banner
banner

चारु मजुमदार बन्न नसकेका कम्युनिष्टहरु

राजन कार्की -
२००७ सालमा नेपाली कांग्रेसले प्रवासबाट लैनछोकडा ल्यायो र तिनलाई बन्दुक बोकाएर मुक्तिसेनाको नाम दियो । राणाको प्रहरी रामदल र कांग्रेसको मुक्तिसेना मिलाएर पहलसिंह लामाको नेतृत्वमा प्रहरी संगठन खडा गरियो, जुन आजको नेपाल प्रहरी हो । यो नेपाल प्रहरी सत्य सेवा सुरक्षाको मन्त्र बोकेर हिडेको छ तर नेपाल प्रहरी देशको कम राजनीतिक पार्टीको आदेश र निर्देशनमा बढी चल्ने गरेको छ ।
२०५२ सालमा सुरु भएको जनयुद्ध १० वर्ष चल्यो । जनयुद्ध हााक्ने कमाण्ड, हाइकमाण्ड सत्तामा पुगेका छन् । त्यसो त २०२८ सालतिर जनवादी विद्रोह गर्ने झापा आन्दोलनकारीका एक नाइके केपी ओली पनि सत्तामा छन् । यी दुबै कम्युनिष्ट थिए र दुबै वामशक्ति मिलेर नेकपा बनाएका छन् । आफूलाई कम्युनिष्ट भन्ने यी दुबै नेता लोकतान्त्रिक अर्थात नेपाली कांग्रेसको नामोनिशान नदेखिने कूतर्क गरिरहेका छन् ।
यिनले बिर्सिए– नक्सलवाडीका कम्युनिष्ट नेता चारु मजुमदारले कार्यकर्ताले पुाजीवादी चोला फेरे भनेर रुखमा झुण्डिएर मर्नुपर्‍यो । चीनका राष्ट्रपति सीजिन पिङले खुला अर्थनीति आगालेर चीनलाई विश्वशक्ति त बनाए, तिनै सीजिन पिङले नेताका सम्पत्ति सबै राष्ट्रको हुने घोषणा गरेका छन् र बेलायतमा नाम चलेका नेपाली प्रोफेसर कुलबहादुर लुइटेलका अनुसार बृटिस दृष्टिमा कम्युनिजम विश्वमा असफल शिद्ध राजनैतिक व्यवस्था हो । अर्थात कम्युनिष्ट गफ होइन, राष्ट्रवाद बलियो पार्ने अभियान पनि उखानटुक्का होइन ।
हो, २०४६ सालको परिवर्तनपछि चुनाव कांग्रेसले जिते पनि देशै राताम्मे देखिएको थियो । सूर्यअंकित झण्डा जनआन्दोलन सफल भएको २०६३ वैशाख ११ गते विहानसम्म कतै थिएन । थियो त रुखका हाँगा र माओवादी लडाका तथा समर्थकका सलह पंक्ति । मंसिर ५ गते शान्ति सम्झौता गर्ने दिनसमेत सूर्यअंकित झण्डाको रङ् कतै कतै मात्र थियो । राजतन्त्रको निर्णय जनमत संग्रहबाट हुनुपर्ने एमालेको अडान एकाएक कुनै आकाशवाणीको निर्देशनमा बदलियो र गणतन्त्र कार्यान्वयन सम्भव भएको हो । गणतन्त्र कार्यान्वयन प्रस्ताव तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधानसभामा पेश गर्न सकेनन्, उनले खेताला पठाए कृष्णप्रसाद सिटौलालाई जो चुनाव हारेका कांग्रेसी थिए । किन ? कसको आदेशले ?
जेहोस्, गणतन्त्र कार्यान्वयन भयो तर संविधान निर्माण गर्ने जिम्मेवारी कम्युनिष्टले पूरा गर्न सकेनन् । ढाडमा टेकेर टाउकोमा हान्ने र लुकेर हिर्काउने रातो कितावका घोकन्ते कम्युनिष्टहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईको प्रधानमन्त्री भएनन् तर दुईपल्टको संविधानसभाको निर्वाचनपछि संविधान जारी गर्ने जिम्मेवारी कांग्रेसका सभापति सुशील कोइरालाले सम्भव बनाए ।
त्यसपछि प्रधानमन्त्री बने केपी ओली । उनले समेत संविधानअनुसार चुनाव गराउने हिम्मत नगरी सत्ता छाडे । चुनाव गरायो कांग्रेसले, कांग्रेस नेतृत्वको शेरबहादुर देउवाको सरकारले । स्थानीय, प्रदेश, राष्ट्रियसभा, संघीय संसदको चुनावको नतिजा कांग्रेसको पक्षमा आएन । शक्ति बन्दुकको नालबाट निस्कन्छ, संसद भनेको बोकाको टाउको देखाएर बाख्रीको मासु बेच्ने थलो भन्ने कम्युनिष्टले स्थानीयदेखि राष्ट्रियतहसम्म चुनाव जित्यो । २०१५ सालमा ४ सिटे कम्युनिष्ट यतिबेला देशैभर राताम्मे छ । यसमाथि दुई जनवादी भनिने एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि त देशै राताम्मे भएको छ ।
लोकतान्त्रिक शासन व्यवस्थामा कम्युनिष्टको जित । के नेपाली जनताले जनवादी व्यवस्थाका लागि जिताएका हुन् कि कम्युनिष्टको लोकतान्त्रिकरणका लागि यसरी प्रचण्ड बहुमत दिएका हुन् ? यो बहसको विषय हो । यो सवालको जवाफका लागि केही वर्ष पर्खनुपर्ला । किनभने सारा विश्व चकित त भयो, नेपालका कम्युनिष्टले चमत्कार त गरे, यो चमत्कारमा नागरिकले समर्थनको पञ्जाछाप पनि लगाइदिए । यो अधिनायकवादका लागि पञ्जाछाप होइन । नागरिकदेखि सिङ्गो विश्व नेपालको कम्युनिष्ट शासनलाई चीलका नजरले हेरिरहेका छन् ।
नेपालमा को छ कम्युनिष्ट, के छ कम्युनिष्ट ? यो गम्भीर प्रश्नमा विश्लेषण सुरु भइसकेको छ ।
कारण, कम्युनिष्टहरु जुकाको जस्तो भ्रष्टाचारी सुँड र पित्ले, घ्याम्पे भुँडीवालको बोलवाला छ । एनजीओदेखि बैंकरसम्म, स्कूलेदेखि युनिभर्सिटीसम्म, स्वास्थ्यदेखि जलस्रोतसम्म, सञ्चारदेखि सेयरबजारसम्म, राज्य र समाजका सबै सञ्जालहरुमा कुनै खन्चुवा, भ्रष्ट, दलाल, पदीय दुरुपयोग गर्ने र नीतिगत भ्रष्टाचारमा चुर्लुम्मै डुबेको छ भने सयमा ८० कम्युनिष्ट छन् । अव त सुनतस्करीदेखि माफियासम्म,  डन र दस्ता खडा गरेर कमाउ अभियानमा लागेका समेत सयमा ८० कम्युनिष्ट नामधारी देखिन्छन् ।
यसकारण प्रश्न उठेको छ– को छ कम्युनिष्ट ? नेपालमा के छ कम्युनिष्टजस्तो ? भर्खर दुईतिहाई बहुमत भएको कम्युनिष्ट सरकारले बजेट ल्यायो, बजेटमा सम्पत्तिको स्रोत नखोजिने भन्ने नीति नै सार्वजनिक भयो । मन्त्री, प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भयो, सबै त सुन र सम्पत्तिले धनाध्ये देखिए । २०४६ सालपछि भ्रष्ट कांग्रेस अथवा मधेसी नेताहरुमात्र होइन, सबैभन्दा भ्रष्ट त कम्युनिष्टहरु पो रहेछन् । यसले के देखाउाछ भने राजनीति कम्युनिष्टका लागि मुनाफाको ग्यारेण्टी भएको पेशा बनेको छ । यो पेशामा कम्युनिष्ट उत्पादक, डिलर, सवडिलर सबै आफै बनेका छन् । सर्वहारा बर्गको नारा लगाउने कुनै कम्युनिष्ट नेता सर्वहाराजस्तो देखिन्छ ?
हरेक कम्युनिष्ट नेताको अनुहार र तिनको रहनसहन हेर्दा लाग्छ, नेपालका कम्युनिष्ट करोडीमल हुन्, अरवका शेख हुन् । करोडीमल र शेखको सोच राष्ट्रिय गौरव, गरीव, किसान, मजदुर, महिला, सिमान्तकृत बर्ग, दलिततिर होइन, स्वार्थ र सत्तामा बढी हुनेगर्छ । जव जनता जनता जोड्न सकिन्न, त्यो देशको आधार जहिले पनि बालुवाको ढिस्को जस्तो हुनेगर्छ । यी कम्युनिष्ट करोडीमल, शेखहरुले राज्यसाग १ सय २६ जातिलाई जोड्ने होइन, यिनलाई फोडेर भोट बैंक निर्माण गर्नतिर नै लागिरहेको देखिन्छ । यहाँसम्म कि योजना आयोग र सरकारको योजना र विकास बजेट संघीयतातिर काटेर सांसदको हातहातमा दिएको छ । सांसदलाई ठेकेदार बनाउने र बिलभपाई मिलाएर भ्रष्टाचार गर भनेर उक्साउने सरकार कसरी राष्ट्रनिर्माण, शान्ति, समृद्धि र सुशासन कायम गर्नसक्छ ?
यो सरकार आफूलाई कम्युनिष्ट सरकार भन्छ, उखु किसानले ५ वर्षदेखि उखु बेचेको पैसा पाएका छैनन्, किसानले मल बीउ बिजन कालोबजारमा किन्नु परेको छ, किसानको उत्पादन सिण्डिकेटवालाले लुटिरहेका छन्, मजदुरको बेहाल भएको छ, परम्परागत नीति हो युवा निकासी गरेर रेमिटान्समा ढलीमली गर्ने, यो सरकार युवा निकासी गर्ने गुहार लाउँदैछ । यस्तो सरकार कम्युनिष्ट सरकार ? चीन, भियतनामबाट सिक्ने भए जनताले ५ वर्षका लागि अवसर दिएकै हुन्, समाजवादका लागि कालजयी निर्णय गरेर महाथिर बन्ने मार्ग लिनुपथ्र्यो । के छ कम्युनिष्ट, को छ कम्युनिष्ट, उही हाटहुट, लाटलुटमात्र छ ।
भ्रम छर्न खप्पीस छ नेकपाको सरकार । पानीजहाज, हावाबाट विजुली, १० वर्षमा देशै स्वर्ग बनाउने कुरा । उफ्, मान्छे हाास्न थालेका छन् । सरकारी निवास अगाडिको बाटो टाल्न नसक्ने, फोहर फाल्ने प्रवन्ध नमिलाउने सरकारले विकासको गुड्डी हाँक्ने ? बुझ्नेहरु भन्छन्– अलि हजम भएन । हजम नहुने कुरा कसरी हजम हुन्थ्यो ।
हुन त पागलको नाम बुद्धिबहादुर, नेत्रहीनको नाम नेत्रबहादुर राख्ने देश हो यो । जो कम्युनिष्टजस्तो छैन, कम्युनिष्टजस्तो केही छैन, ती नेता कम्युनिष्ट नेता, त्यो पार्टी नेकपा । चुनाव जित्नु कम्युनिष्टको सफलता हो, यो जीत देशको सफलता हुनका लागि, कम्युनिष्ट देखिनुपर्छ, नेताहरु कमरेडजस्ता हुनुपर्छ । कांग्रेस नीतिमा अडेन, जनविरोधी काम गर्‍यो, आफैमा बिभाजन भयो, अनेकन कारणले कांग्रेस हार्‍यो । दण्ड जनताले दिने हो, दिनु पर्छ । तर अहिलेको जीत कम्युनिष्टतन्त्रको जीत होइन । भारतले नाकावन्दी लगाइदिदा प्रधानमन्त्री ओली थिए र उनले लिन बाध्य भएको राष्ट्रिय अडानको जीत हो । त्यो अडानभित्रको राष्ट्रवादी ज्वारभाटाको जनशक्ति नबुझ्ने हो भने कम्युनिष्टको जीत छिटै ओह्रालोयात्रातिर लाग्नेछ । त्यसो त, बालकृष्ण ढुंगेललाई दिएको माफी र यो सरकारको नीतिकार्यक्रम तथा बजेटले ठूलै धक्का दिइसकेको छ ।
संविधान लोकतान्त्रिक छ, पद्धति लोकतान्त्रिक हो । कमाण्डमात्र कम्युनिष्टको हातमा हो । यो अनौठो संयोगलाई सदुपयोग गरेर देशको दिशा दिन सकिएन भने फेरि पनि प्रश्न उठ्नेछ, के छ को छ कम्युनिष्ट ?
एउटा डरलाग्दो आशंका गर्न सकिन्छ । भारतले सिक्किम खानका लागि महारानी होप र लेण्डुप दोर्जीको हतियार चलाएको थियो । २१औं शताव्दीमा कम्युनिष्टको ऐतिहासिक विजय, कम्युनिष्टको सरकार ? चाप्लुसका कारण नेपालको राजतन्त्रात्मक इतिहास मेटियो । कम्युनिष्टको यो जीतका पछाडि पराईको कुनै ग्य्राण्ड डिजाइन त छैन ? किनभने जनादेश नै नलिई हिन्दुधर्म र राजतन्त्र सिध्याउने काम यिनैले गरे, यिनले विदेशी सहयोग लिएकै हो । विदेशी पैसाले संविधान लेखियो, चुनाव गराइयो, जित्नेले जिते, विदेशी सहयोगको स्वागत गर्नेले अदालत, संसदसम्म दातृ समूहलाई प्रवेश गराएका छन् । संसदमा नेमकिपाका सांसदको ताजा प्रश्न छ– हामीले खाने भातमा कुन दातृसमुदायको सहयोग छ ? यो प्रश्न मृत्युघण्टाजस्तो बज्दैन भने नेपाल र लोकतन्त्र कसरी बच्छ ? के छ कम्युनिष्ट, को छ कम्युनिष्ट ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper