Advertisement Banner
Advertisement Banner

०५ शनिबार, जेठ २०८१17th April 2024, 11:33:48 am

नेपाल कतातिर जादैछ ?

१६ आइतबार , बैशाख २०८१२० दिन अगाडि

नेपाल कतातिर जादैछ ?

नीति, सिद्धान्त र विधिको लक्ष्मणरेखाभित्र कुनै दल वा नेता स्थिर छेनन्, हरेक विषयमा विधि मिचिएका छन्, नीति र सिद्धान्त त सखाप नै भइसक्यो, एउटै सिद्धान्तमा नेपाल चलेको छ– एनीहाउ सत्ता र शक्तिमा जाउ । सत्ता र शक्तिको भोकले नेतालाई व्यवसायी बनायो, मुनाफाखोर बनायो, पार्टीप्रतिको आशक्ति घट्यो, सिद्धान्तप्रतिको प्रतिवद्धता तुहियो, राजनीतिक धर्मप्रतिको आस्था मासियो । जे छ, नेतृत्व छ र नेतृत्व सत्ता, शक्ति र सम्पत्तिको भोकले ग्रस्त छ, यहीकारण नेपाल अस्तव्यस्त भएको छ । यो सबे बेथिति र बिकृति देखेपछि हरेकको मुखमा एउटै प्रश्न छ– नेपाल कतातिर जाँदैछ ?
आठ पटक मन्त्रिपरिषद बिस्तार गर्दा पनि पूर्णता पाउन सकेन । संसद गालीगलौज, आलोचनाको थलो बनेको छ, सरकार जिम्मेवार र जवाफदेही हुनसकेन । सांसदहरु हाजिर गरेर टाप कस्ने, कोही सुत्ने, कोही मोवाइल चलाएर रमाउने, कोही कानेखुशी गर्ने, कुनै सांसद गम्भीर छैनन्, सांसद नै गम्भीर नभएपछि सरकारलाई हाइसन्चो, सरकार पनि उस्तै । संसदका समितिहरु गठन हुनसकेनन्, सरकार र प्रतिपक्षी वीच डेढ वर्ष अघि महाभियोग लगाइएका प्रधानन्यायाधीश जो अवकाश भइसके, त्यो प्रस्ताव के गर्ने भन्ने प्रश्न उठ्नासाथ नयाँ प्रधानन्यायाधीश नियुक्त गर्ने विषय नै अलमलमा पर्नपुग्यो । कामु प्रधानन्यायाधीशले काम चलाएर कहिलेसम्म सर्वोच्च अदालत चल्ने हो, हुन त पशुपतिनाथले चलाएको अथवा अटोमेटिक चलिरहेको देशमा प्रधानन्यायाधीश भए वा नभए पनि चल्ने नै रहेछ, चलिरहेको छ । यतिमात्र होइन, स्थानीय पालिका, प्रदेश र संघमा समेत आर्थिक अनियमितता बढेर गएको छ, बेरुजु रकम ९ खर्ब नाघिसकेको तथ्य महालेखाले देखाइदिए पनि संसदले अपनत्व लिएर त्यसमाथि छलफल गर्न सकेको छैन । नयाँ खबर सार्वजनिक भयो– चालु वर्षको ८ महिनामा एक खर्बको निकासी, ५ खर्बको आयात भएछ, ४८ अर्बको त चामल र तरकारीमात्र आयात भएन ।
यो सब देखेपछि प्रश्न उठेको छ– नेपाल कतातिर जाँदैछ ?
बिचलन भयो, आन्तरिक नीतिमा, विदेश नीतिमा । नेपालले लिनैपर्ने समदूरीको सिद्धान्त पनि रहेन । परम्परागत असंलग्न नीतिप्रति पनि नेपाल चुक्दै गएको छ । यहीकारण हो विदेशीले नेपालमाथि गर्ने गरेको विश्वासमा कमी आएको छ । नेपाल कुनबेला कतातिर ढल्कने हो भनेर विश्वास गर्ने आधार खस्किनु भनेको नेपालको स्थिति डावाडोल हुनु हो । एउटा पार्टी अथवा एकजना नेता पनि नेपालको स्थिरता, स्थिर नीति र स्थिर अडानमा उभिन सकेको देखिदैन । यदि छिटोभन्दा छिटो नेपालका नेतृत्वबर्गले राष्ट्रिय सोचमा आफूलाई ढालेनन् र विभेद, निषेध र स्वार्थमा उभिने जमर्को गरिरहे भने नेपालको अस्थितत्व संकटमा पर्ने देखिन्छ । नेपालले जेजति बिगतमा कमाएको विश्वभातृत्व थियो, ती सबै क्षयीकरण भइरहेका छन् । यति नै बेला प्रधानमन्त्री भारत भ्रमणको तैयारीमा लागेका छन् । उनको तैयारीमा नेपाल भारतवीचका ठूला समस्या समाधानका प्रस्ताव र भारतले नेपाललाई गर्नैपर्ने, दिनैपर्ने सेवा सुविधाका विषयमा विज्ञहरुसँग सुझाव लिएका छैनन्, बिना तैयारीको भ्रमण भनेको काशी दर्शनभन्दा बढी के होला र ? बिना तैयारीको भ्रमणबाट नेपालले धेरै गुमाउने खतरा पनि छ । हामीलाई सरकारको आयु होइन, देशको हितमा प्रधानमन्त्रीको भ्रमण हुनु जरुरी छ । तर त्यस्तो केही पनि देखिदैन । यसकारण प्रश्न उठेको छ– नेपाल कतातिर जाँदैछ ?