्रेस खुलेआम हिन्दुवाद र राजसंस्थावादमा उत्रेन भने, पहाड र मधेसमैत्री बनेन भने, नेपाली कांग्रेस केपी ओलीले भनेझैं काहीँ पनि देखिने छैन । यसकारण अग्नि परीक्षा सुरु भयो नेपाली कांग्रेसको । चुनाव हारेको कांग्रेसलाई कसरी उठाउने भन्ने चिन्तन सुरु गरेको छैन । कांग्रेसले जति अबेर गर्छ, त्यो नेकपाका लागि बोनस सरह हुनेछ ।
आम निर्वाचनपछि कांग्रेसलाई सन्निपात लागेको हो । मतदातले सिस्नोपानी हानेपछि सोत्राम भएको कांग्रेस हारको कारण खोज्न जुट्नुपर्ने हो । नेपालको प्रजातान्त्रिक अध्यायका लागि सात दशकदेखि बिडा उठाएको कांग्रेसलाई कम्युनिष्टले यसरी पछारिदिए कि यो हारको दलदलबाट जीतको शिखरमा पुग्न चानचुने प्रयासले पुग्दैन, ठूलै परिश्रम गर्नुपर्ने पक्का छ ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले प्रतिपक्षविहीन संसद चलाउन सबै संवैधानिक निकायमा आफ्नो पकड बढाउँदै गएका छन् भने कांग्रेसलाई माइतीघरमा सिमित भएछ भनेर पटक पटक हाँसो उडारहेका छन् । तैपनि नेपाली कांग्रेसको चेत फिरेको छैन । कांग्रेसका सामु माथि उल्लेखगरेअनुसारका तीन मार्गमात्र बाँकी छन् । पहिलो हिन्दुराष्ट्र र दोस्रो राजसंस्थावाद र तेश्रो पहाड तराईमैत्री । यदि नेपाली कांग्रेसले यी तीन मार्गलाई आफ्नो सिद्धान्त, घोषणापत्र, नीतिमा समावेश गरेन भने साँच्चै कांग्रेस माइतीघर मण्डलाबाट समेत हराउन सक्नेछ ।
बालकृष्ण ढुंगेललाई नाटकीय थुनामा राखेर राष्ट्रपतिबाट माफी दिलाइयो, कांग्रेस हेरेको हेर्‍यै भयो । संस्कृत विश्वविद्यालयका उपकूलपतिको मान मर्दन गर्दा पनि कांग्रेसले केही गर्न सकेन । ट्रमा सेन्टरका डाक्टरलाई अपहरण गरेर गृह पुर्‍याइयो, भनेअनुसारको सध्ये व्यक्तिलाई विरामी भनेर लेख्न लगाइयो, यो अनैतिक कर्मको विरोध गर्न समेत कांग्रेस चुक्यो । गृहमन्त्री र सांसद रामवहादुर थापा र नविना लामाले सत्याग्रही डा.गोविन्द केसीलाई तानाशाह, अधिनायकवादी मात्र भनिएन, तिनी हत्यारा भएकाले देश निकाला गर्नुपर्छ भनेर आरोप लगाए । यो सबै सुनेर बस्यो नेपाली कांग्रेस । कांग्रेसको आन्दोलन सहायकजस्तो बन्यो, निर्णायक हुनसकेन, नागरिकले पत्याएनन्, प्रतिपक्षलाई नराम्रो गरी लतारिदिए ।
यतिमात्र होइन, नेपाल टीभीको कार्यक्रम नै बन्द गराइयो, कडा अन्तर्वार्ता लियो भनेर । कांग्रेसको प्रजातन्त्र त्यतिबेला कहाँ गयो ? गृहमन्त्रीले ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई थुन्छु भनेर कारवाही सुरु गरे । प्रचण्ड र ओलीको आदेशमा त्यो कारवाही रोकियो । तिनै गृहमन्त्रीले एनजीओ र आइएनजीओ तथा त्यसका सञ्चालकहरुको सम्पत्ति छानबिन गर्ने पत्र ७७ जिल्लामै काटे । शीतल निवासबाट आदेश आउनासाथ गृहमन्त्री पछि हट्नुपर्‍यो । नेपाली कांग्रेस यो सब हेरेर बस्यो, मुद्दा बनाउन सकेन । र, सरकारले विरोध प्रदर्शन गर्नका लागि निषेधाज्ञा जारी गर्दै ठाउँसमेत तोकिदियो । प्रजातन्त्रको बिडा उठाएको कांग्रेस आफैभित्र रलमलिइरह्यो । तरुण दल र नेवि संघले केही मुद्दा उछालेर विरोध प्रदर्शन गर्न के लागेको थियो, ओली सरकारले टियर ग्यास, लाठी र गोली नै चलायो । कांग्रेस छटपटियो र आँखा चिम्लेर सुस्तायो । देशव्यापी आन्दोलन गर्न सकेन । बढ्दो महिला हिंसा, महगी, असुरक्षालाई समेत कांग्रेसले मुद्दा बनाएर उचाल्न सकेन ।
यसरी सत्ता पेल्दै जाने र प्रमुख प्रतिपक्षी गल्दै जाँदा सत्ताधारीहरु झन झन निरंकूश हुँदै गएका छन् । प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो धर्म निर्वाह गर्न सकेन । प्रतिपक्षी विहीन संसद अर्थात नेकपाको सरकार नेपाली कांग्रेसलाई सहयोगी भनिरहेको छ । सहयोगी कांग्रेसले जनताको कुरा, देशका कुरा कसरी उठाउन सक्छ र ?
देशका ७६१ सरकारमध्ये २ नम्बर प्रदेशबाहेक ७६० सरकारमा नेकपाको बाहुल्यता रहेको छ । ती सबै निकायहरुले बच्चा जन्मोस् कि कोही मरोस्, घरजग्गादेखि सम्पत्ति करमा हजार प्रतिशतसम्म बृद्धि गरेको छ । कर बढाएर नेकपाका नेता कार्यकर्ता पाल्नुपर्ने । संघीयता चलाउन गरीव जनतामाथि करको भार थप्ने । यति ठूलो मुद्दालाई समेत नेपाली कांग्रेसले उठाउन सकेको छैन । बरु वीरगञ्जका व्यापारीले आन्दोलन सुरु गरे, यो आन्दोलन दिनदिनै जनस्तरबाट चर्कदै जाने देखिन्छ । कांग्रेस कुम्भकर्णे निन्द्रामा छ ।
प्रतिपक्षी सुत्यो भने निरंकूशत बढ्छ । प्रतिपक्षी भनेको छायाँ सरकार हो । छायाँ सरकारले सत्तालाई संविधान र प्रजातान्त्रिक मार्गको दायाँवायाँ नजावस् भनेर खबरदारी गर्नुपर्ने हो । नेपाली कांग्रेस कस्तो प्रतिपक्ष हो, जो चुनाव हारेपछि कम्युनिष्टका सामु त्वम् शरणम् गरेजस्तो पो देखिन थाल्यो ।
प्रजातन्त्र कांग्रेसको मूल सिद्धान्त हो । यो सिद्धान्त यतिबेला हारेको मनस्थितिमा छ । चुनाव हार्न जित्न सकिन्छ । प्रजातन्त्र कहिल्यै हार्दैन भनेर कांग्रेसले आफ्नो हारलाई जितमा, प्रजातन्त्र हार्दैन भनेर शक्ति आर्जन गर्नेतिर सोच्नुपर्ने हो । गुटबाजी, बिलखबन्दको अन्यौलमा यसरी बस्नु भनेको कम्युनिष्टलाई कम्युन्यालिस्ट बढाउने अवसर दिनु हो । कांग्रेसले कहिले 
बुझ्ने ? वीपीले राष्ट्रियता, प्रजातन्त्र र राजसंस्थाको त्रिखुट्टीमा यो प्रजातन्त्रको भविष्य देखेका थिए । वीपीका अनुयायी हुन् शेरबहादुर देउवा । उनले यो त्रीखुट्टीबाट चिप्लिएको कांग्रेसलाई पुन: त्यही विन्दुमा पुर्‍याउन, उभ्याउन कांग्रेसको सिद्धान्त, नीति र रणनीतिलाई हिन्दुराष्ट्र र राजसंस्था र मधेशको सहयोग लिन जरुरी छ । कम्युनिष्टले देशलाई ध्वस्तनष्ट र पहिचान नै गुम्ने स्थितिमा पुर्‍याउने खतरा बढेकाले कांग्रेस अव जुरमुराएर उठ्नु र आफ्ना कमजोरी सुधारेर संगठन बलियो पार्नतिर लाग्नैपर्छ ।
विश्वमा समाजवादको महिमा बढेर गएको छ, नेपालमा कांग्रेसको नेतृत्वले सही रणनीति लिन नसक्दा, घोषणापत्रमार्फत राष्ट्रका शक्ति चिनेर तिनलाई विश्वासमा लिन नसक्नुका कारणले जनवादीहरु पो सत्तामा पुगे । समाजवादले चुनाव हार्‍यो । यथार्थमा समाजवाद हारेको होइन, कांग्रेसभित्रको भ्रष्ट चरीत्र र गुटबाजी हारेको हो । समाजवादलाई उठाउने हो भने कांग्रेसभित्रको एकता र हिन्दु, राजसंस्थावाद र मधेशको निकटता नै यतिबेला कांग्रेसका लागि सञ्जिवनी हुनसक्छ । यो समय नेपाली कांग्रेसले सञ्जिवनी बुटी, शक्ति चिन्ने बेला हो ।
लाज मान्नु पर्दैन । देशका लागि, देशवासीका लागि, प्रजातन्त्रका लागि लड्ने हो कांग्रेसले । यदि देश र देशवासीका लागि चिन्ता छ भने हिन्दु र राजसंस्थाका अनुयायीहरु धेरै छन्, यो शक्ति राजनीतिक शक्ति पनि हुन् । किन यो शक्तिका साथ कार्यगत एकता नगर्ने ? यदि कांग्रेस यसमा चुक्यो भने अर्को ऐतिहासिक भूल हुनेछ । ५ वर्ष पछिको चुनावमा पनि कांग्रेसको अहिलेकै हाल हुनजानेछ । यसकारण कांग्रेसले अवेर नगरी मधेश र परम्परागत शक्तिसँग सहकार्य, सहमति र एकताको प्रयास थालिहाल्नुपर्छ ।
कांग्रेसले किन पनि लाज मान्नु पर्दैन, नेकपाले प्रतिगामी भन्ला भन्ने डर मान्नु पर्दैन भने हिन्दु नेपालको धार्मिक मान्यतामा अडिग नेपालीत्व हो । मधेश नेपाल हो, राजसंस्था पनि नेपाली नै हो । हिन्दु सम्प्रदाय ९३ प्रतिशत छन् । यही ९३ प्रतिशतभित्र तीनैतत्व अन्तर्निहित छ । एउटा नेपाली राजनीतिक दलले नेपाली समुदायलाई संगठित पारेर देशसेवाका लागि राजनीति गर्नुको बिकल्प छैन । योभन्दा पवित्र र शक्तिआर्जनको रणनीति नेपाली कांग्रेसका लागि अरु हुनैसक्दैन । तीन घुम्तीमा उभिएर नेपाली कांग्रेसले लोकतान्त्रिक नेपाल हेरोस् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper