banner
banner

सरकार पनि फोस्रो ढुङ्गा

राजन कार्की -
शीर्ष नेता को बनेन प्रधानमन्त्री ? सबैले सत्ता सञ्चालन गरे, देश सञ्चालन गर्न सके कि सकेनन् ? तीतो अनुभव छ आमनागरिकमा । प्राविधिक रुपमा सत्तामा पुग्न जति कठिन छ, सत्तामा पुग्नासाथ त्यो कठिन यात्रा भुलेर स्वार्थको भूमरीको रन्थमोलमा रन्थनिनु र सफलताको आत्मरती गर्नुमा नै शीर्ष नेताहरुको समय बित्यो ।
के यसरी समय बिताउनुमात्र राजनीति हो ? राजनीतिका शीर्षस्थहरुले पालैपालो सत्ताका कमाण्डर बन्ने अवसर त प्राप्त गरे, देशलाई एउटा गतिमा गतिमान गराउने कमाण्ड गर्न सकेनन् । राजनीतिमा टलक्कै टल्कने यी नेताहरु हीरा बन्न सकेनन् । कुनै दिन वीपी कोइराला, मनमोहन अधिकारी थिए, यी नेता र सडकको अवस्था उस्तै छ । कुनबेला टिपरले अचार बनाउँछ कि कतातिर कुन गाडीले लतार्छ, कुन खाल्डामा परेर इतिश्री हुनुपर्ने हो, भन्नै सकिन्न । जनताको जीवन गैरजिम्मेवार सरकारका कारण भगवान भरोसे छ ।
प्रधानमन्त्री केपी ओली चन्द्रागिरी पुगेर ८ घण्टा बिताउँछन्, कण्ठस्थ पारेको कविता वरिपरि भीड राखेर लेख्छन् र मरेपछि पनि सपना देख्न पाउँभन्छन् । भेला भेलाका कविहरुले ओलीमा प्रतिभा देखे, आँसुकविजस्तो भनेर फुक्र्याए पनि । के चाहियो, साँझ डिनरकै आयोजना गरिदिए । साहित्यकारहरु लेख्छन्, सुनाउन र पढाउन लालायित हुन्छन्, हाम्रा प्रधानमन्त्री साहित्यकारहरुलाई नै सुनाउँछन् र आफ्ना सपनाको कविता सुनाउँछन् । ६ महिनामा के गर्‍यो सरकारले, कति लोकतान्त्रिक देखियो सरकार, कुन कुन लोकप्रिय निर्णय गर्‍यो, देखाउने केही नपाएपछि प्रधानमन्त्रीले कविता लेखेर देखाइदिए । कवि ओलीका कविता पनि गोलीजस्ता ।
महत्वपूर्ण सवाल इच्छाशक्ति रहेछ । इच्छाशक्ति नै नहुनु र काँच टल्कनु उस्तै हुनेरहेछ । इतिहासमै सर्वशक्तिमान प्रधानमन्त्री, ६ महिनामा गरेको काम सपना र सपनाको कविता । उनले गरेका निर्णयहरु धमाधम अदालतको अन्तरिम आदेशबाट रोकिने र राजदूत नियुक्त गरेको पनि संविधान विपरित । सरकार नै संविधानको पालना गर्दैन र संविधान कार्यान्वयन गर्छु भन्छ भने संविधान दुर्घटनामा परेन त ?
सीएनएन, वीवीसीजस्ता शक्तिशाली सञ्चारमाध्यमले नेपालको जनयुद्धको, जनआन्दोलनको र दुईपल्ट संविधानसभा, संविधान निर्माण र चुनावबारे आश्चर्यलाग्दा समाचारहरु दिए । नेपालमा कम्युनिष्टले प्रजातन्त्रवादीलाई ह्वाइटवास जस्तै खालको चुनावमा पराजीत पारेको खबर पनि आठौं आश्चर्यकै रुपमा दिए । लामो समय जनताले मिलेर जाउँ भन्ने खालका जनादेश दिएका थिए । स्थिरता, विकास र शान्तिका लागि आमनिर्वाचनमा कम्युनिष्टलाई देश ध्वस्त पार्‍यौ, निर्माण गरेर देखाउ भन्ने बहुमत दिएका छन् । जनादेशबाट उदाएको रातो सूर्यले देशवासीलाई खुशी र न्यानो अनुभूति गराउला ? अहिलेसम्म कम्युनिष्ट पनि कनफट्टा जोगी र भोगी नै साबित भइरहेको छ । ६ महिनामा यही देखियो ।
‘रोक्ने को हो दूरदर्शी विचारका धारा, यो हो नयाँ नेपालको बोक्ने अभिभारा ?’ यो कम्युनिष्टको नारा जनतालाई स्वाद लागेछ, ‘ल, कम्युनिष्ट बोक अभिभारा’ भनेर जनादेश दिएका हुन् । उता झरीमा बाढीपहिरोले जनता मरिरहे, छटपटाइरहे, यता कम्युनिष्ट सरकारले असारे विकासमा भ्रष्टाचार गरेर देखाए । जनादेशको त्यो टाँचालाई कम्युनिष्टले भ्रष्टाचारी ढाँचा देखाएर अपमान पो गरे चुनावमा टलक्क टल्केको एमाले र माओवादी नेकपा बन्यो र नेकपालाई नेपाल कपाकप पो बनाउन थाले । अल्छी तीघ्रे, कम्युनिष्ट बिग्रे भन्ने कतिपय नागरिकहरु ओली देशभक्त हीरा बन्न नखोजेकोमा असन्तुष्ट छन् । सुशासनको शिखर चढ्ला भन्ने अपेक्षा गरेको नेकपा काँचको गुच्चा गुडेझैं अनुशासनहीनताको ओह्रालो गुड्न थालेको छ ।
भन्ने गरिन्छ– टल्कने सबै चिज हीरा हुँँदैनन् । माओ बन्छु भनेर प्रचण्डपथ नै आविस्कार गर्ने जनयुद्धका वैज्ञानिक प्रचण्ड अन्तत: लोकपथमा नोज डाइभ गर्न बाध्य भए । सुशासन र समृद्धिको मेरै सपन हो भन्ने ओली भ्रष्टाचारको दलदलमै फसेका छन् । नेकपालाई जेटजसरी उडाउँछौं भन्ने पाइलटद्वय प्रचण्ड र ओली माफियाका साझेदार नेपाल एयरलाइन्सका पाइलट सुवर्ण अवाले भन्दा भिन्न देखिन छाडेको छ । आमनागरिक यी दुई नेतालाई मिलेको देखेर नेपालमा पनि बिस्मार्क जन्म्यो भन्नेसम्मका खुशीयालीमा थिए । यो सरकारले अहिले जसरी जनतामाथि करको भार र राज्यमाथि अनावश्यक खर्चको भार थोपरेको छ, यो सब भोग्न थालेका नागरिकका लागि बिस्मार्क होइन, यो सरकार पनि बिनसित्तिको साबित भइसके । 
कमरेडहरुका सामु समानताका लागि १९६८ मा छाती थापेर गोली खाने मार्टिन लुथर किङ्जस्तै महामानव बन्ने मौका थियो, सत्ता र सम्पत्तिका लागि भुनभुनाउँदा अवसर गुम्यो, गुमाइरहेका छन् । स्वार्थको खोरियामा अलमलिदा  विद्यमान सशक्तता महान कार्यको आधार बन्न सकेन । 
बोल्सेविक क्रान्तिपछि रुसमा एक लाख मानिस मारिए, भियतनामको सैनिक सरकारले समाजबिरोधी भन्दै हजारौं मानिसको हत्या गर्‍यो, हिटलरले त ३ लाख मानिसलाई गिलोटिनले अचानोमा गिँडे । नेपालमा १७ हजार मानिस मारिएपछि बनाउन लागेको ‘नयाँ
 नेपाल’मा जनताको बली चढाउने क्रान्तिपूजा रोकिएको छैन । जनआन्दोलन, जनयुद्ध र संक्रमणकालभरि सत्ता टिकाउन, परिवर्तनका लागि, देशभक्त देखिन जनता मारिए, अधिनायकवादी शैली स्थापित गर्न नयाँ तरिकाले मान्छे मारिनेक्रम जारी छ । जनता मार्ने पूजा रोकिएको छैन, जनता बाँच्ने पूजा कहिले सुरु गर्ने ? जनयुद्ध, जनआन्दोलन, संविधान, निर्वाचन र निर्वाचित सरकार राजनीतिक हिराखान नै हो, यस्ता हीराखानीबाट निस्केका नेताहरु आफूलाई कम्युनिष्ट भनेर गर्व गर्छन् । यिनले नेपाली बनेर, म नेपाली हुँ भनेर गर्व गर्ने साइत कहिले जुर्छ ? सत्तामा भएपछि चर्चामा, समाचारमा टल्किनु स्वभाविक हो, टल्किरहेकै छन् । काँच टल्किनु र हीरा टल्किनुको फरक जनताले बुझेका छन् । आजका जनता सचेत छन् । फरक यत्ति छ, नेपाली जनता सहनशील छन्, अतिसार नभएसम्म सलहजसरी आक्रमण गर्ने स्वभाव छैन यिनको ।
इतिहासलाई सम्झने हो भने, १९५० पछि कम्युनिष्टको ‘अन्तर्राष्ट्रियवाद’को इस्पाती धारले उठाएको सोभियत रुसको छातामुनी युरोपको सात राष्ट्रले शीतल ताप्नुपर्‍यो । खु्रस्चेवले क्युवालाई क्षेप्यास्त्रसम्म पनि बिक्री गरे । तर, माटोभन्दा अर्को राष्ट्रवाद रहेनछ भन्ने त्यतिबेला प्रमाणित भयो, जतिबेला दुई कम्युनिष्ट रुस र चीनबीच युध्द छेडियो । त्यस्तै हो ग्लोबल भिलेज र भूमण्डलीकरणको नारा पनि । यो नाराले धनी र शक्तिशाली राष्ट्रहरुको ‘आर्थिक कुटनीति’को धरापमा साना राष्ट्रहरुलाई च्यापेर सख्यअनुसारको दबदबा बिस्तार गर्दैछन् । नेपाल यी दुवै र बिस्तारवादको समेत चेपोमा छ । ढुंगा फोरेर पिपल उम्रने अवसर त छ, तर त्यस्तो अक्किल र आँट, साहस र हिम्मत हीराजस्ता नेतामा मात्र हुनेगर्छ, हाम्रा काँचजस्ता नेतामा कहाँ पाउनु ?
ख्रुस्चेव आणविक अस्त्र किन्न ट्रकका ट्रक डलर बोकेर अन्तर्राष्ट्रिय बजार चहार्दा चहार्दै उनले आणबिक अस्त्र किन्ने बस्तु होइन रहेछ भन्ने बुझेर ज्ञान पाएको अनुभूत गरेका थिए । हाम्रा समाजवादी, माओ–लेनिनवादीहरु चारतारा, सूर्य र हँसिया हथौडामा मात्र सिमित छन् । यिनलाई बुद्ध, विज्ञान र प्रकृति थाहा छ तर त्यो नियत र नियममा आवद्ध हुनका लागि परिवर्तित हुनै चाहँदैनन् । यिनीहरु फ्यूजन र रसायनका कुरा गर्छन्, यिनको फ्यूजन र रसायन भनेको सत्तास्वार्थको स्वर्गानुभूतिमात्र हो । लोकतन्त्र भनेको पाएको बेलामा लुट्ने लखनौं लूट हो । नैतिकहीनहरुले लोकलज्जाबाट बच्न गर्ने हाराकिरी यिनका लागि जापानी समाचार मात्र हो ।
टाउकामा गिदी हुनुपर्छ, सत्ताको भोकका किरामात्र सलबलाए भने त्यस्तो नेताले माखो मार्दैन । उसका लागि सत्ता भनेको दुईहातले आफू सोहोर्ने र आफ्नालाई पञ्चदेवको हण्डी बितरण गर्ने ढुकुटीमात्र हुन्छ । यो कस्तो देश भने कांग्रेसी गिरिजाले प्रचण्डलाई काँधमा बोकेर सिंहदरवारमा बसाल्ने र प्रचण्डले गिरिजालाई राष्ट्रपतिको पापा देखाएर लोप्वा ख्वाउने ? देउवाले प्रचण्डलाई हाकिम ठान्ने, तिनै प्रचण्ड आफैले तेश्रो लिंगी भनेका ओलीसँग आन्द्राभुँडी जोड्ने । धर्मनिरपेक्ष घोषणा गर्न मिल्नेहरु, गणतन्त्र घोषणा गर्नेहरु, संविधान जारी गर्नेहरुबारे एमाले कित्ताका कवि लेखक नारायण ढकालको विज्ञासा छ– ‘१९८४ मा गठन भएको रिमको सदस्य माओवादी भारत, बंगलादेश, श्रीलंका, अफगानिस्तान, पेरु, टर्की, ट्युनिसिया, हैटी, इटली, कोलम्बिया, इरान र युएसएका गरी एक दर्जनजति भुरामसिना पार्टीहरूजस्तै हो । ‘यो कुनै प्रतिगामी तागतको गुलाम बन्छ कि बन्दैन’ भन्ने प्रश्न अझै पनि भविष्यको गर्भमा छ ।
नेपालीहरु ढुंगामा देउता देख्छन् र नेतामा देवत्व खोज्छन् । मानवता जहाँ हुन्छ, त्यहाँ देवत्व हुन्छ । दानवी चरीत्र देखाउनेहरुमा मानवता, लोकलज्जा, राष्ट्रिय दायित्व स्यालको सिङ् खोजेजस्तै हो । किनकि राजनीति तिल्के मारवाडीको अखडा जो बनिसक्यो । मुनाफाखोर प्रवृत्ति हीराजस्तो सक्कली टलकमा देखिन्नन् । यत्तिमात्र जानीराखौं– प्रत्येक टल्कने चिज हिरा हुँदैन । अहिले जुन झिलिक मिलिक छ, त्यो हीरा टल्केको होइन ।
नेकपाको चुनावी जित, सरकार निर्माण र सरकार सञ्चालन उही कानै चिरिएको जोगीभन्दा भिन्न छैन । माँगेको भीख बाटैमा ठीक । यो चुनावी जित र सरकार सञ्चालन पनि जोगीको उखानजस्तै हुनेवाला छ किनकि अहिले जे देखिएको छ, ती सबै जनविरोधी र राष्ट्रबिरोधी खालका छन् । खोजेको शालिग्राम पाइयो, फोस्रो ढुङ्गा । सबै ढुङ्गा देवता हुँदैनन् । यो सरकार पनि फोस्रो ढुङ्गा साबित हुनथाल्यो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper