banner
banner

यस्ता पो प्रधानमन्त्री

गोविन्दप्रसाद पौडेल -
हालैका दिनमा जापानमा यति ठूलो बाढी आयो कि जनधनको क्षति भो, ठूलो नोक्सानीले आहत बनेका जापानी प्रधानमन्त्री आवे पीडितको घरघर नै पुगेर यसरी घुँढा टेकेर पीडितको पीडा सुने, क्षतिको विवरण लिए र राहतको आश्वासन दिए । यतिमात्र होइन, यस्तो बेलामा सरकारले के के गर्नसक्छ भनेर पीडितबाटै सुझाव पनि लिए ।
प्रधानमन्त्री सानो भएनन्, उनको कद पनि सानो भएन । जनताको नजरमा, जनताको मनमा उनको सम्मान बढ्यो, सरकारको दायित्व निर्वहनले प्रधानमन्त्रीको ख्याती बढ्यो ।
बाढी त नेपालमा पनि आयो, जनधनको क्षति पनि भयो । राजधानी नै जलथल भयो, भक्तपुरका धेरै ठाउँलाई इतिहासकै पहिलोपल्ट डुबायो पनि । तर प्रधानमन्त्री कतै गएनन् । प्रधानमन्त्री सरकारी निवासलाई नेकपाको पार्टी कार्यालय बनाएर राजनीतिक छलफल गरिरहे । जनता मरेकोमा, पहिरोमा परेकोमा, सुकुम्बासीका हाँडाभाँडा बगाएकोमा समेत प्रधानमन्त्रीले चासो राखेनन् । नेपालको इतिहासमा कुनै पनि प्रधानमन्त्रीले यसरी घुँडा टेकेर जनताको कुरा सुनेनन् । नेपालमा त सद्धे प्रधानमन्त्री राष्ट्रपति कहीँ जानुपर्‍यो भने ट्राफिक जाम गराउँछन्, सिन्दुरे जात्रा भएमात्र जान्छन्, जनतालाल्ई लाइन लगाएर उभ्याएरमात्र भेट्छन् । जापान किन प्रगतिशील छ, नेपाल किन मगन्ते नै भइरहेको छ । यही तस्वीर बाल्छ ।
आफ्नो महत्वपूर्ण विदेश भ्रमण रद्द गरिदिए जापानी प्रधानमन्त्रीले । उनका लागि देश र देशवासी पहिलो हो, विदेश भ्रमण पछिको कुरा । देशमा शान्ति व्यवस्था कायम रह्यो, विपद टर्‍यो भने विदेश भ्रमण गर्न सकिन्छ ।
हुन त यसपाली पनि नेपालको बाढी पहिरोको समस्यामा मन्त्री, पदाधिकारीहरुले मजैले हेलिकोप्टर चढेर लाखौं सिध्याए । ढुकुटी सिध्याउनु र रमाइलो गर्नु त यिनका लागि ठूलो कुरै होइन । यहाँसम्म कि विदेश भ्रमणसमेत यिनीहरु वर्षेनी करोडौं उडाउँछन् जब कि भूकम्पपीडित, बाढीपहिरो पीडितले राज्य छ भनेर कहिल्यै समयमा राहत पाएनन् । पीडितका नाममा भ्रष्टाचार गर्नु नेपालको शासन बनेको छ ।
नेपालका कुनै पनि प्रधानमन्त्रीले जिम्मेवारी बोध गरेनन् । हालैका दिनमा फाउण्डेसनका नाममा संस्कृति मन्त्रीले तोकआदेशको भरमा ६० करोड बाँडे । त्यो रकम पीडितका नाना, खाना र छानाका लागि प्रयोग गर भनेर प्रधानमन्त्रीले भन्न सकेनन् । यसकारण कि त्यो रकमको ६ करोड कांग्रेसीलाई र ५४ करोड नेकपाका नेता कार्यकर्ताले पाउने थिए ।
यस्तै स्वार्थन्धताका कारण कुनै सरकार पनि लोकसरकार बन्नसकेन । कुनै सरकारले लोकका लागि कल्याणकारी काम गर्न सकेनन् । नेपालमा जे भइरहेको छ, भाषणबाजी भइरहेको छ । भाषणले चलेको देश हो । कर्तव्य पूरा गर्नु नपर्ने र भाषण र आश्वासन दिएपछि दङ्ग पर्ने सोझा जनता भएपछि विकास किन हुनुपर्छ, समृद्धि कसरी आउँछ । नेपालको समृद्धि भनेको नेता र तिनका केही कार्यकर्ताको समृद्धि बनेको छ । लोकतन्त्र जनताका लागि कौवालाई बेल पाकेजस्तो र पार्टीलाई पाकेको आँप बनेको छ । यस्तो छ नेपाल ।

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper