banner
banner

वामलहर आयो, विकास लहर आउला ?

राजन कार्की -
आयो दशैं ढोल बजाई गयो दशैं ऋण बोकाई । दशैंका सम्बन्धमा यस्तो भनाई प्रचलित छ । आयो चुनाव दशैं बनेर, गयो चुनाव दशा बनेर भन्न नपरोस् । चुनावी परिणाम आइरहदा वामलहर आयो, यसैगरी वामलहरले विकासको लहर चलाउनुपर्छ । कम्युनिष्टतन्त्र भनेर विनासलीला देखाउने काम हुनु दुर्भाग्य हुनेछ ।
दोश्रो चरणको निर्वाचन सम्पन्न भए लगत्तै मतगणना सुरु हुँदा वामलहर सुनामी बनेरै देखियो, जनादेश वाममोर्चाकै पक्षमा आइरह्यो । र, प्रदेश, प्रतिनिधिसभा र समानुपातिक जनप्रतिनिधिहरु जो जो चुनिएका छन्, चुनिने हुन्, तिनले आफ्ना कबुल, घोषणापत्रलाई थन्क्याउने होइन, कार्यान्वयन गर्नेतिर ध्यान दिनु जरुरी छ । जनताका नजरमा फेरि पनि उही कानै चिरिएका भन्ने भान नपरोस् ।
बम बिस्फोट गराएर जतिसुकै आतंक मच्चाउन खोजे पनि अन्तत: सुरक्षा निकाय र नेपाली सेनाको उच्च सतर्कता र रणनीतिक कार्यकूशलताले निर्वाचन सम्पन्न भयो । निर्वाचनपछि संविधान कार्यान्वयन हुने भनिएको छ, जनप्रतिनिधिहरुले आ–आफ्ना देश र जनताप्रतिको जिम्मेवारी पूरा गरे भने संविधान कार्यान्वयन हुनेछ । पहिलेजस्तै भागबण्डातन्त्र र संवैधानिक आवरणमा नेतातन्त्रलाई निरन्तरता दिए भने संविधान कार्यान्वयन असफल हुनेमात्र होइन, बिसौं अर्व खर्च गरेर सम्पन्न गरिएको निर्वाचन पनि नमीठो ठट्टा, कर्मकाण्डीका रुपमा सिमित हुनपुग्नेछ ।
स्थायी र स्थिर सरकार भयो भने विकास गर्न सकिन्छ भन्ने नेताहरुले चुनाव जितेका छन्, अव तिनले विकासको लहर देखाउनै पर्छ । संविधान कार्यान्वयनमात्र होइन, विधिको शासन सहितको विकास पनि जरुरी छ । भाषणलेमात्र अव देश उँभो लाग्दैन ।
यसकारण जनताले उत्साहका साथ मतदान गरेका हुन्, स्थिर सरकार पनि दिएका छन्, सरकारमा जो जो जानेछन्, तिनले जनताको भावनाको उच्च कदर गर्नैपर्छ । चुनावका दिनहरुमा मतदाताले नुवाई धुवाई, सफा लुगा लगाएर, हर्षका साथ मतदान गर्न गएका दृश्यहरु देखिएको थियो, वास्तवमै निर्वाचन एउटा पर्वजस्तै बनेको हो । अव भ्रष्टाचार र असामाजिक क्रियाकलापले गनाएका जो कोही नेताहरु छन्, तिनले पनि आफ्ना पुराना गल्ती कमजोरीलाई धोइपखाली संसद, प्रदेश र दुबै थरिका सरकारमा प्रवेश गर्ने र कर्तव्य निभाउनु पर्छ ।
 पार्टी र व्यक्तिगत उमेदवारहरुले आफ्ना योजनाहरु, आफूले गर्ने काम र लिने नीतिहरुका बारेमा धुवाँधार प्रचार गरेकै हुन् । ती प्रचारलाई मतदाताले कति गम्भीर रुपमा लिए लिएनन्, त्यसको नतिजा आइरहेको छ । कतिले लोभलालचमा, कतिले भोजभत्तेर खाएर, कतिले पैसा लिएर मतदान पनि गर्लान् तर मतदातामा पटक पटकको निर्वाचनको अभ्यासले राम्रै संचेतना छरिसकेको छ र मतदान गर्ने बेलामा विवेकपूर्ण तरिकाले मतदान गरेका छन्, अव विवेकपूर्ण तरिकाले काम गर्ने पालो नेताहरुको, विजेताहरुको हो ।
उमेदवारहरुले धुवाँधुलो हटाउने, बाटोघाटो, पुलपुलेसा बनाउनेदेखि स्मार्ट सिटी बनाउनेसम्मका सपना देखाएका छन् । यहाँसम्म कि झापाका एक उमेदवारले त चुनाव जितेमा भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्नु आमाको रगत पिए सरह हुनेछ भनेर मतदातालाई आकर्षित गरेको पनि सुनियो । तिनैले चुनाव जितेका छन् र अव आमाको रगत पिउने होइन, आमाको स्याहार गर्ने बेला आयो । जनताले जिताएका नेताहरुले सुशासन दिए भने चुनावी उपहार आममतदाताका लागि त्यही हुनेछ ।
हो, भ्रष्टाचार र तस्करीतन्त्र नेपालको दीर्घ रोग बनिसक्यो । भ्रष्टाचारको ऐंजेरुले सिंगो मुलुककोको शासन, प्रशासन, पद्धति र सञ्चालकहरुलाई गाँजिसकेको छ । यो ऐंजेरु हटेन भने यतिबेलाको निर्वाचनमा आमनागरिकलाई आर्थिक विकासको, आत्मनिर्भरताको, सार्वभौमिक स्वतन्त्रता र स्वाधीनताको जुन कबुल गरिएको छ, त्यो कुनै पनि पूरा हुन सक्नेछैन । यसकारण पनि भ्रष्टाचार गर्दिन भन्ने विजेताहरु खाँचो छ, चुनाव जित्नेले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको सीमामा बस्ने प्रतिवद्धता व्यक्त गरे भने त्यही नै यो निर्वाचनको उपलव्धि हुनेछ र लोकतन्त्रको सुन्दर भविष्यको दरिलो जग पनि यही आधारमा बस्नेछ ।
एक पर्यवेक्षणका अनुसार नेपाली कांग्रेसले १ करोड, एमालेले २ करोड र माओवादीले ३ करोड चन्दा प्राप्त गरेको बैंक रेकर्ड सार्वजनिक गरेको छ । जबकि निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक तर्फका उमेदवारले २५ र १५ लाख खर्च गर्नसक्ने सीमा तोकेको थियो । तर कतिपय उमेदवार एउटैले करोडभन्दा बढी खर्च गरेका चर्चा व्याप्त भएको छ । निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन गरे कडा कारवाही गर्ने चेतावनी दिएको दियै छ र आजसम्म कसैमाथि कुनै कडा कारवाही गरेको रेकर्ड स्वयम् प्रमुख निर्वाचन आयुक्तसँग समेत नभएको उनैको अन्तर्वाताबाट सुनियो । विजेताहरुले त्यो चुनावी खर्च उठाउनेतिर लागे भने भ्रष्टाचार फेरि पनि पन्पिने छ र भ्रष्टाचारमुक्त स्थिर सरकारको जनकामना पानीपानी हुनेछ ।
यद्यपि निर्वाचनका बेला उमेदवारहरुले खर्बभन्दा बढीको खर्च गरेका छन् र ती रकम बैंकिङ्ग प्रणालीबाट चल्तीमा आएको होइन । ती पैसा कहाँबाट आए, कसले लगानी गरे र कसरी कहाँ कहाँ खर्च गरिएको छ भन्ने सम्बन्धमा अनुसन्धान भएको छैन । होला । तर यथार्थ के पनि हो भने जनयुद्ध, जनआन्दोलन र त्यसपछिको दुईपटकको संविधानसभाको निर्वाचन र अहिलेको निर्वाचनले चुनावी चेतनामा अभिबृद्धि गर्न पर्याप्त मद्दत गरेको छ । यद्यपि गरीव धेरै भएको मुलुक भएकाले शासन र प्रशासनको प्रभाव, मनी र मसलले निर्वाचनलाई प्रभावित पार्‍यो होला, त्यसतिर जानुको तुक छैन । चुनाव सकियो, परिणाम आइरहेका छन् र यही नै सत्य हो कि जनादेशभन्दा ठूलो शक्ति केही छैन । यो शक्तिको सवलताका लागि विधियुक्त लोकतन्त्रको संस्थागत विकास निरन्तर जारी रहनुपर्छ । लोकतन्त्रको गरिमा घटाउने काम कतैबाट पनि हुनुहुन्न । पद्धतिको समृद्धि यही हुनेछ ।
मुख्य सवाल चुनाव र परिणाम दशैं पर्व हुनुपर्छ, पर्वका रुपमा विकसित हुँदै जानुपर्छ, दशा बन्नु हुन्न । ५ वर्षे आवधिक निर्वाचन जितेर जाने प्रतिनिधिले जितेको भोलिपल्टैदेखि अनियमित काम गर्न थाले भने त्यो पर्व होइन, सराप बन्नजानेछ । तिनले दूरगामी असर पर्ने खालका निर्णयहरु गरेर स्वार्थ त पूरा गर्लान्, राष्ट्र र जनताले तिनको गल्तीको महगो मूल्य लामो समयसम्म तिर्नुपर्ने हुन्छ । यसकारण पनि अपराधशास्त्रमा लागेका काला कांग्रेसले मात्र होइन, राता कम्युनिष्टले पनि चुनाव जित्नु हुँदैन भनियो र चुनावी नतिजा पनि त्यसैअनुरुप आएको मान्नुपर्छ । असल जनप्रतिनिधिले जित्नुपथ्र्यो, जिते भन्नुपर्छ । जो जिते, तिनीहरु अव पार्टीका होइनन्, देशका सम्पत्ति बनेका छन् । तिनले देश र जनताका लागि काम गर्नुपर्छ । आफ्नो दायित्वबोध गर्नसक्ने र नैतिकतामा अड्न सक्ने जनप्रतिनिधिको इज्जत राख्नुपर्छ ।
लोकतान्त्रिक चुनाव कुनै अधिनायकत्वसहितको हिटलर जन्माउने गर्भगृह हुनुहुन्न । लोकतान्त्रिक चुनाव लोकपद्धतिको लोकार्पण हुनुपर्छ । म नेपाली हुँ भन्ने गर्व गर्नसक्ने आँटिलो विधिनिर्माता चुनावबाट जन्मियो भन्नुपर्छ  । मुलुकको विकासका लागि हामी छौं, मुलुकको नीति निर्माता हौं, मुलुकको भविष्यको जग हाल्छौं भन्ने हिम्मतिलो व्यक्तिलेबाटै लोकतन्त्र बलियो हुने हो । चुनाव दशैं बन्यो, राष्ट्रिय दशा र दुर्दशाको मोचक बन्छ भनेर मानौं । यो मान्यता बनाउने विजेताले हो ।
अहिलेसम्म नेपाली राजनीति स्वार्थका लागि फुट्ने, अवसरका लागि जुट्ने देखिएको छ, यस्तो घटनाक्रमको क्रमभंगता हुनुपर्छ । अवसरवादी चरित्रले लोकतन्त्र घुँडामा बन्चरो प्रहार गरिरहेको छ । चुनाव जित्ने पार्टीले नै हो र पद्धति चलाउने पनि यिनै पार्टीहरुले हुन् । संविधान यिनैले बनाए र ३० महिनासम्म कार्यान्वयन गर्न नसकेको संविधान कार्यान्वयन गर्ने पनि यिनैले हो । अहिलेसम्म जुन सत्ता र शक्तिप्रतिको आशक्तिसहितको गाईजात्रा देखाउँदै आएका छन्, अव त्यो व्यवहारमा शुद्धिकरण जरुरी छ । हुनुपर्छ ।
निर्वाचनपछि देशले नयाँ नेपाल निर्माण गर्ने प्रारम्भविन्दु प्राप्त गर्‍यो । यही विन्दुबाट लोकतान्त्रिक राजमार्गको निर्माण, गति र मति सुरु हुनुपर्छ । अव कुनै पनि दलले संक्रमणकालीन अवस्था भनेर सुख पाउने छैनन् । जति पनि द्वन्द्वकालीन मुद्दाहरु छन्, तिनको न्यायिक छिनोफानो हुनुपर्छ र हिन्दुराष्ट्र, राजावाद र अतिवाद जे जति राजनीतिक मुद्दाहरु छन्, तिनलाई एउटा निकास दिएर लोकतान्त्रिकरणमा सहभागी गराउनै पर्छ । यसकारण यो निर्वाचनको महत्व बढी छ । यो निर्वाचन दशा बन्नुहुन्न, दशैं बन्नुपर्छ । राष्ट्रले धेरै नागरिक गुमायो, धेरै रगत बगायो । समय खेर फाल्यो । अव बन्ने प्रदेश र प्रतिनिधि सभाले स्वावलम्बन र निर्माण, स्थिरता र सम्पन्नताको सुरुआत गर्नुपर्छ । कसैले कसैको नष्टको कामना होइन, सबैले सबैको सहअस्तित्वको सहयात्राको प्रारम्भ विन्दु पहिल्याउन सकियो भने यो निर्वाचन दशैंपर्व हुनेछ ।
सबैलाई स्मरणरहोस्, लोकतन्त्र भनेको भारनढका पन्छीजस्तै हो । दुईटाउके यो पन्छीको एउटा टाउकाले अर्कोलाई सिध्याउँछु भनेर विषपान गर्दा दुबै टाउकोको इतिश्री भएको थियो । लोकतन्त्रमा यसकारण राष्ट्रिय शक्तिहरुको समायोजन र सहअस्तित्व स्वीकार्य जरुरी छ । लोकतन्त्र भएन भने एउटाको बिनास हुँदा सबैको बिनास हुनसक्छ । यत्ति चिन्तन मनन गरौं ।
सम्पावाम सरकार, के छ दरकार
जनादेश वाममोर्चाको पक्षमा गएपछि निश्चित भयो वाम सरकार बन्ने । वाम सरकार, देशमा के के छन् दरकार ? यी प्रश्न महत्वपूर्ण छन् र यसमा विषद छलफल प्रारम्भ भइसकेका छन् ।
प्रजातन्त्रको सम्वद्र्धन, अराजकता, दण्डहीनता, भ्रष्टाचारको अन्त्य र आर्थिक समृद्धि, वर्तमान कालखण्डका सबैभन्दा अहं सवाल हुन् । वाम सरकारका सामु राष्ट्रले अपेक्षा गरेका दरकार यिनै हुन् । स्थिर सरकार बन्नुले यी दरकारहरुको पूर्ति हुन्छ भनेर नै आमनागरिकले वाममोर्चालाई जनादेश दिएका छन्, जनादेशको मर्म र महिमा स्थापित गर्ने नैतिक जिम्मेवारी वाममोर्चाका सामु खडा भइसकेको छ । अन्तिम परिणामा आएपछि कामचलाउ देउवा सरकारले सत्ता हस्तान्तरण गर्नेछ र वाममोर्चाका नेताले सत्ता हातमा लिएर कार्यकालको सुरुआत गर्नेछन् ।
हुन त चुनाव प्रचारका क्रममा कम्युनिष्ट कि प्रजातन्त्र भनेर जनतालाई नेताहरुले सोधे । खासगरी नेपाली कांग्रेसले त देशैभरि यो प्रश्न उठाएर आफूप्रति जनताको ध्यानाकर्षण गर्ने प्रयास गरेको हो । तर जनताले पत्याएनन् । वाममोर्चाले लोकतन्त्र तलमाथि हुन्न भनेको विषयमा नै जनता स्थिर रहे, त्यही कुरो पत्याए र राजनीतिक स्थिरताका लागि वाममोर्चालाई आगामी ५ वर्षको नेतृत्व सुम्पिएका छन् । यद्यपि पुरै नजिता आइसकेको छैन तर वाममोर्चाको पक्षमा चुनावी परिणामको क्रमले ओइरो लाग्न थालेपछि र कांग्रेसपंक्तिभित्र आत्मालोचनासहित आफ्ना कमीकमजोरी केलाउन थालेपछि वाममोर्चाको सरकार बन्नेमा अव कुनै अप्ठेरो देखिदैन । वाममोर्चाले आफूलाई कसरी प्रस्तुत गर्नेभन्ने विषय विश्लेषण सुरु भइसकेको छ र वाममोर्चाको सरकारले जनताका लागि गर्छु भनेका प्रतिवद्धताहरु पूरा गर्न आतुरता पनि देखाउन थालेको छ ।
मुख्य सवाल भनेको भ्रष्टाचारको अन्त्य र विधिको शासन नै हो । वाममोर्चाले भ्रष्टाचार रोक्छौं, सेवाग्राही जनतालाई सुशासन दिन्छौं भनेर काम सुरु गर्नु उचित हुनेछ । अन्यथा यतिबेला आइरहेका निर्वाचन परिणामले कांग्रेसको जुन हविगत देखिएको छ, यो दोहोरिन बेर लाग्नेछैन । जनतालाई माओवादी र एमालेको एकीकरणमा खासै चासो देखिदैन, चासो यी दुबै पार्टी मिलेर देश र जनताको स्वाभिमान र स्वाधीनताको रक्षा गरुन् र मौलाएको भ्रष्टाचारको अन्त्यका साथ प्रगतिका मार्गहरु प्रशस्त गरुन् भन्ने हो । देशमा रोजगारी नपाएर जसरी युवाहरु खाडी मुलुकमा दौडिरहेका छन्, त्यो क्रमलाई रोक्न औद्योगिकीकरणमात्र होइन, युवाहरुलाई आफ्नै मुलुकमा केही गर्न सकिन्छ भन्ने उत्साह जगाउनु पनि उत्तिकै जरुरी छ । जनताको विश्वास जितेपछि देशको विदेश नीतिमा स्थिरता र अन्तर्राष्ट्रिय विश्वास जित्नु वाममोर्चाका लागि जरुरी छ । यसैमा देशको भलो हुनेछ । फेरि पनि उही भ्रष्टाचार, उही भागबण्डा र उही सिण्डिकेट तथा आलोपालोतन्त्र चल्यो भने जनतामा आएको जाँगर र उत्साह मर्न बेर लाग्नेछैन । जनताले जुन विश्वास प्रकट गरेर जनादेश दिएका छन्, त्यो तलमाथि हुनुहुन्न, जनतामा नैराश्यता आउनुहुन्न ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper