banner
banner

संविधानले द्रौपदीको नियति नभोगोस्

राजन कार्की -
द्रौपदी : नारी मान, नारी सम्मान, इज्जत र गौरव । जब नारीको इज्जत लुटिन्छ, तव महाभारत हुन्छ, सत्ययुगमा भयो, यो त आधुनिकताले मानवाधिकारको ढोल बजाइरहेको युग । हाम्रो संविधान सिरानमा राखेर सुत्न सकिने त भएन भएन, कम्तिमा यसको इज्जत राख्न त सक्नुपर्‍यो, त्यति पनि सकिएन र संविधानलाई पार्टीपिच्छेका स्वार्थको दुशासनले बलात्कार गर्न थालियो भने राजनीति कहाँ पुग्ला ?
त्यसै पनि जनयुद्ध, जनआन्दोलन, दुई थान संविधानसभा र बल्ल बल्ल संविधान जारी गरेर पनि कार्यान्वयन गर्न नसकेको र संविधानलाई पन्छाएर दलीयतन्त्र हावी भइरहेको यो अवस्थामा आमचुनाव त भयो, जनादेश र संविधान दुबैलाई कुल्चन थालियो भने के होला ?
यसकारण संविधानको पालना सरकारले, पार्टीहरुले, नेताहरुले र त्यसपछि जनताले गर्ने हो । त्यो स्थिति बन्नुपर्छ ।
न हठ ठिक छ, न शठ । हठ र शठवादीहरु सधैं गलत थिए, गलत छन् र गलत हुनेछन् । महाभारतको युद्धको कारण पनि हठ र शठ नै थियो । आधुनिक नेपालको राजनीतिमा हठ र शठको गठ निकै चम्किएको अवस्थामा छ । कतै हामी पनि बिनासको भीरमा त पुगिरहेका छैनौं ? नायकहरु खलनायक भएपछि र तिनले कलुषित राजनीति गर्दा अमृत फल्नुपर्ने लोकबृक्षमा विष फलिरहेको छ । आमनिर्वाचनपछिका लोक अमृतफलको अपेक्षमा छन्, तिनले लोकतान्त्रिक अमृत सेवन गर्न पाउलान् ? नेपाल व्यवहारिक पराधीनताबाट संवैधानिक स्वाधीनताको जग मजबुत पार्न सक्ला ? प्रश्न अनेक छन् । तर निरुत्तर अवस्था छ ।
महाभारतमा द्रौपदीको चीर हरण हुँदा भीष्मदेखि कूलगुरुसम्म सामुन्ने थिए, त्यो चीर हरणलाई चाहेका भए रोक्नसक्थे । तर द्रौपदीलाई दुर्योधन र दुशासनले नाङ्गेझार पारेर महाभारत युद्धको जग हालियो, जसका कारण कुरुबंश बिनासमात्र भएन, आधुनिक युगका लागि लोकाचार र विधि, नीति र नैतिकताको महत्व कति हुन्छ भन्ने उदाहरण बन्न पुगेको छ ।
हिन्दुराष्ट्र र राजतन्त्रको चीर हरण भयो, नयाँ नेपाल बनाउाछु भन्ने नायकहरुले बिना जनादेश, जनबल त्यसरी चीरहरण भइरहँदा हिन्दु गुरु अथवा देशका विचारक, विश्लेषक, नागरिक समाजले केही बोलेनन् । हेरिरहेमात्र । त्यसपछि १० सरकार बनिसक्यो, बल्ल आएर संविधान कार्यान्वयन हुने प्रक्रिया प्रारम्भ भएको छ तर संक्रमणकालीन शान्ति, संघीयता, सिमांकन र समुन्नति हुन्छ भन्ने आश्वस्तता अहिले पनि छैन । राजनीतिक दलहरुवीच शंका र अविश्वास यति धेरै जाज्वल्यमान स्थितिमा छ, हिन्दु र राजतन्त्रवादी शक्ति अगेनाको खरानीभित्रको भुसभुसे झिल्को बनेर बसेको छ र यी सबै कारणले कुनै पनि बेला अर्को महाभारतको मृत्युघण्टा कायमै छ । जोखिम घटेको छैन ।
यतिमात्र होइन, डन र धनवादीले चुनाव जितेर आएका छन्, यस्ता संसदवादीले कानुन बनाउने ? दुधे बालकसहित आठ प्रहरीलाई दिउँसै हत्या गर्ने हिंसावादीले चुनाव जितेको छ, ऊ कानुन निर्माता ? र, १२ वर्षदेखि सेटिङ, डेटिङ, भागबण्डाको गञ्जागोल, सिण्डिकेटको बिस्तार, आलोपालो शासन गर्नेको जालो लोकतन्त्रभित्रको कालो बनेर झन झन कटकटिएको अवस्था छ । २०१५ सालमा ४ सिट जितेको कम्युनिष्ट ५९ वर्षपछि आएर झण्डै दुईतिहाई सिट जितेर संसदवादी शासनको हाकिम बनेको छ । नकाम गर्ने खुम्चिनै पथ्र्यो, नेपाली कांग्रेस खुम्चियो । नकाम त कम्युनिष्टले पनि गरेको छ, २०२८ साले सशस्त्र क्रान्तिवाला एमाले र १० वर्षे जनयुद्धमा १७ हजारको हत्या र ३ हजार बेपत्ता पार्ने माओवादीका नाइके भाइनाइकेहरु कसले दण्ड सजाय भोगेको छ र ? (बालकृष्ण ढुंगेल बाहेक) यी दुबैको मोर्चालाई जनताले शासन गर्ने जनादेश दिएका छन् ।
राताम्मे नेपाल, लोकतन्त्रमा नयाा परिदृश्य, रोमाञ्चक परिदृश्य सुरु हुनेवाला छ । यो कम्युनिष्टले गरेको चमच्कार हो । लोकतन्त्रवादीप्रति लोक कतिसम्म दिक्क भइसकेका रहेछन् भन्ने प्रमाण पनि हो यो । जनादेशलाई नकार्न सकिन्न, सम्मान गर्नैपर्छ । प्रश्न यत्तिमात्र छ कि संसदलाई बोकाको टाउको देखाएर बाख्रीको मासु बेच्ने थलो भन्ने कम्युनिष्टहरुले बोकाको टाउको देखाएर बोकाकै मासु बेच्ने थलो बनाउने सक्लान् कि नसक्लान् ?
हुन त माओवादीभित्र ठूलै रण्डखाल मच्चिएको छ, संसदीय भासमा भासिने कि नभासिने ? अध्यक्ष छन् प्रचण्ड, प्रचण्ड नै माओवादी, माओवादी नै प्रचण्ड भएकाले उनको २४ वर्षदेखिको नेतृत्व कायमै छ । मानौं माओवादी भनेको उत्तरकोरियाको किम बंश हो, जहाँ प्रचण्डको बाहेक कसैको नेतृत्व स्वीकार नै छैन । त्यो माओवादी सत्तामा जाँदैछ, त्यो माओवादी एमालेसाग एकीकरण हुन्छ भन्दैछ र प्रजातान्त्रिक अभ्यास गर्दै आएको एमाले र त्यो माओवादीको फ्यूजन, केमेष्ट्रीको कमाल अव नेपालमा सुरु हुनेवाला छ । हेर्दैजाउँ ।
यो आमनिर्वाचन परिणामले लोकतान्त्रिक गठबन्धनलाई इन्कार गरेर एमालेलाई राष्ट्रिय राजनीतिको मूलधार बनाइदिएको छ, त्यो मूलधारमा माओवादीको खोल्सी मिसिन पुगेको छ । अव खोलो र खोल्सी सहवासबाट कस्तो लोकतान्त्रिक शासन पद्धतिको रुप र स्वारुप काउण्टी शासन उन्मुख हुन्छ कि कन्ट्री शासन ? आउने ५ वर्षले कम्युनिष्टको साउने भेल खप्न र खेप्नै पर्छ । त्यो भेलबाट देश झलमल्ल पार्ने सुशासनको बिजुली उत्पादन हुन्छ कि कन्याएर साध्यै नचल्ने तस्कर, माफिया, कमिशनको खुजली (सुकेलुतो) ? वर्तमान नेपाली कालखण्डको यक्ष प्रश्न यही हो । कम्युनिष्टको शासनको पहिलो परीक्षा बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोगको परिणतिबाट सुरु हुनेछ । ६१ हजार पीडितको उजुरी र राष्ट्रिय अन्तर्राष्ट्रिय मानवाधिकारवादीहरुले भनेजस्तो फौजदारी अभियोगमा दण्डप्रणाली लागू हुनैपर्छ अन्यथा सहन गर्न सकिन्न भन्ने दबाबअनुसार पीडितले न्याय र पीडकले दण्ड पाए भने बिधिप्रतिको सम्मान कायम होला । नेपाल दण्डहीन मुलुकबाट मुक्ति पाउला र नयाँ नेपालको समृद्धि र सुशासन आगालेर अघि बढ्दा । होइन, जालझेल र षडयन्त्र गरेर जनयुद्धकालीन मुद्दामा आममाफी दिने र पीडितलाई राज्यकोषबाट केही रकम दिएर फासफुस भासभुस पारियो भने नेपालको इतिहासमा त्यो कालो दाग सदाका लागि रहिरहनेछ र विश्व समुदायको विश्वास र समर्थनमा डरलाग्दो ह्रास ल्याउने छ ।
यसकारण आमनिर्वाचन, संघीय शासनको ढााचामा अघि बढे पनि राजनीतिक दलहरुका दुर्योधन र दुशासन प्रवृत्तिले संविधान द्रौपदीको चीर हरणको अपमानबाट मुक्त भइसकेको छैन । संविधान जारी भएपछि पनि न्यायाधीश, राजदूत, सचिव, मुख्यसचिव, संवैधानिक पदहरुमा दलीय भागबण्डा चलेकै हो, चलिरहेकै छ । अव बन्ने सरकारका विषयमा वाममोर्चाका सदस्यद्वय एमालेका केपी ओली र माओवादीका प्रचण्डवीच आधा आधा कार्यकाल आलोपालो शासन गर्ने सहमति भएकै हो भनेर चितवनबाट प्रचण्डले ओकलेको सुनिएकै हो । यसबाट पनि प्रष्ट हुन्छ कि संविधान द्रौपदीको नियतिमा छ, अपमानवोधले संविधान सिरानमुनी राखेर शान्तिले सुत्न सकिने सर्वपक्षीय ग्रहणीय पवित्र ग्रन्थ अर्थात राष्ट्रिय विधान बनिसकेको छैन ।
संविधानप्रति राप्रपाहरु, राजपालगायतका मधेसी दलहरुको पनि असन्तुष्टि व्याप्त छ । उनीहरु अहिले पनि संशोधन गर भनिरहेकै छन् । संसदबाहिरका बिप्लव, बैद्यहरुको नेतृत्वको माओवादी संविधानलाई बम बिस्फोटनले उडाउने कार्यमा लागेकै छन् । यसरी व्याप्त संविधान विरोधी भावनालाई संविधान संगत भावनामा ल्याउने कुनै कारगर प्रयास वाममोर्चाले गर्न सक्षम छ भनेर भन्न सकिन्न । कम्युनिष्ट पार्टीहरुवीच नै मतभेद र मनभेद छ । यसबाहेक लोकवादमा निर्णायक भूमिका हिन्दु र राजावादी शक्ति कायमै छ । अलिकति कम्युनिष्ट शक्तिको खुट्टा लरबरायो भने संवैधानिक दुर्घटना हुनसक्छ । किनभने सैनिक शक्ति पनि नेपालमा मजबुत छ । यद्यपि राजनीतिप्रति वाच डग बनेर देशभक्तिमा अडिग यो हिमालजस्तो शक्तिलाई चलाउने दुस्साहस एकपटक प्रचण्डले गर्दा उनको ९ महिने शासन गर्लम्मै ढलेको थियो । अव बन्ने कम्युनिष्ट शासनले यो शक्तिलाई संविधानकै सीमा वारिबाट हेर्ला, नचलाउला । किनभने कम्युनिष्टलाई थाहा छ, आगोलाई नाङ्गो हातले चलाउँदा डाम्छ । त्यो गल्ती नगर्लान् । कम्युनिष्टको रातो ब्यानरलाई अझ राताम्मे हुनेगरी जनमत प्राप्त भएको छ । यसको अर्थ नेपालमा साम्यवादी शासन सुरु भयो भन्ने होइन । कम्युनिष्टले शान्ति, समृद्धि र सुशासनका लागि भोट माँगेका हुन् र जनताले यही एजेण्डालाई मन पराएर जिताएका हुन् । यो यथार्थ कम्युनिष्टले भुल्नेछैन, भुल्यो कि संविधान दुर्घटनामा पर्न जानेछ ।
वाम शासक ओली हुन् कि प्रचण्ड, यी दुबैले संविधानलाई शीरमा राखेर चल्नुपर्नेछ, खुट्टामा राख्ने प्रयत्न गरे भने जारी भएपछि पटक पटक चीर हरणमा परेको संविधान फेरि पनि चीर हरणमा पर्नेछ । हुन त अध्यादेश जारी गर्ने कि नगर्ने, प्रम देउवाले सत्ता हस्तान्तरण गर्ने प्रकृयामा जाने कि नजाने भन्ने बिबादमा वामपन्थी दबाबले संवैधानिक प्रावधान अहिले नै द्युतक्रिडा बनिरहेकै छ । वामपन्थीले अरु दबाब दियो र राष्ट्रपतिले एमाले चरित्र अरु देखाइन भने संविधानको फेरि पनि चीर हरण हुनेछ । हाम्रो कामना यही छ कि संविधान जारी गर्ने शक्ति हुन् कांग्रेस, एमाले, माओवादी र मधेसवादीहरु । आफैले जारी गरेको संविधानका बर्खिलाप आफू अनुकूल व्याख्या गर्नु भन्दा सिधै सर्वोच्चलाई सोधेर निकास निकाल्दा हुनेथियो । राजनीतिक प्रभावमै नियुक्त भएका भए पनि सर्वोच्चले दिनसक्ने निर्णयमा वाममोर्चाले विश्वास नगरेर राजनीति हुँडलो बनेर धमिलो भइरहेको हो ।
यतिमात्र भनौं, संविधानको अरु चीरहरण बन्द होस्, संविधानको दायरामा सबै बसौं, जे जति गल्ती कमजोरी भयो, त्यसलाई सच्याएर अघि बढौं । हार्नेको आक्रोस र जित्नेको अहंकारले लोकतन्त्र हार्छ भन्ने कुरा आत्मसात गर्न जरुरी छ । आवधिक चुनाव हो, फेरि फेरि पनि आउाछ ।
राजनीति वामबंश स्थापित गर्ने वा लोकअंश खोज्ने विषय होइन । लोकतन्त्रको सुन्दरता भनेकै जनादेशप्रतिको सम्मान र जनताप्रतिको जिम्मेवारीको पालना हो । यो कर्तव्यबाट च्यूत हुनु भनेको संविधानको चीर हरण हुनु हो, जसले महाभारतको युद्धमात्र निम्त्याउाछ, शान्ति, समृद्धि र सुशासन आउन सक्दैन । अहिलेलाई बिर्सनै नुहुने राजनीतिक गायत्री मन्त्र यही हो कि विवेक बस्ने ठाउँमा भष्मासुर बसाल्नु भनेको खरानी हुनु हो, यो सत्य सबैले मनन गर्ने समय हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper