banner
banner

राजनीतिकमा गुटबन्दी

पहिलो संविधानसभाबाट सबैभन्दा ठूलो दलका रूपमा उदाएको तत्कालीन नेकपा माओवादी गुटबन्दीको शिकार हुँदा हालसम्म दशाँै चिरामा विभक्त भएको छ । उक्त दलका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरिरहेको हालको माओवादी केन्द्र पनि हालसम्म गुटमुक्त हुन सकिरहेको छैन । दोस्रो संविधानसभामार्फत सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसमा केही समयअघि सम्पन्न महाधिवेशनमार्फत तीनवटा गुट प्रष्ट देखिएको छ ।

विगतमा गुटबन्दीकै कारण हालका सभापति शेरबहादुर देउवाले पार्टी नै फुटाएर पुनः एकीकरण भएको उक्त दलमा हाल विगतको संस्थापन रहेको रामचन्द्र पौडेलको समूह फरक गुटको नेतृत्वमा खुम्चिन पुगेको छ भने विगतमा फरक गुटको नेतृत्व गरेका देउवा संस्थापनको नेतृत्व गर्दै सभापति बनेका छन् । उक्त दलमा कृष्णप्रसाद सिटौलाले समेत नयाँ गुटको नेतृत्व गरेका छन् । त्यस्तै संसद्को दोस्रो ठूलो दल नेकपा एमालेमा पछिल्लो पटक चर्किंदै गएको गुटबन्दीले फुट निम्त्याउनसक्ने डर सिर्जना गरिरहेको छ । गुटबन्दी र नेतृत्वको गलत निर्णयकै कारण महाकाली सन्धिताका एमाले दुई समूहमा विभाजन भएको थियो । पहिलो संविधानसभामार्फत चौंथो शक्तिका रूपमा उदाएका मधेश केन्द्रित दलमा चर्किएको गुटबन्दीका कारण दोस्रो संविधानसभासम्म आइपुग्दा प्रमुख नेताहरूलाई नै आफ्नो धरौटी जोगाउन गाह्रो भयो । यो रोगको शिकार हाल चौंथो शक्तिका रूपमा रहेको राप्रपा नेपाल समेत बनेको छ ।

निर्वाचन प्रक्रियाबाट एउटा महत्वपूर्ण शक्तिका रूपमा उदाउने नेपालका राजनीतिक दलहरू जब कुनै निर्णायक घडीमा पुग्छन्, त्यतिबेला विवादसँगै विभाजनको शिकार हुने गरेका छन् । विगतमा नेकपा एमालेदेखि नेपाली कांग्रेस, माओवादी तथा अन्य दलहरूको अवस्था हेर्दा विशेष मुद्दामा प्रमुख नेतृत्वबीचमा टकराव र असमझदारी सिर्जना हुँदा यस्तो विभाजन हुने गरेको छ । यस्तो विभाजनलाई कतिपयले अदृश्य शक्तिको चलखेलका रूपमा समेत अथ्र्याउने गरेका छन् ।

मुलुकको हितका लागि हुने काममा संसद्मा आवश्यक संख्या नपुग्ने अवस्था सिर्जना गर्नका लागि होस् वा मुलुकको अहितमा हुने कामका लागि संसद्मा बहुमत पु¥याउनका लागि यस्ता गतिविधिहरू पटक÷पटक हुने गरेका छन् । यसले राजनीतिक दलहरूमा विभाजन ल्याउन अदृश्य शक्तिको हात रहेको भन्ने तर्कलाई पनि बल पु¥याएको देख्न सकिन्छ । तथापि कतिपय अवस्थामा भने फुटको कारण राजनीतिक दलमा रहेका केही महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरूको तीव्र महत्वाकांक्षा वा अपरिपक्वता पनि हुने गरेको पाइन्छ ।

बहुदलको वकालत हुँदै आएको वर्तमान नेपालको परिप्रेक्ष्यमा बहुदल पूर्ण सफल भएको अवस्था छैन । निर्वाचनमार्फत एउटा दलले पूर्ण बहुमत नपाउने अवस्था र दलका नेताहरूको महत्वाकांक्षा एवं अदृश्य शक्तिको चलखेलका कारण नेपाल लामो समयदेखि अस्थिरताको शिकार बन्दै आइरहेको छ । व

र्षमा दुई पटकसम्म सरकार परिवर्तन हुने अवस्था, एउटा सरकारले अघि सारेका कार्यक्रमहरूलाई अर्काे सरकारले निरन्तरता नदिने प्रवृत्ति, स्थायी सरकारको अभावमा प्रभावकारी कामकारबाही हुन नसक्नुलगायतका कैयौं कारणले एकातर्फ मुलुकको अवस्था जर्जर बन्दै गइरहेको छ भने अर्काेतर्फ नेपालको लागि बहुदलीय व्यवस्था नै अनुकूल नभएको हो कि भन्ने किसिमका आशंका तथा टिप्पणी सुरु भएका छन् । मुलुकका लागि महत्वपूर्ण व्यवस्थाका रूपमा लिइँदै आएको बहुदलीय व्यवस्थामाथि प्रश्न उठ्नुका पछाडि पनि दलहरूमा उत्पन्न विवाद, गुट र विभाजनलगायतका कारणहरू प्रमुख मानिन्छ ।

त्यसैले बहुदलीय व्यवस्थाको सुरक्षा र संरक्षणकै लागि पनि दलहरूमा मेलमिलाप तथा विशेष अवस्थामा समेत एकजुट भएर मुलुकको हित हुने काममा अघि बढ्न आवश्यक छ । अन्यथा विगतमा नेपालमा प्रचलनमा रहेका राणा शासन, पञ्चायती व्यवस्था, राजतन्त्र जस्तै बहुदलीय व्यवस्थाका विरुद्ध पनि जनता सडकमा आउनुपर्ने अवस्था सिर्जना हुनसक्छ । यसतर्फ बहुदलीय व्यवस्थाको वकालत गर्ने दलहरूले ध्यान दिन आवश्यक छ । rp-blog

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper