banner
banner

नेताजीहरु, रत्नमाला बन्ने कि पुतना नै रहने र?

राजन कार्की -
आफ्नो स्तनबाट विषाक्त दुध पिलाएर श्रीकृष्णलाई मार्न आएकी पुतनालाई श्रीकृष्णले दुध पान गरेरै बध गरिदिए । तर, नरकमा होइन, गोलोकको बल्कोनीमा सम्मानपूर्वक बसाले । हाम्रा नजरमा ती राक्षसनी थिइन्, तर श्रीकृष्णका नजरमा पुतना, रत्नमाला थिइन् रे ।
वर्तमान कालखण्डमा नेताहरु पुतनाभन्दा कम छैनन् । सार्वभौम जनता भनेका श्रीकृष्ण नै हुन्, यी जनतालाई विषपान गराइरहेका छन् तैपनि जनता यिनलाई सिंहदरवारको बेलायती बैठकदेखि शितल निवासको अमेरिकी कालिनमा आसिन गराइरहेका छन् । चुनाव यिनैलाई जिताए, मानौं यिनीहरु भगवानका पनि भगवान हुन्, जनताका आदरणीय छन् । रत्नमाला हुन्, तर यी रत्नमाला बन्लान् कि राक्षस जुनीमै रहलान्, परीक्षा सुरु भएको छ ।
के यी जननेताले जनतालाई जनार्दन सम्झेका छन् ? सम्झेका भए जनता किन अकालमा मरिरहेका छन् । तिनले पाउनैपर्ने सेवा किन पाइरहेका छैनन् ? लोककल्याणकारी राज्यका सिद्धान्त जनतामा किन लागू भइरहेको छैन । जनता नेतालाई पुतना रावण होइन, राम सम्झिरहेको छ, ढुंगामा भगवान देखिरहेको छ र आफ्ना भाग्यबिधाता मानिरहेको छ, तर यी प्रजातन्त्रका भगवान अवतारहरु राक्षसी चरित्रले जनतालाई डसिरहेका छन्, चुसिरहेका छन्, मर्नु न बाँच्नुको दोसाूधमा हुटहुटी र छटपटीमा पारिरहेका छन् ।
बिकल्प छैन नागरिकसँग । यिनै नेता सुध्रेलान्, चरित्रवान बन्लान् र लोकतन्त्रको गरिमा र महिमा टल्काउलान् भनेर हिरा मानिरहेका छन् । हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ, तर हाम्रो राजनीतिक आकाशमा कालो बादल त पर्याप्त छन्, चाँदीको घेरा देखिदैन । जे छन्, हिरा भनिएका उही पत्थर छन् । सबै पत्थर कहाँ हिरा हुन्छन् र ? हामी किरालाई हिरा भनिरहेका छौं र किरा हामी, हाम्रो देशलाई खोक्रो र धोत्रो पारिरहेका छन् । हामी सतर्क छैनौं ।
मान्छेभित्र कर्म, धर्म, मर्म र पीडा हुन्छ । त्यो पीडालाई कम गर्ने पद्धति अूगालिन्छ । पद्धति सुनजस्तो छ तर सुनलाई गहना बनाउने पारंगत कारिगर नभएपछि सुन किचिन्छ, नेप्टो थेप्चो हुन्छ । हाम्रो लोकतन्त्रको हालत यस्तै छ । लोकतन्त्रका चालकहरुले आफ्नो कर्म र धर्म मार्गमा नहिडेपछि सवारी दुर्घटना पर्ने खतरा हुन्छ । विवेक, बल र बुद्धिमाथि स्वार्थले प्रधानता पाउँदा हामी जोखिममा छौं, यतिबेला हामी र हामीले अँगालेको पद्धति जोखिममा छ ।
महाभारतमा एउटा प्रसङ्ग छ– अस्वस्थामाको । द्रोणाचार्यको हत्या भएपछि जंगिएका अस्वस्थामाले पाण्डव शिविरमा पुगेर लहरै सुतेका पाँच जनाको बध गरिदिए । तर ती पाण्डव थिएनन्, द्रौपदीका ५ पुत्र थिए । यो थाहा पाएपछि अर्जुनले अस्वस्थामाको हत्या गर्न तैयार भए । यो देखेर द्रौपदीले सम्झाइन्, हेर अर्जुन, अस्वस्थामा मारेर मेरा छोरा फर्कदैनन् । मसँग मेरा पाँच पतिको सहारा छ । तर अस्वस्थामालाई मार्‍यौ भने उनकी पत्नी बेसहारा हुनेछिन् । नमार । यस्तै धर्मसंकट छ, नेपाली जनताका सामु ।
हाम्रा नेता अस्वस्थामा बनेर जनताका सहारा धमाधम ढाल्दैछन् । न राजाको, न धर्मको, न शासन प्रशासनको कसैको पनि सहारा छैन यतिबेला आमनागरिकका लागि । तैपनि यिनले यिनै अस्वस्थामा रुपी नेताहरुलाई सहारा मानिरहेका छन् । समयले, मानव धर्मले पनि नेतालाई जनताको देशको सहारा बन्न निर्देशित गरिरहेको छ । हाम्रा नेता छन् र गुट, फुट र लुटमा व्यस्त अभ्यस्त बनिरहेका छन् । यिनलाई न राजनीतिक धर्म, न राजनीतिक नैतिकताको बन्धनले बाूध्न सकेको छ । कुनै दिन चितवनमा ध्रुवे हात्तीले बर्बादीको ताण्डव देखाएको थियो । हाम्रा नेतृत्वगणले निरन्तर हामीमाथि भ्रष्टाचार, अनियमितता, कमिशनखोरी र माफियागिरी चलाइरहेका छन् । यिनलाई द्रौपदी बनेर नागरिकले कहिलेसम्म माफी दिइरहने, सहारा दिन्छन् भनेर प्रतिक्षा गरिरहने ?
उपयोग गर्नसके केपी ओली र प्रचण्डका सामु चमत्कार देखाउने अनगिन्ति अवसरहरु छन् । स्थानीय, प्रतिनिधिसभा र प्रदेशसभाका चुनावी परिणाम आएपछि सीएनएन र बीबीसीजस्ता विश्वबिख्यात समाचार माध्यमहरुले नेपाली जनताको मतदानको सुझबुझ देखेर ‘आश्चर्य’ व्यक्त गरेका थिए । नेपालमा रातो घाम झुल्क्यो भनेर जिब्रो टोक्ने कति देखिए देखिए । त्यसपछि ओली र प्रचण्डले स्थिरता र आर्थिक क्रान्तिका भाषण ठोकेका ठोक्यै छन् । राजतन्त्र र हिन्दूधर्म फालेपनि शान्ति र निर्माणका धरोहर ठड्याउने एउटा पनि चमत्कार अहिलेसम्म देख्न पाइएको छैन मुलुकले । अव दुईटा राता पार्टीले बहुमत पाएका छन् र राताम्मे नेपाललाई समुन्नतिको शिखर पुर्‍याउने कुरा गर्दैछन् । जनघातको खत बोकेर भ्रष्टाचारी लत छाडेनन् भने हात लाग्यो शून्य हुनेछ । फागुनको दोश्रो हप्तादेखि उदाउने वाममोर्चाको एकलौटी सरकारको नियत र काम गराइमा त्यसको भविष्य निर्धारित हुनेछ ।
चुनावमा जाँदा वाम मोर्चाले ‘रोक्ने को हो हाम्रो विचार धारा, हामी हौं नेपालको बोक्ने अभिभारा ?’ भन्ने नारा लगाएको सुनेपछि जनताले जनादेश दिए– ‘वाम मोर्चा बोक अभिभारा ।’ जनताले वाममोर्चालाई लोकतन्त्र चलाउ भनेर टाँचा ठोकिदिए । अव काम गरेर देखाउने पालो वाममोर्चाको हो । जनताको नजरमा सुन बन्ने कि पित्तल, वाम मोर्चाकै हातमा छ । जनअपेक्षा सुनजस्तो कामको छ ।
भन्ने गरिन्छ– टल्कने सबै चिज हिरा हुँदैनन् । जनयुध्द गर्ने सबै माओ पनि बन्दैनन् । ठूला कुरा गर्ने सबै मदन भण्डारी पनि हुूदैनन् । समाजबाद बोक्ने सबै जयप्रकाश नारायण हुने भए गिरिजाप्रसाद कोइरालाले भ्रष्टाचारको कलङ्क बोकेर इतिश्री हुनुपर्ने थिएन । शेरबहादुर देउवा शेरबाट लज्जित हुनेगरी चुनाव हारेर स्याल बन्नुपर्ने थिएन । दिल्लीले कोइरालाको साथ लगाएर पठाएका प्रचण्ड लोकतन्त्रका हाकिम बन्नपुगे, कोइरालापछिका कांग्रेसका सभापति कारिन्दाको गतिमा पुगेका छन् ।
जनताको सिन्दूर परेको वाममोर्चा चुनावबाट ठूलो पार्टी बन्न सफल भयो, कर्मले ठूलो बन्न सक्ला नसक्ला ? देउवा सरकारले आतङ्ककारी भनेर डामेका प्रचण्ड र आलोचना गरेका ओली चुनावमा बिजयी भए । देउवामा बिस्मार्कको छवि देख्न सकिएन । हुन त २ पटक प्रधानमन्त्री बनेका प्रचण्ड र पूर्वप्रधानमन्त्री ओली पनि कुनै चमत्कारिक व्यक्तित्वका धनी साबित भएका व्यक्ति होइनन् । यी दुबै व्यक्तिका बिगत उज्यालो छैन । 
समानताका लागि १९६८ मा छाती थापेर गोली खाने मार्टिन लुथर किङ्जस्तै महामानव बन्ने मौका थियो, गुमाएकै हुन् दुबैल । दुबै  अलमलमै पटक पटक भारतीय दूतावास छिरेका व्यक्ति हुन् । ‘रोटी र बेटी’को सम्बन्ध छ भन्दै उही खोरियामा रलमलिन पुग्ने खतरा कायमै छ । भारतले नागपास थाप्न थालिसक्यो, राजनीति विकासको सोझो बाटो हिड्छ भन्ने मजबुत खाका यी दुबैमा छैन ।
बोल्सेविक क्रान्तिपछि रुसमा एक लाख मानिस मारिए, भियतनामको सैनिक सरकारले समाजबिरोधी भन्दै हजारौं मानिसको हत्या गर्‍यो, हिटलरले त ३ लाख मानिसलाई गिलोटिनले अचानोमा गिूडे । नेपालमा १७ हजार मानिस मारिएपछि बनाउन लागिएको ‘नयाू नेपाल’मा मानिसको बली चढाउने क्रान्तिपूजा अझै रोकिएको छैन । पीडितले न्याय पाउने कहिले ? मान्छेको पूजा कहिले सुरु हुने हो ? चुनावी हिराखानबाट प्रचण्ड र ओली निस्कन त निस्के, हिरा बन्लान् र मान्छेको पूजा गरेर ? उपचार गर्न वैंकक पुगेका ओलीले मजैले आराम गरे, गुड फ्राइडे मनाउन सकल परिवार राष्ट्रपति भवन छिरेका प्रचण्डले मजैले भोज खाए । ओली थाइलेण्डमा आराम गरेर फर्किए तर देशभित्र पहाडमा ओखती नपाएर भाइरलले सयौं मान्छे खायो, चिसोले मधेसमा सयौं मान्छे मरे, सरकार त अन्धो भयो देखेन रे, ५ वर्षे शासनाधिकारी बनेर जनताबाट पञ्जापत्र पाएका यिनको चर्तिकला अर्को दुर्भाग्य बन्यो । इतिहासलाई सम्झने हो भने, १९५० पछि कम्युनिष्टको ‘अन्तर्राष्ट्रियवाद’को इस्पाती धारले उठाएको सोभियत रुसको छातामुनी युरोपको सात राष्ट्रले शीतल ताप्नुपर्‍यो । खु्रस्चेवले क्युवालाई क्षेप्यास्त्रसम्म पनि बिक्री गरे । तर, माटोभन्दा अर्को राष्ट्रवाद रहेनछ भन्ने त्यतिबेला प्रमाणित भयो, जतिबेला दुई कम्युनिष्ट रुस र चीनबीच युध्द छेडियो । त्यस्तै हो ग्लोबल भिलेज र भूमण्डलीकरणको नारा पनि । यो नाराले धनी र शक्तिशाली राष्ट्रहरुको ‘आर्थिक कुटनीति’को धरापमा साना राष्ट्रहरुलाई च्यापेर सख्यअनुसारको दबदबा बिस्तार गर्दैछन् । नेपाल चेपोमा छ । र, नेपालमा माओवादी लोकतान्त्रिक शक्तिशाली दलको उदय भएको छ । ख्रुस्चेव आणविक अस्त्र किन्न ट्रकका ट्रक डलर बोकेर अन्तर्राष्ट्रिय बजार चहार्दा चहार्दै उनले आणबिक अस्त्र किन्ने बस्तु होइन रहेछ भन्ने बुझेर ठूलो ज्ञान पाएको अनुभूत गरेका थिए । कतै ओली र प्रचण्डबाट ‘रातो घाम’ झुल्कियो भनेर हत्केलाले सूर्य छेक्ने प्रयत्न भयो भने त्यस्तै अतिशयोक्ति हुनजानेछ र पश्चाताप गर्न लामो समय कुर्नुपर्ने छैन । के चाहिं विश्वास गर्न सकिन्छ भने आजको वाममोर्चालाई बुद्ध, विज्ञान र प्रकृति थाहा छ । माओवादी नेतृत्व तहकै बोलीमा बेला–बेलामा फ्यूजनको कुरा पनि आउने गरेको छ । एमाले र माओवादी फ्यूजनको असली ज्ञान भयो भने कसैले ‘हाराकिरी’ गर्नुपर्ने छैन ।
वाम विश्लेषकका अनुसार ‘यो मोर्चा कुनै प्रतिगामी र बिस्तारवादी तागतको गुलाम बन्छ कि बन्दैन’ भन्ने प्रश्न अझै पनि भविष्यको गर्भमा छ । यसकारण अहिलेलाई यत्ति भनौं– वाममोर्चा झुल्के घामले हिमालझैं टल्केको छ । तर प्रत्येक टल्कने चिज हिरा हुँदैन । समयको कसीमा वाममोर्चा नेपालको लोकतान्त्रिक संसारमा परिवर्तनका हिरा साबित हुन सक्लान् कि नसक्लान् ? प्रतिक्षा गरौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper