banner
banner

संयुक्त राष्ट्रसंघ एवं विश्व महाशक्तिहरूलाई पनि सोच्न बाध्य बनाउँने स्व:राजा वीरेन्द्रको व्यक्तित्व !

-युवराज गौतम 
राजा वीरेन्द्रको आँसु र खुसी – नारायणहिटी दरबारमा भएको हत्याकाण्ड (२०५८ जेठ १९) अत्यन्त पीडादायक घटना थियो । सो घटनामा मारिएका राजा वीरेन्द्र पृथ्वीनारायण शाहका वंशज, राजा त्रिभुवनका नाति र राजा महेन्द्रका सुपुत्र मात्र थिएनन्, आफ्नो कालखण्डमा संसारमै अत्यन्त सम्मानित, विशिष्ट राजनेता (स्टेट्सम्यान) मध्ये एक थिए । अमेरिका, चीन, सोभियत संघ, फ्रान्स, जर्मनी, ब्रिटेन, भारतलगायतका धेरै राष्ट्रको भ्रमण गर्दा उनले पाएको ठूलो सम्मानले नेपाल र नेपालीको शिर ठाडो हुन्थ्यो । एउटा अल्पविकसित राष्ट्रका राष्ट्राध्यक्षले सुसम्पन्न र अति विकसित राष्ट्रका राष्ट्राध्यक्षहरूसँग संवाद गर्दा समसामयिक विषयमा महत्वपूर्ण सुझाव दिन सक्छन् र त्यसले संयुक्त राष्ट्रसंघ एवं महाशक्तिहरूलाई पनि सोच्न बाध्य बनाउँछ भन्ने कुरा राजा वीरेन्द्रले राम्रोसँग प्रमाणित गरेर देखाइदिए ।

ब्रिटेनको इटन कलेज र अक्सफोर्ड विश्वविद्यालय, अमेरिकाको हार्वर्ड विश्वविद्यालय तथा टोकियो विश्वविद्यालयको अब्बल शिक्षाले मात्र राजा वीरेन्द्रको व्यक्तित्वलाई विराट् र उच्च बनाएको होइन । राजदरबारमा परिवारबाट पाएको संस्कार, तालिम, राष्ट्र र जनताप्रति पिताको समर्पण, अदम्य एवं अतुल्य प्रेम एवं राष्ट्रलाई सुदृढ, समृद्ध र युगानुकूल बनाउनुपर्छ भन्ने संचेतनाले राजा वीरेन्द्रलाई सदैव उत्प्रेरित गरिरहेको पाइन्छ । उनको जीवनकाल (२००२ पुस १४ गतेदेखि २०५८ जेठ १९ सम्म) अध्ययन गर्दा व्यक्तिगत सुखसयल, भोगविलास, मोजमज्जा र अर्थहीन कुरामा उनले समय बर्बाद गरेको पाइँदैन । पलपलको सदुपयोग गरे राजा वीरेन्द्रले ।

२०३८ साल भदौ १६ गते पेरिसमा आयोजित अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा राजा वीरेन्द्रले गरेको सम्बोधन संसारमै चर्चित र प्रशंसित बन्न पुग्यो । धनी राष्ट्रहरूले अल्पविकसित राष्ट्रका पीडा, व्यथा, अभाव, बेरोजगारलगायतका गम्भीर समस्याबारेमा स्पष्ट नीति बनाएर सकारात्मक काम गर्नुपर्ने उनको सुझाव र आग्रह थियो । उनले भाषणमा अभिव्यक्त गरेका हृदयस्पर्शी शब्दहरूले त्यहाँ उपस्थित सम्पूर्ण सहभागी द्रवित र भावविभोर बन्न पुगे । अल्पविकसित राष्ट्रहरू (अफगानिस्तान, नेपाल, लाओस, भुटान, मालदिभ्स र समोआ) सहभागी भएको सो राष्ट्रसंघीय सम्मेलनलाई सम्बोधन गर्दै उनले दरिद्रताको चित्रण गरे ।

‘अल्पविकसित देशको एक गरिब व्यक्तिले पौष्टिक आहारा खानै पाउँदैन । संसारमा यस्ता गरिबको संख्या पनि करोडौं छ । उसलाई कुनै पनि रोग लाग्न सक्छ । उसको आयु छोटो छ, ऊ छाप्रोमा बस्छ, जहाँ गरिबी एवं दरिद्रताले उसलाई सधैं घेरिराखेको हुन्छ । न उसले पढेको छ, न त उसमा कुनै सीप नै छ । नियमित रूपमा ऊ खान पाउँदैन र यदि संयोगले एक छाक पाइहाल्यो भने अर्को छाक कताबाट जुटाउने भन्ने डरले उसलाई भयभीत गराउँछ । लुगा लगाएको भए पनि उसको त्यो लुगा झुत्रो मात्र हुन्छ । ऊ नांगै खुट्टाले हिँड्छ ।

फोहोर, अल्पआहार र सरुवा रोगले उसको शरीरमा आफ्ना चिन्हहरू छोडेका हुन्छन् । धेरैजसो ऊ गाउँहरूमा नै बस्छ । ती गाउँ विश्वको शेष भागबाट अलग्ग मात्र होइन, पुग्नै नसकिने हुन्छन् । सहरका फोहर बस्ती अथवा छाप्राहरूमा पनि ऊ भेटिन्छ । उसले पिउने पानी न सुरक्षित हुन्छ न त सफा नै । ऊ कि बेरोजगार हुन्छ कि त अर्धरोजगार । उसले काम पायो भने पनि उसलाई कि बढी काम लगाइन्छ कि त मेहनत हेरी कम पारि श्रमिक दिइन्छ । उसले तिरस्कार र बद्नामी सहनुपर्छ । जन्मदेखि मृत्युपर्यन्त ऊ दरिद्र रहन्छ । धेरैजसो ऊ बाल्यावस्थामै मर्छ । बाँच्यो भने पनि अभाव र विपन्नताले उसलाई मृत्युसम्म छोड्दैन । अन्त्यमा जब उसले संसार छोड्छ, यता बाँच्नेहरूभन्दा मरेर जाने ऊ नै बढी सुखी देखिन्छ ।’

युवराज गौतम

राजा वीरेन्द्रले शक्तिराष्ट्रहरूप्रति कठोर व्यंग्य गर्दै भने, ‘विश्वका गरिबहरूका पक्षमा मैले बोलिरहेको यसै बेला दाल, भातको लागि कराइरहेको एउटा बालकको म आवाज सुन्छु । तर हामी उसलाई दाल, भात अथवा रोटीको बदला बम दिन्छौं । ऊ दयाको भीख माग्दै हामीतिर हेर्छ, तर हामी उसलाई निर्दयताको तिरस्कार दिन्छौं र ऊ शान्तिको कामना गर्छ, हामी युद्धको तयारी गर्छौं ।”

राजा वीरेन्द्रका निम्ति प्रशस्त आन्तरिक चुनौती अग्ला र दुर्लङ्घ्य पहाड बनेर उभिएका थिए । अन्तर्र्राष्ट्रिय जगत्मा नेपाललाई सम्मानपूर्वक उभ्याउने उनको प्रबल चाहना थियो । जहाँ पुगे पनि उनी राष्ट्र र जनताका हितमा आफ्ना विचार प्रस्ट राख्थे । संवादका क्रममा केही पश्चिमा राष्ट्रले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषित गरिएमा प्रशस्त सहायता गर्ने प्रस्ताव पनि राखे तर ‘आफ्ना प्राचीन धर्म-संस्कृति र परम्परा त तपाईंहरूलाई पनि प्रिय लाग्छ नि होइन र ? नेपालको संविधानमा प्राचीन धर्म-संस्कृतिको रक्षा गर्ने प्रावधान के गलत छ र ? ‘ भनेर राजा वीरेन्द्रले जर्मनीका चान्सलर हेल्मुट कोललगायतलाई प्रतिप्रश्न गर्दा ती राजनेता मौन हुन्थे ।

राजा वीरेन्द्रसँग निकट रहेर काम गरेका उनका शिक्षक तथा स्वकीय सचिव नारायणप्रसाद श्रेष्ठ भन्छन्, ‘विश्वको गहिरो ज्ञान र शालीन भाषामा तर्क गर्ने उहाँको विलक्षण क्षमताले जहाँ गए पनि नेपालको राष्ट्राध्यक्ष भन्नासाथ ती मुलुकका राजा, राष्ट्रपति, सरकार प्रमुख र कूटनीतिज्ञहरू अत्यन्त श्रद्धा गर्थे । राजा वीरेन्द्रको आकर्षक व्यक्तित्व, विद्वता र क्षमता देखेर उनीहरू प्रभावित हुन्थे ।’

राजा वीरेन्द्रले सबैतिर विकासको उज्यालो पुगोस् भन्ने उद्देश्यले नेपाललाई पाँचवटा विकास क्षेत्र बनाएर धनकुटा, पोखरा, सुर्खेत र दिपायल (डोटी) लाई क्षेत्रीय सदरमुकाम बनाए । उनले सेना, प्रहरी र निजामती कर्मचारी र स्काउटलाई समेत आधुनिक बनाउँदै लगे । भारतसँग मात्र भर पर्नुपर्ने अवस्थाबाट मुक्ति पाउन उनले चीनसँग सम्बन्ध अझ सुदृढ गरे । सार्कको प्रधान कार्यालय काठमाडौंमै राख्ने प्रबन्ध मिलाए । संयुक्त राट्रसंघ र विकसित राष्ट्रका परियोजनाहरू भित्याएर नेपालका हिमाली, पहाडी र तराईका जिल्लामा विकासको रक्तसञ्चार गराए ।

कर्णाली क्षेत्रको विकास गर्न उनले नेपाली सेनालाई कर्णाली राजमार्ग बनाउने काममा खटाए भने सेनाले धेरै ठाउँमा विकास निर्माणका उल्लेखनीय काम गरेको छ । कोहलपुर-वनबासा सडक खण्ड, कर्णालीको पुल, झापा-इलाममा चिया खेतीको आधुनिकीकरण, मेची राजमार्ग, कोशी राजमार्ग, विभिन्न जिल्लाका सडक सञ्जाल, कृषिको आधुनिकीकरण, शिक्षा, सञ्चार, उद्योग र स्वास्थ्य क्षेत्रमा सुधार, लुम्बिनी क्षेत्रको प्रगति, जनकपुरधाम विकास परियोजना, यातायात, वन संरक्षण, पर्यटन प्रवद्र्धनलगायत विविध क्षेत्रमा वीरेन्द्रले देखाएको चासो र तद्नुसारको निर्देशनले धेरै ठूला परियोजना सम्पन्न भएका छन् । मध्यपहाडी राजमार्ग उनकै सपना थियो । नेपाललाई ऊर्जालगायतका सम्पूर्ण कुरामा आत्मनिर्भर बनाउन चाहन्थे उनी ।

युवराज छँदा उनले त्रिशूलीदेखि बुटवलसम्म पैदल यात्रा गरे । मेचीदेखि महाकालीका विभिन्न भागमा सिपाहीको पोसाक लगाएर जनताको दुःख, दर्द बुझ्न झुप्रा-झुप्रामा पुगे । पाल्पा भ्रमणमा गएका बेला उनले तत्कालीन बडाहाकिम कृष्णबहादुर बर्मालाई भनेका थिए, ‘हामीले जबर्जस्ती गर्ने होइन, जनताको आवश्यकता बुझेर जनतासँगै हिँड्ने, जनतासँगै सोच्ने र जनतासँगै काम गर्ने बानी बसाउनुपर्छ ।’

नेपाललाई सदैव सुरक्षित, स्वतन्त्र, शान्त र समुन्नत बनाउने अभिप्रायले राजा वीरेन्द्रले २०३१ साल फागुन १३ गते (शुभराज्याभिषेकको भोलिपल्ट) शान्ति क्षेत्रको प्रस्ताव राखे । आफ्नो शुभराज्याभिषेकमा काठमाडौंमा उपस्थित भएका विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखसमक्ष उनले नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव राखेका थिए । ११६ राष्ट्रले समर्थन गरे पनि भारतले दुराशयपूर्वक त्यसको समर्थन गरेन ।

२०४५ सालमा राजाले चीनबाट विमानभेदी हतियारसमेत ल्याएर नेपाली सेनालाई सुदृढ गर्न खोज्दा भारतले १५ महिना नाकाबन्दी गर्‍यो । त्यसबेला गोरखापत्र दैनिकमा पत्रकारको रूपमा कार्यरत पंक्तिकारलाई राम्ररी सम्झना छ- भारतले नेपाल चीनपरस्त बन्दैछ भनेर दुष्प्रचार गर्दा प्रतिबन्धित अवस्थामा रहेका नेपालका कुनै पनि दल राष्ट्रको पक्षमा बोलेनन् । ऋषिकेश शाहजस्ता मानवअधिकारवादीले भारतीय टेलिभिजनमा बोल्दै नेपाललाई भारतको सुरक्षा छाताभित्र राख्नुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए ।

राजा वीरेन्द्रले भनेका छन्, ‘संकटको बेला मानिसको पहिचान हुन्छ ।’ बीपीका जेठा छोरा प्रकाश कोइरालालगायतका केही राजनीतिज्ञले राजालाई त्यसबेला हौसला दिएका थिए । राजासँग राजनीतिक मतभिन्नता भए पनि राष्ट्रलाई संकट पर्दा राजतन्त्रवादी र प्रजातन्त्रवादी एकै ठाउँमा बलियोसँग उभिनुपर्छ भन्ने बीपी कोइरालाको अटुट विश्वास थियो । नेपाली कांग्रेसको मेरुदण्ड र धरातल नै त्यही विश्वास थियो । २०४७ सालको संविधान बनाउने काममा अग्रणी भूमिका खेल्ने कांग्रेस पार्टी आज नीतिविहीन र नेताविहीन बनेको छ । त्यो पार्टी ‘भत्क्या पार्टी’ जस्तो छ र गुटहरू प्रबल र निर्णायक बनेका छन् । जोसँग मिल्दा सत्ता प्राप्त हुन्छ, त्यहीसँग टाँसिने नीतिले कांग्रेस मात्र होइन, अरू कैयन् दल पतीत बन्दै गएका छन् । राजा वीरेन्द्र र बीपीले परिकल्पना गरेको प्रजातन्त्रको स्वरूप आज कुरूप देखिएको छ ।

‘मेरो साथी वीरेन्द्र शाह’ शीर्षकको आलेखमा राजा वीरेन्द्रका बाल्यकालका साथी केशवकुमार बुढाथोकीले सन् १९५४ मा दार्जिलिङमा स्कुल पढ्दाका दिनहरूको सम्झना गरेका छन् । ‘हाम्रो पकेट मनी राखिदिने क्यासियर पनि वीरेन्द्र नै थिए । दुई रुपैयाँमा चौरस्तामा घोडा चढ्न पाइन्थ्यो । वीरेन्द्र आफू बीचमै ओर्लेर आफ्नो पैसामा अरू साथीलाई पनि घोडा चढाउँथे । यसो गर्दा सबैको रहर पूरा हुन्थ्यो । पैसाको किफायत हुन्थ्यो ।

उनी थोरै खाना पनि बाँडेर खान्थे । उसिनेको एउटा अन्डा पनि काटेर साथीहरूलाई बाँड्थे । कसैलाई पक्षपात नहोस् भन्ने उनको सानैदेखि स्वभाव थियो । उनी बालकै भए पनि हाम्रा अभिभावक जस्ता थिए । दरबारमा भएको हत्याकाण्डबारे धेरैले अनावश्यक शंका पनि गरे । वीरेन्द्र शाह र उनका भाइहरूको सुमधुर सम्बन्धबारे थाहा नपाउने केही शंकालुहरूले अनर्गल प्रचार पनि गरे । वीरेन्द्र शाहप्रति उनका भाइहरूको कुनै दुर्भावना थिएन ।’

जनताले दुःख भोग्नु नपरोस् भनेर राजा वीरेन्द्र सधैं चिन्तित रहन्थे भनेर पञ्चायतकालीन प्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द र मरीचमान सिंहले लेखेका छन् । ‘नुन, मट्टीतेल, डिजेल, पेट्रोललगायतका विदेशबाट ल्याउनुपर्ने पदार्थहरू वर्षभरिलाई कति चाहिन्छ, अलिकति बढी ल्याउनू र त्यसको दस प्रतिशत स्टक राख्नू । प्रत्येक वर्ष यसो गर्दै जाँदा १० वर्षपछि केही भयो भने एक वर्षसम्म हामीलाई केही फरक पर्दैन’ भनेर राजा वीरेन्द्रले निर्देशन दिएको कुरा चन्दले लेखेका छन् । ( श्री ५ वीरेन्द्र स्मतिग्रन्थ, पृष्ठ ? )

दरबारका पुराना सोफाहरू हटाएर महारानी ऐश्वर्यले नयाँ फर्निचरहरू किन्न सुझाव दिँदा राजाले भनेछन्, ‘जनताले दुःख गरेर तिरेको करबाट यी फर्निचर किनिएका हुन् । पुराना सोफाका कपडा फेरेर मरम्मत गरे हुन्छ, नयाँ किन्नुपर्दैन ।’ राजा वीरेन्द्रको कथन सम्झिँदै दरबारका पुराना कर्मचारी भन्छन् ।

२०४५ सालमा प्रधानमन्त्री रहेका मरीचमान सिंहले पंक्तिकारसँग भनेका थिए, ‘नाकाबन्दीका बेला भारतमा बस्ने लाखौं नेपालीलाई त्यहाँबाट हटाउने हल्ला आयो । राति अबेरसम्म दरबारमा छलफल भयो । ‘गरिबहरूलाई भारतले त्यहाँ काम गरेर खान पनि नदिने भो, नेपालमै ल्याएर केही व्यवस्था गर्नुपर्ला’ भन्दै सरकारबाट चिन्ता व्यक्त गरिबक्स्यो । उहाँका आँखा रसाएका थिए । राजालाई जनताको कत्रो पीर रहेछ भन्ने मैले राम्ररी बुझें।”

जसरी जनताको दुःखमा राजा वीरेन्द्र भावविभोर हुन्थे, त्यसैगरी शान्ति र विकासका योजनाहरू देख्दा उनी खुसी हुन्थे । हिमाली जिल्ला मुस्ताङका पूर्वमन्त्री तथा संस्कृतिविद् कृष्णलाल थकाली भन्छन्, ‘दुर्गम क्षेत्र विकास समिति र गुम्बा विकास समितिमा मात्र होइन, पञ्चायत नीति तथा जाँचबुझ समितिको सदस्य, राष्ट्रिय सभाको सदस्य र मन्त्री भएर मैले काम गर्दा राम्रोसँग दरबार बुझ्ने मौका पाएँ । राजा वीरेन्द्रको प्राथमिकता भनेकै शान्ति र विकास थियो । छिमेकी राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ भन्ने उहाँको धारणा थियो । हिमाल, पहाड र तराई कतै पनि जनतामाथि भेदभाव नहोस् भनेर उहाँ सधैं सतर्क रहेको मैले पाएँ । प्राचीन धर्म-संस्कृतिप्रति उहाँको गहिरो श्रद्धा र अनुराग थियो ।’

राजा वीरेन्द्र सबैका पिता र अभिभावक जस्ता थिए । आफूलाई थाहा नभएका कुरा जोसँग पनि सिक्नुपर्छ भन्ने उनको मान्यता थियो । २०२२ सालमा भारतको मसुरी घुम्न जाँदा उनले भारतीय चलचित्रका हास्य कलाकार जोनी वाकरसँग हास्यव्यंग्यबारे छलफल गरेको प्रा. यदुनाथ खनालले लेखेका छन् । चित्रकला (पेन्टिङ) राजा वीरेन्द्रको सौख (हवी) थियो । उनी कहिलेकाहीं सांस्कृतिक कार्यक्रममा मादल बजाउँथे । सुबी शाहले उनलाई मादल बजाउन सिकाएका थिए । एकपटक विदेश जाँदा आफूले गीत गएको र राजा वीरेन्द्रले मादल बजाएको कुरा कीर्तिनिधि विष्टले आफ्नो संस्मरणमा लेखेका छन् । भनिन्छ- अधिराजकुमारी श्रुतिले बुबासँग पेन्टिङको प्रारम्भिक शिक्षा लिएकी थिइन् ।

सपनाजस्तो कतै हराएर, बिलाएर गए ती दिनहरू । आज विस्तारै हराउँदै छ राष्ट्रको गरिमा र इज्जत । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकासमेत कमजोर बन्दै गएको छ । राष्ट्रमा अहंकार, विखण्डन र विभाजनको कर्कस आवाज सुनिन्छ । यस्तै अन्योलमा राजा वीरेन्द्रले अज्ञात ठाउँबाट आकाशवाणी झैं सोधिरहे जस्तो लाग्छ, ‘कसरी बचाउँछौ यो देश ? कसरी बचाउँछौ राष्ट्रिय एकता र कसरी जोगाउँछौ स्वाभिमान र इतिहास ? ‘

साभार -अन्नपुर्णपोस्ट

२१ साउन २०७४

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper