banner
banner

राजा फालेको बादशाही फूर्तिले देश बन्दैन

राजन कार्की -
एउटा सबल राष्ट्रमा हुनुपर्ने पद्धति, नियम, कानुन, साधन, स्रोत सबैचिज छ, तैपनि राष्ट्रमा असफलता बाहेक केही देखिदैन । किन ?
सक्षम हुनुपर्ने नेतृत्व असक्षम भएरै हो ? नेतृत्वमा हुनुपर्ने विशेषताहरुको अभाव भएकै कारणले राष्ट्र यसरी असक्षम भएर रहनुपर्ने हो त ? अव पनि नागरिकले उत्तर खोजेनन् भने अवेर हुनेछ र उत्तर होइन, स्वाधीनता गुमाउनु पर्ने स्थितिमा पुग्नेछन् ।
भाग्य बनाउन भनेर हामीले परिवर्तन गरेका हौं, परिवर्तन ल्याएका हौं । भाग्य भनेर खोजेको परिवर्तन दुर्भाग्य बन्छ भने यस्तो परिवर्तनमा देखिएका कमी कमजोरी सुधार्ने काम नागरिकले गर्नुपर्छ किनभने नेतृत्व असफल भयो भने नेतृत्वका दुर्गुणहरुलाई सुधार्ने जिम्मा नगारिक हो । धेरै छाडियो, धेरै सुविधा दिइयो । नागरिकले दिएका सुविधालाई नेतृत्वले नागरिकको कमजोरी ठाने, दुरुपयोग गरे । अव त्यस्तो दुरुपयोग गर्न रोक लगाउनुपर्छ । अधिकार दिने, प्रतिनिधि छान्ने, शासक बनाउने जनता हुन् भने तिनले गल्ती गर्दै जान्छन् भने खबरदारी गर्ने पनि नगारिकले नै हो । जति अबेर हुनेछ, नागरिक र राष्ट्रका लागि हानीमात्र हुनेछ । नेतृत्वलाई सही मार्गमा हिडाउन अथवा काम नलाग्ने नेतृत्वलाई परिवर्तन गर्ने हैसियत नागरिकले राख्नै पर्छ । अन्यथा जस्तो नागरिक, उसले पाउने सरकार पनि उस्तै हो भन्ने भनाइ शिद्ध हुनेछ । अव चेतना जाग्ने बेला नागरिकको आएको छ ।
स्पष्ट छ, लोकतन्त्र स्वराज हो कि होइन ? स्वराज हो भने नागरिक खुशी आइसक्नुपर्ने हो । नागरिकहरु खुशी देखिदैनन् । नागरिकमा जति असन्तुष्टि कहीा पनि छैन । पद्धति परिवर्तनपछि शासन, प्रशासन ठीक हुन्छ भनियो, ठीक हुन सकेन । संविधान जारी भएपछि सबैथोक सही हुन्छ भनियो, हुनसकेन । स्थानीय तहको निर्वाचनपछि पनि ठीक र बेठीकका बीचमा द्वन्द्व सुरु भइसकेको छ । बााकी २ नम्बर क्षेत्र र त्यसपछिको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबाट संविधान कार्यान्वयन हुन्छ, सुशासन आउाछ भनिदैछ । नागरिकलाई विश्वास लागिरहेको छैन किनभने राजनीतिक तिनै नेताको लगाममा छ, जो यतिबेलाका ठूला पार्टी हुन् र तिनको मनस्थिति परवर्तन भएको वा हुनसक्ने प्रतिवद्धता देखिदैन । नेताहरु जनतालाई दमन गरेरै चल्न चलाउन सकिन्छ भन्ने मनस्थितिमा रहेका देखिन्छन् ।
जो शासनमा छन्, उनीहरु शासितमाथि शासना दिइरहेका छन् । जो नवनिर्वाचित प्रतिनिधि हुन्, उनीहरु नागरिकको सेवामा होइन, आफूले कसरी सुविधा लिने भन्ने होडबाजीमा आकर्षित भएका छन् । केही गर्ने इच्छाशक्तिसहितको मानसिक स्वस्थता तिनीहरुकोको कार्यशैलीमा देखिदैन । अनि बेठीक देशको हालत सुधार्ने कसले ? चुरो कुरो र मूल प्रश्न भनेको के भयो भने देशको हालत सुध्रिन्छ ?
सुधार्ने शासक र प्रशासकले नै हो । सुधार्ने संविधान र संविधानको पालनाले नै हो । सुधार्ने राजनीति र प्रशासनको नेतृत्व गर्ने बर्गको दृढ इच्छाशक्तिले नै हो । सुधार्ने नागरिक, सरकार र राजनीतिक पार्टीहरुको विश्वासको आधारमा रहेको सुसम्बन्धले नै हो ।
यतिबेला नागरिक र सरकार, नागरिक र राजनीतिक दलहरुवीचको जोडन खुस्किएको छ । अविश्वास र आशंका बढेको छ । राजनीति र प्रशासनका हर्ताकर्ताहरु मिलेर कानुन तोडिरहेका छन्, आफूलाई अनियमितता र भ्रष्टाचारसँग जोडिरहेका छन् । बिधि अवला बनेको छ, अन्यायका नङ्ग्राहरु यत्रतत्र फैलिएका छन् । जसका कारणले संविधान कागजको खोस्टो बनेको छ । अदालतले न्याय दिन्छ भन्ने आमनागरिकको मनोभावनासमेत खलबलिन पुगेको छ । देशका कुनै अंग, कुनै अधिकारीले सही काम, सही समयमा गरेको अनुभूति नागरिकलाई हुनसकेको छैन । मुस्कानसहितको सेवा, नागरिक बडापत्रजस्ता नाराहरु देखावटीमा साँघुरिसकेका छन् ।
हो, सरकार निर्वाचित हो । स्थानीय निकायहरु पनि निर्वाचित भएर आएका छन्, आउने क्रममा छन् । संविधानसभाले संविधान लेख्यो, जारी गर्‍यो र जारी गर्ने यिनै हुन् जो संसद र सरकारमा छन् । तैपनि देशमा अस्थिरता र अराजकता रत्तिभर पनि कम हुनसकेन । नगरवधु नै बन्न परे पनि राजनीति भनेको सत्ता प्राप्ति गर्नु हो भन्ने नजीर स्थापित भएको छ । जसका कारणले राजनीतिले बाटो बिराउादै छ ।
जनआन्दोलनमा यिनै राजनीतिक दलहरुले नागरिकका सामु के के प्रतिवद्धता व्यक्त गरेका थिए । संविधानसभाको निर्वाचनअघि यिनै नेताहरुले नागरिकका सामु कस्ता कस्ता वचन दिएका थिए । स्थानीय चुनावको दौरानमा ठूला दल र ठूला ठूला नेताहरुले नागरिकलाई दिएको आश्वासन र बितरण गरेको घोषणापत्र किन कार्यान्वयन हुन सकेनन् ? एकार्काको खुट्टा तान्ने प्रवृत्ति हिजो थियो, आज झन बढेको छ । एकार्कालाई निचा देखाउने र आफ्नो नाक ठूलो भएको ठान्ने सोच हिजो थियो र आज झन मौलाएको छ । भएका भत्काएर आफू बनिन्छ, बन्नुपर्छ भन्ने बकवास राजनीतिको ध्येय बन्यो जसका कारणले सुशासन कूशासन हुनपुगेको हो । कूशासन एउटा क्षेत्र अथवा एउटा निकायमा मात्र सिमित रहेको छैन, सिंगो देश कूशासनको जाँतोले सिंगो मुलुक पिसिइरहेको छ ।
जनार्दन शर्मा दुधले नुहाएका नेता होइनन् । उनी पनि जनयुद्धमा नागरिक मारेरै नेता बनेका व्यक्ति हुन् । तर उनले कूलमान घिसिङसँग मिलेर केही काम गर्ने जमर्को गरे । सफल पनि भए । प्रचण्ड प्रधानमन्त्री हुँदा १९ घण्टा लोडसेडिङ बेहोरियो, जनार्दन शर्मा उर्जामन्त्री हुँदा कसरी लोडसेडिङ् हट्यो ? राजनीति र प्रशासन माफिया पालेर चलेको रहेछ, माफियामाथि झटारो हान्नसके स्थिति सुधार्न सकिने रहेछ त ? नागरिक विश्वास सत्तामा बस्नेको यस्ता कामले बढ्छ । तर तिनै जनार्दन शर्मा गृहमन्त्री भएपछि नेपाल प्रहरीमा कनिष्ठलाई बरिष्ठ बनाउने धन्दा सुरु गरेका छन् । यसरी देश र सुरक्षा बलियो हुन्न । राजनीतिक नेताहरुले गलत गरेर नागरिकलाई आफ्ना भ्रममा सम्मोहित गर्ने काम अव त्याग्नुपर्छ । अन्यथा राजनीतिमा कृष्ण भीरको पहिरो दिन रात जुनसुकै बेला जानसक्छ ।
नागरिक र सरकारवीच तादात्म्य हुनैपर्छ । हिजोको निरंकूशताबाट दमित नागरिक लोकतन्त्रको अभ्यासमा त छ, अभ्यस्त भइसकेको छैन । लोकतन्त्रलाई जीवन पद्धति बनाउने दायित्व बोकेका राजनीतिक दलहरु जनउत्तरदायित्व र जनजिम्मेवारी बहन गर्न अझै तत्पर भइसकेका छैनन् । नागरिक शासितको मानसिकतामा छन् भने नेतृत्व आफूलाई राजा फालेर बनेको बादशाहको फूर्तिमा । लोकतन्त्र न शासित मानसिकता हो, न बादशाही । लोकतन्त्रमा सही कामको प्रशंसा र गलत गर्नेलाई दण्ड दिने दण्डाधिकारी नागरिक हुन् भन्ने यथार्थवोध आत्मसात हुनै बाखकी छ ।
देशको समस्या विधि होइन, न त पद्धति नै हो । समस्या भनेको देश र नागरिक इमान र विधिप्रतिको सम्मान हो । यी दुबै समस्या हिजो थियो र आज झन झन गहिरिदै छ । जसका कारण नागरिक लोकतन्त्रबाट आश्वस्त हुनसकेको छैन, जनतामा नैराश्यताको डिग्री बढ्दो क्रममा छ ।
हिजो वीपी कोइराला थिए, जो राजनेता थिए र ०३७ सालको जनमत संग्रहको हारलाई जनादेश मानेर स्वीकार गरे । वीपीले भनेका पनि थिए– जनादेश अस्वीकार गर्न सकिन्न, तर यही जनादेश भोलिका दिनमा बहुदलीय आदेश बनेर आउनेछ । नभन्दै १० वर्ष लागेन, बहुदल पुनस्र्थापित भयो । बहुदल आउन्जेल वीपीको देहावशान भइसकेको थियो । वीपीले जीवनकालमा राष्ट्रियता र प्रजातन्त्रलाई नेपाली कांग्रेसको मूल जरो सिद्धान्त बनाएका थिए । बहुदल र लोकतन्त्रपछिका ३० वर्षमा पनि कांग्रेस पुरानो पार्टीका रुपमा स्थापित छ तर नेपाली कांग्रेसजस्तो पार्टीबाट अर्को राजनेता जन्मन सकेन । यसकारण कांग्रेस प्रजातन्त्रवादी त छ, राष्ट्रवादी छ कि छैन, कांग्रेसीहरु नै संशयमा छन् ।
यतिबेला पनि नेपाली कांग्रेसको सरकार छ । ७० वर्षका शेरबहादुर देउवा प्रधानमन्त्री छन् । उनलाई प्रधानमन्त्री बन्न र सरकारलाई पूर्णाकार दिन ५० दिन लाग्यो । वीपीजस्ता नेताको पार्टी नेपाली कांग्रेसको यो सुस्तता र पार्टीभित्रको बबाल देख्दा लाग्छ, ७० वर्ष अघि भारतको भवानीपुरमा जन्मेको कांग्रेस आज भवानीपुरकै भीडतन्त्रको बन्दी अवस्थामा छ । हुन पनि रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाजस्ता समूह गुट खोलेर बसेका छन् । वीपीपुत्र सशांक कोइराला र नोनापुत्र शेखर कोइराला यो भीडमा कता छन्, प्रष्ट देखिदैनन् । वीपीको सिद्धान्तले गोडमेल गरेर राष्ट्रवाद र प्रजातन्त्र फलाउने फुलाउने समाजवाद कांग्रेसभित्र कता हराए ।
अर्थात्, राजनीतिले श्री हराएको छ । राजनीतिको गजुर ढलेको छ । राजनीति देशको बागद्वार हो, द्वार प्रदूषित भएपछि बहाव पवित्र हुनसक्दैन । यसकारण देशको हालत दिनदिनै खराव हुादैछ । नीति हराएको नेतृत्व र कर्तव्यच्यूत प्रशासनले देशलाई बर्बादीमा मात्रै धकेल्छ । हामी त्यही बर्बादीको भेलमा हेलिएका छौं ।
र, प्रश्न उठेको छ, के भए यो दुरावस्था ठीक हुन्छ । देशलाई लागेको सुकेनासको रोगको उपचार के हो ? बेलैमा उपचार पहिल्याउन सकिएन भने जोखिममा पुग्नेछौं । यसकारण त्रिविको समाजशास्त्र विभाग, समाजका मूर्धन्य व्यक्तित्वहरु, विज्ञ–विशेषज्ञहरुले के भए ठीक हुन्छ देशलाई भनेर चिन्तन मनन गर्ने बेला यही हो । विवेकानन्दले उहिल्यै भनेका थिए– जसले आफ्नोपन गुमाउाछ, उसले गुमाउन बााकी केही रहन्न । नेताहरुलाई एउटै सुझाव छ– उत्ताउली गाई बाघले खाई नहोस् ।
धेरै नसके पनि मात्र बिधिप्रतिको सम्मान र नागरिकप्रति इमान त राख । यत्ति भए पनि नेपालीत्वले यसरी बेवारिसे हुनुपर्ने थिएन । राजनीतिको जयजयकार र देशको कल्याण हुनेथियो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper